अर्थतन्त्र शिथिलताको अवस्थाबाट बाहिर आइसकेको छैन: अर्थमन्त्री पौडेल (भिडिओ) – Nepal Press

अर्थतन्त्र शिथिलताको अवस्थाबाट बाहिर आइसकेको छैन: अर्थमन्त्री पौडेल (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अर्थतन्त्र शिथिलताको अवस्थाबाट बाहिर आइनसकेको बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघको आयोजनामा ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रम बल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले युगान्तकारी परिवर्तन गर्न सक्ने सरकार अहिलेको सरकार नै रहेको बताए ।

‘निजी क्षेत्रले समस्या भएपनि डरानुपदैन । यो सरकारले सबै प्रकारको निराशा चिर्ने काम गर्ने छ । सबैमा आशा र विश्वास जगाउने काम गर्ने छ । निजी क्षेत्रसँग भएको निराशा र क्रस चिर्ने काम यो सरकारले गर्ने छ । निजी क्षेत्रले आफ्नो समस्या समाधान हुन्छ भनेर ढुक्क भएर काम गर्दा हुन्छ । निजी क्षेत्रको महत्त्व सरकारले बुझेको छ । निजी क्षेत्रको भूमिका कमजोर बनाएर सरकार अगाडि बढ्दैन,’ अर्थमन्त्री पौडेलले भने, ‘रोजगारी, उत्पादन र सबल अर्थतन्त्रको लागि सरकारले निजी क्षेत्रलाई सँगै लिएर जाने छ । निजी क्षेत्रले ज्ञापन पत्र मार्फत आफ्ना मागहरू माग्ने होइन, एउटै टेबलमा बसेर समस्याको समाधान गर्ने हो । निजी क्षेत्रका लागि कहाँ के गर्नु पर्छ त्यसका लागि हामी तयार छौँ ।’

नयाँ सरकार बनेपछि अर्थतन्त्रमा सकारात्मक सङ्केत देखिएको उनले दाबी गरे ।

राजस्व पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष २० प्रतिशतले वृद्धि भएको बताउँदै विकास खर्च ९ गुणाले वृद्धि भएको बताए । साथै विदेशी मुन्द्रा र रेमिटेन्स राम्रो अवस्थामा रहेको उनको भनाइ छ।

‘अर्थतन्त्र शिथिलताको अवस्थाबाट बाहिर आइसकेको छैन । हाम्रो मागमा कमी नै रहेको छ । हाम्रा उद्योगहरु ४० प्रतिशत क्षमतामा चलिरहेको छ । बस्तुको मागमा कमी नै छ । सार्वजनिक ऋणको विषयमा पनि हामीले ध्यान दिनु पर्ने अवस्था आएको छ । कस्तो ठाउँमा ऋण प्रयोग गर्ने र कुन ठाउँबाट लिने भन्ने कुरामा पनि ध्यान दिनु पर्ने रहेको छ । बजेट विनियोजनमा हामी कमजोर रहेका छौँ । लागत अनुमान नभएको नयाँ बजेटमा ११ हजार योजना थपिएको छ । सरकारले कार्यान्वयन गर्नुपर्ने १८ हजार योजनाहरू रहेका छन् । बजेट निर्माणको प्रणाली भत्किएको छ । हामीसँग भएको स्रोतको परिचालनमा पनि हामीलाई चुनौती रहेको छ,’ अर्थमन्त्री पौडेलले भने ।

निर्माण क्षेत्रका व्यवसायीहरुले काम गरेको कामको पैसा चाहियो भनिरहेकाले सरकारले गरेको कामको भुक्तानी दिने उनले प्रतिवद्धता गरे । रितपुर्वक सम्बन्धित ठाउँमा जाँदा भुक्तानी नरोकिने पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *