सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने छेकीको सपना – Nepal Press

सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने छेकीको सपना

इलाम ।  छेकी शेर्पा १९ वर्षकी भइन् । उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन्। साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आएकी छन्

त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उनी इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी छन् ।

पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उनले गाडी चलाउन थालेकी हुन् बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उहाँ बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जान्छिन् । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्छिन् ।

उनको बुवा पहिलेदेखि सवारी चालकको काम गर्थे । घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उनी बताउँछिन्  । सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उनले विस्तारै राम्रोसँग चलाउन थालिन् । छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताए।

“मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु”, उनले भनिन्। छेकीले गाडी चलाउँदा केही यात्रुहरुले सुरुमा विश्वास गर्दैनथे । उनले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरुले छेकीमाथि यति विश्वास गर्न थाले कि उनले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन् ।

उनले बर्खायाममा पनि खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी कमाउने गरेकी छन् बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उनको भनाइ छ । सिजनमा मासिक रु एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरु बताउँछन् ।

कक्षा १२ सम्म अध्ययन गरेकी उहाँले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उनले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देखेकी छन्। “दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ”, उनले भनिन् । रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेसिने गरेका छन् । तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिएकी छन् छेकीले ।

जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले  उनको गाडी रोज्ने गरेको बताउँछन् । “केही पुरुष चालकहरुले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ”, स्थानीय यात्रु दावा शेर्पाले भने, “तर उहाँले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।”

रासस/ टीका खतिवडा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर