बटौली बजारलाई पुन: गुलजार बनाउने योजना अघि बढाउँदै बुटवल उपमहानगर – Nepal Press

बटौली बजारलाई पुन: गुलजार बनाउने योजना अघि बढाउँदै बुटवल उपमहानगर

रूपन्देही । जिल्लास्थित बुटवल उपमहानगरपालिकाले बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्न छलफल थालेको छ । वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई पुरानै स्वरुपमा पुनर्निर्माण गर्ने, सम्पदाहरुको संरक्षण गर्ने र बजारलाई स्थापित गर्ने योजनाका साथ बुटवल उपमहानगरले छलफल थालेको हो ।

बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयले सोहीअनुसार शुरुमा वडा नम्बर १ का केही घरको पुनर्निर्माण गर्ने, मर्मत गर्ने र पहिले जसरी व्यापार व्यवसाय सञ्चालन गर्ने अवस्थामा पुर्‍याउन अध्ययन गरेर काम अगाडि बढाएको बताए।

उनका अनुसार अहिले माथिल्लो पुलको गणेशथान मन्दिरदेखि सिद्राबजार र लायन्स गेटसम्मको क्षेत्रका ४२ घर पुनःस्थापित गर्ने गरी योजना बनाइँदैछ ।

स्थानीयसँग छलफल गरी इच्छुकलाई कार्यक्रममा सहभागी हुन आह्वान गर्ने र नगरले आर्थिक रुपमा सहयोग गर्ने गरी प्रारम्भिक योजना बनेको प्रमुख पाण्डेयले बताए ।

‘बटौली बजारलाई कसरी गुल्जार बनाउन सकिन्छ भन्ने विषयमा हामीले धेरै अघिदेखि छलफल चलाउँदै आएका छौं’, उनले भने, ‘बटौली बजारलाई सांस्कृतिक र पर्यटकीय रुपमा स्थापित गर्न सकिन्छ ।’

पुरानो बुटवलका नामले परिचित बटौलीमा थुपै पुराना र ऐतिहासिक घरहरु छन् । ती घरहरुमध्ये जीर्ण भएका र पुनर्निर्माण गर्न सम्भव हुने घरहरुलाई नयाँ स्वरुप दिएर पुरानो बुटवलको मौलिकतामा लैजाने गरी शहरी विकास मन्त्रालयसँग छलफल भइरहेको प्रमुख पाण्डेयले बताए ।

उनका अनुसार बटौलीलाई मौलिक शैलीमा जोगाएर यहाँको पहिचानलाई उजागर गर्ने र बटौलीमा परम्परागत शैलीको व्यापारलाई पुनःस्थापित गर्ने योजनामाथि छलफल भइरहेको छ ।

चालू आर्थिक वर्षमा पुरानो बुटवल क्षेत्रमा हाइमास्ट लाइट र परम्परागत फल्चा (पाटी) निर्माणका लागि बजेट छुट्याइएको र अरु क्षेत्रगत विकासका लागि समेत बजेट विनियोजन गरेको प्रमुख पाण्डेयले बताए ।

शुरुमा ४२ वटा घरलाई नमुनाका रुपमा काम अगाडि बढाउने र त्यसपछि बाँकी घरहरुलाई पुरानै शैलीमा रुपान्तरण गर्ने गरी नगर विकास कोष, बुटवल उपमहानगरपालिका र स्थानीय बासिन्दाबीच सहमति गरेर काम अगाडि बढाउने गरी योजना तयार भएको बुटवल उपमहानगरका शहरी विकास महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए ।

तीन पक्षबीच सहमति भइ काम शुरु भएमा २ वर्षमै सबै काम सकेर स्थानीयले बजार सञ्चालन गर्नसक्ने गरी नगर विकास कोषले गरेको अध्ययन रिपोर्टमाथि परामर्शदाता टोली र बुटवल उपमहानगरपालिकाबीच छलफल भएको श्रेष्ठले बताए ।

बजार धेरै पुरानो भए पनि ६२ वर्षअघि मात्र बुटवलले नगरको मान्यता पाएको थियो । बटौली बजार २०१६ साल फागुन ३ गते बुटवल-खस्यौली नगरपालिका बनाइएको थियो । पञ्चायती व्यवस्थामा बुटवल-खस्यौली नगर पञ्चायत भएकोमा २०४६ सालपछि बुटवल नगरपालिका र २०७१ साल मंसिरमा साविक सेमलार र मोतीपुर गाविस समेटेर उपमहानगरपालिका घोषणा गरिएको थियो ।

बटौली बजार कुनै समय अहिलेको मुख्य बजारभन्दा तिनाउपारि मात्र सीमित थियो । २०२० सालको दशकतिर तिनाउवारि खस्यौलीमा पनि बस्ती र बजार विस्तार हुँदै गए । २०३५ सालमा बटौली क्षेत्रमा रहेको नगरपालिकाको कार्यालय पनि अहिलको कार्यालय भएको ठाउँ हाटबजार लाइनमा सरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *