अझै सञ्चालनमा आएन मानव मलमूत्र प्रशोधन केन्द्र – Nepal Press

अझै सञ्चालनमा आएन मानव मलमूत्र प्रशोधन केन्द्र

कैलाली । मानव मलमूत्र प्रशोधन केन्द्र सञ्चालनमा ढिलाइ भएको छ । कैलालीको टीकापुर नगरपालिका–१ स्थित बृहत् ढल निकास आयोजनासँगै निर्माण सुरु भएको प्रशोधन केन्द्रको काम २०८९ मा सम्पन्न हुँदा पनि अझै सञ्चालनको अन्योलता कायमै रहेको देखिएको छ ।

मानव मलमूत्रलाई सङ्कलन गर्दै प्रशोधन गरेर त्यसबाट कम्पोस्ट मल उत्पादन गर्ने केन्द्रको उद्देश्य रहेको छ । “शौचालय सफा गर्नुपर्दा नगरपालिकालाई नभए निजी कम्पनीलाई हप्तौँ कुर्नुपर्ने बाध्यता छ । प्रशोधन केन्द्र सञ्चालनमा आए त्यो बाध्यता कम हुन सक्थ्यो ।” स्थानीय सुदर्शन चौधरी भन्छन्, “अर्कोतिर मानव मलमूत्र प्रशोधन गरेर बनेको मलका लागि किसान पनि केन्द्र छिटो सञ्चालनमा आउनुपर्ने पक्षमा छन् ।”

उनले समयमा राम्रो व्यवस्थापन नभएर काम सुरु गरेका खण्डमा प्रशोधन केन्द्र अलपत्र पर्न सक्ने चिन्ता पनि व्यक्त गरेका छन्। मानव मलमूत्र प्रशोधन केन्द्रलाई व्यवस्थित गरेर सञ्चालन गर्नसके त्यो नगरपालिकाको आम्दानीको स्रोत बन्नसक्ने स्थिति देखिन्छ ।

निर्माण कम्पनीले नगरपालिकालाई स्वामित्व हस्तान्तरणका लागि धेरै प्रयास गरे पनि  टीकापुर नगरपालिका व्यावसायिक योजना कम्पनीले सुनिश्चित नगर्दासम्म स्वामित्वमा लिने पक्षमा  छैन । “एउटा संरचना बन्यो, त्यो आफैँमा सुन्दर छ । तर त्यसको कार्यान्वयनका लागि ठोस योजना त निर्माण कम्पनीले दिनुपर्यो ।” नगर प्रमुख रामलाल डगौरा थारुले भने, “निर्माण कम्पनीले व्यावसायिक योजनासहित हस्तान्तरण गर्ने हो भने स्वामित्व लिन समस्या छैन ।” नगर प्रमुख थारुले केन्द्र नगरपालिकाको मातहतमा नआएका प्रतिक्रिया दिनुभएको छ ।

प्रशोधन केन्द्र सञ्चालनमा आए टीकापुर नगरपालिकासहित छिमेकी पालिकाले पनि सेवा लिन पाउने जनाइएको छ । अहिले टीकापुर आसपासमा शौचालयको सेफ्टी ट्याङ्की खाली गर्ने साधन र जनशक्ति पाउन मुस्किल हुन्छ । “सेफ्टीट्याङ्की सफा गर्ने साधनका लागि पालो कुर्नुपर्छ । मानिसलाई लगाएर खाली गराउँदा व्यवस्थापन गर्ने ठाउँ हुँदैन ।” स्थानीयवासी जमानसिंह विश्वकर्मा भन्छन्, “जनशक्ति व्यवस्थापन गरेर प्रशोधन केन्द्रलाई सञ्चालनमा ल्याउनसक्यो भने त्यसले सेफ्टीट्याङ्की सफा मात्रै नभई यस क्षेत्रका किसानलाई कम्पोस्ट मलको व्यवस्था गर्ने काम पनि गर्न सक्छ ।”

मानव मलमूत्रलाई प्रशोधन गरेर लेदोबाट मल उत्पादन गर्ने र फोहर पानीलाई प्रशोधन गरेर जमरा कुलोमा मिलाउने व्यवस्था गरिएको छ । उत्पादन भएको मल पनि मापदण्ड बन्न नसक्दा अहिलेसम्म बिक्री गर्न सकिएको छैन । प्रशोधन केन्द्रको निर्माण गर्ने जिम्मा पाएको निर्माण कम्पनीले स्थानीय सरकारलाई हस्तान्तरणसमेत गरेको छैन । परामर्शदाताले प्रशोधन केन्द्रको व्यावसायिक योजना बनाउन ढिलाइ गर्दा स्वामित्व हस्तान्तरणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रमुख उदय पोख्रेलले बताए ।

“काम सम्पन्न भएको दुई वर्ष भए पनि केही आन्तरिक काम बाँकी रहँदा स्वामित्व हस्तान्तरण गरेर सञ्चालन गर्न समय लागेको हो”, उनले भने, “कम्पनीले अहिले पनि आएको मलमूत्रको प्रशोधन गर्ने काम गरिरहेको छ । अब केही दिनमै नगरपालिकालाई हस्तान्तरण गरेर हामी त्यहाँबाट बाहिर निस्कन्छौँ ।”

करिब सात करोड खर्च गरेर प्रशोधन केन्द्र निर्माण गरिएको थियो । प्रशोधन केन्द्रसँगै बृहत् ढल निकासको काम पनि निर्माण कम्पनीले सम्पन्न गरिसकेको छ । टीकापुरको बजार क्षेत्रलगायत आकाशे पानीका कारण बर्सेनि डुबानको जोखिम हुने २८ किमी ढल निकासको काम सकिएपछि अहिले डुबानको जोखिम हटेको छ ।

रासस

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर