चितवनकाे राप्ती नपामा बेथिति: कर्मचारीले नटेरेपछि उपमेयरले नै गर्छन् दर्ता चलानी – Nepal Press

चितवनकाे राप्ती नपामा बेथिति: कर्मचारीले नटेरेपछि उपमेयरले नै गर्छन् दर्ता चलानी

चितवन । चितवनको राप्ती नगरपालिकाका उपमेयर देवेन्द्र लामा आफैं दर्ता चलानीको काममा खटिएका छन् । दर्ता चलानीका कर्मचारीले काम गर्न अटेर गरेपछि फाइल र छाप आफ्नै कार्यकक्षमा ल्याएर उपमेयर लामा नागरिकका काममा खटिएका हुन् ।

राप्ती लामो समयदेखि जनप्रतिनिधिबीच विवाद रहेको स्थानीय तह हो । यहाँ हाजिर भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई मेयर शमशेर लामाले हाजिरी गर्न रोकेका थिए ।

साउन ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण साह साउन २८ गते नगरमा हाजिर हुन आएका थिए । मेयर लामाले हाजिरी गर्न नदिएपछि उपमेयरसहित अधिकांश जनप्रतिनिधिले साहलाई कार्यालय प्रमुखको पदबहाली गराएका थिए ।

तर अझै पनि मेयर लामाले साहलाई स्वीकारेका छैनन् । उच्च अदालतमा परेको मुद्दा नटुङ्गिएको भन्दै मेयर लामाले प्रमुख प्रशासकीय अधिकृत साहले हस्ताक्षर गरेको नागरिकको कागजपत्रको दर्ता चलानी नगर्न कर्मचारीहरुलाई आदेश दिएका छन् ।

‘प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेको कागजमा कर्मचारीले दर्ता चलानी गर्न नसक्ने बताउनुभयो’, उपमेयर लामाले भने, ‘उहाँहरुले मेयर सापले नगर्नू भन्नुभएकाले काम गर्न नसक्ने बताएपछि मैले नै नागरिकका काम रोक्नु भएन भनेर दर्ता चलानी किताब र छाप मागेर नागरिकको काम गरिदिएको हुँ ।’

लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले नगरपालिकाको जिम्मेवारी सम्हालेका थिए । १० महिनादेखि रोकिएको कार्यपालिका बैठक साउनमा भएपछि नगर परिषद् भदौ १५ गते गर्ने सहमति भएको थियो ।

नगर परिषद्लगायतका काम पूर्ण जिम्मेवारी पाएर आएका उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतले गर्नुपर्ने भन्दै उपमेयरसहित बहुमत जनप्रतिनिधिले भने पनि मेयर लामाले स्वीकार गरेका छैनन् ।

मेयर लामाले नेपाल प्रेससँग भने, ‘नगरको मुद्दा चलिरहेको र स्वयं साहले पनि आफ्नो घर पायक जागिर मागेको थाहा पाएकाले उनलाई हाजिर नगर्न भनेको हुँ ।’

मन्त्रालयले उपसचिव साहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको पत्र साउन ११ गतेको भए पनि उनी साउन २८ गतेदेखि राप्ती नगरपालिकामा हाजिर भएका थिए । साउन २८ गते हाजिरीकापी लिएर हिँडेका मेयर लामाले साउन २९ गते प्रमुख प्रशासकीय जिम्मेवारीमा आफ्नो इन्कारी हुँदाहुँदै पनि किन लिएको भन्दै साहका नाममा पत्र काटेर स्पष्टीकरण सोधेका थिए ।

बहुमत जनप्रतिनिधिको साथ पाएका साहले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

मेयर लामा नेकपा एसबाट निर्वाचित हुन् । उनको पार्टीबाट तीन जनामात्रै जनप्रतिनिधि निर्वाचित छन् । अधिकांश वडा अध्यक्षसहित नेकपा एमाले र उपप्रमुख लामासहित केही जनप्रतिनिधि नेपाली कांग्रेसका छन् । बहुमत जनप्रतिनिधि एमाले र कांग्रेसका हुँदा मेयर लामा अल्पमतमा पर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर