४० वर्षमा ४६ प्रतिशत बढे हिमतालः नेपाल-चीन जोड्ने कुन राजमार्ग कति जोखिममा ?
सन् १९८७ देखि २०१७ को बीचमा हिम ताल संख्याको आधारमा १८१ प्रतिशत र क्षेत्रफलको आधारमा ८२ प्रतिशत बढ्याे
काठमाडौं । यही साउन मसान्तमा सोलुखुम्बुको थामेको थ्यान्बो हिम ताल फुटेर गएको हिम बाढीको घटनालाई सहप्राध्यापक तथा जलवायुविज्ञ सुदीप ठकुरीले एक चेतावनीको रुपमा लिएका छन् । उनले हिम बाढीबारेमा टिप्पणी गर्दै ‘सानो हिम तालले बजाएको ठूलो घण्टी’ भनेका छन् ।
हिम तालबारेमा लामो खोज गरेका तथा स्विट्जरल्यान्डबाट प्रकाशन हुने रिमोट सेन्सिङ पेपरमा नेपालका हिम तालबारेमा खोजमूलक लेख लेख्नेहरुमा एक सहलेखकसमेत रहेका ठकुरीले यसो भन्नु चिन्ताको कुरा हो ।
यो चिन्ता पनि ठकुरीलगायतले सार्वजनिक गरेको खोजमूलक लेखहरुको सारको आधारमा आएको वैज्ञानिक तथ्यमा आधारित चिन्ता हो । कोरा अनुमानमात्रै होइन । नितेश खड्का, काओछिङ चाङ र सुदीप ठकुरीले लेखेको खोजमूलक वैज्ञानिक अनुसन्धान लेखले धेरै तथ्य उजागर गरेको छ ।
४० वर्षमा बढ्यो ४६ प्रतिशत हिमताल क्षेत्र: कुन क्षेत्र बढी जोखिममा ?
६ वर्ष अगाडि प्रकाशित खोजमूलक लेखअनुसार सन् १९७७ देखि २०१७ को बीचमा नेपालमा हिम ताल क्षेत्रफल बढेको छ । उक्त अवधिमा २५ प्रतिशत हिम ताल क्षेत्र बढेको खोजले देखाएको छ । सन् १९७७ देखि २०१७ को समयमा ४६ प्रतिशत हिम ताल बढेको देखिएको छ ।
यस्तै सन् १९८७ देखि २०१७ सम्म २५ प्रतिशत क्षेत्रफल बढेको देखिएको छ । अझ रोचक कुरा त सन् १९८७ देखि २०१७ को समयमा हिम ताल संख्याको आधारमा १८१ प्रतिशत र क्षेत्रफलको आधारमा ८२ प्रतिशत बढेको देखिएको छ, तर सन् १९७७ देखि १९८७ बीचको समयमा बढेको हिमतालको आँकडा भने पूर्ण सत्य नहुने अनुमान खोजमूलक लेखमा उल्लेख छ ।
भनिएको छ, ‘लो रिजोलुसन भएको एमएसएस डेटा भएकाले सन् १९७७ देखि १९८७ को समयमा भएको हिम ताल वृद्धिको नजिता अनिश्चित छ ।’
अनुसन्धान लेखअनुसार सबैभन्दा धेरै हिम तालको जोखिम भएको क्षेत्र दूधकोशीको जलाधार क्षेत्र हो । यसो हुनुमा उक्त क्षेत्रमा तीव्र रुपमा हिम ताल बढ्नु रहेको बताइएको छ । धेरैजसो हिमताल उच्च हिमाली क्षेत्रहरुमा बढे तापनि मध्य नेपालमा भने तल्लो तहमा पनि यस्ता ताल बढेको पाइएको छ । रिमोट सेन्सिङ पेपरका अनुसार मध्य नेपालको २,४५६ मिटर उचाइमा पनि हिम ताल भएको पाइएको छ ।
हिन्दू कुस हिमालय क्षेत्रमा २५ हजारभन्दा धेरै हिमताल भएको काठमाडौंमा मुख्यालय भएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को तथ्यांक छ । जसमा नेपालका ४७ हिमताल सम्भावित जोखिमा रहेको इसिमोडको रिपोर्ट छ ।
नेपालमा १५ सय बढी हिमतालः कर्णालीमा धेरै, गण्डकीमा कम
नेपालमा १,५४१ हिम ताल देखिएका आँकडा लेखमा उल्लेख छ, जसले ओगटेको क्षेत्रफल १ हजार ६४ वर्ग किलोमिटर छ । नेपालमा रहेका कोशी, गण्डकी र कर्णाली नदीको जलाधार क्षेत्रमा हिम ताल रहेका छन्, जसमा सबैभन्दा धेरै हिमताल कर्णाली क्षेत्रमा छन् ।
सबैभन्दा कम गण्डकी क्षेत्रमा देखिएका छन् । कोशी क्षेत्रमा ६३७ हिमताल छन्, जसको क्षेत्रफल ४१४ वर्ग किलोमिटर छ । कर्णालीमा भएका ६४५ हिम तालको क्षेत्रफल ४२७ वर्ग किलोमिटर छ । गण्डकी क्षेत्रमा भने २०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएका २४१ हिम ताल छन् ।
यी हुन् नेपालमा चार दशकमा आएका प्रमुख नौ हिम बाढी
नेपालमा हिम बाढीको इतिहास पाँच शताब्दी पुग्न लागेको छ । इसिमोडको तथ्यांकअनुसार ४५० वर्ष अगाडि माछापुच्छ्रेको उत्तरी क्षेत्रको सेती खोलामा गएको हिम बाढी नेपालको सबैभन्दा पुरानो भएको रकेर्ड छ । त्यसयता नेपालमा नियममितजसो हिम बाढी गइरहेको छ ।
नेपालमा पछिल्लो चार दशकमा दश हिम बाढी आएका छन् । सन् १९८० बाट लिएको तथ्यांकबाट तयार भएको चार वर्ष अगाडिको इसिमोडको रिपोर्टले नेपालमा चार दशकमा नौ हिम बाढी आएको छ । यी हुन् पछिल्लो चार दशकमा आएका नौ हिम बाढी:
- १. तमोर क्षेत्रको नाग्पापोखरी (सन् १९८० जुन २३)
- २. भोटेकोशी क्षेत्रको चिरेनमोचे ताल (सन् १९८१ जुलाई ११)
- ३. दूधकोशी क्षेत्रको दिग्छो ताल (सन् १८८५ अगस्त ४)
- ४. तामाकोशी क्षेत्रको छुबुङ (सन् १९९१ जुलाई १२)
- ५. दूधकोशी क्षेत्रको तामपोखरी (सन् १९९८ सेप्टेम्बर ३)
- ६. कास्कीको मादी नदी क्षेत्रको काबाचे ताल (सन् २००३ अगस्त १५)
- ७. कास्कीको मादी नदी क्षेत्रको काबाचे ताल (सन् २००४ अगस्त ८)
- ८. चीनतर्फबाट भोटेकोशीमा (सन् २०१६ जुलाई ५)
- ९. वरुण उपत्यकाको तल्लो वरुण (सन् २०१७ अप्रिल २०)
नेपालका जोखिमयुक्त ४७ हिम ताल, सबैभन्दा बढी जोखिम कोशीमा
इसिमोडको तथ्यांकअनुसार नेपालका ४७ हिम ताल जोखिममा छन् । ती हिम तालले सबैभन्दा धेरै जोखिम कोशीमा देखिएकाे छ । देशभरका ४७ जोखिमपूर्ण हिम तालमध्ये ४२ वटा कोशी क्षेत्रमा छन् । जसअनुसार तर कोशीका ४२ वटा हिमताल जोखिमपूर्ण छन् । कर्णालीमा दुई र गण्डकीमा तीन वटामात्रै हिम ताल जोखिमपूर्ण मानिएका छन् ।
कोशीका जोखिमपूर्ण ४२ वटा हिम ताल नेपालका मात्रै भने होइनन् । त्यसमध्ये २४ हिम ताल चीनको स्वायत्त क्षेत्र तिब्बतमा पर्छन् । जसमा सुनकोशी क्षेत्रमा चार, तामाकोशी क्षेत्रमा सात र अरुण क्षेत्रमा १३ वटा हिम ताल चीनको भागमा पर्छन् ।
नेपालतर्फका १८ जोमिखपूर्ण मानिएका हिम तालमध्ये तमोर र अरुणमा चार-चार तथा दूधकोशीमा ९ वटा हिम ताल छन् । तामाकोशीमा एउटा ताल छ ।
गण्डकी क्षेत्रका तीन हिम तालमध्ये दुई नेपाल र एक चीनमा पर्छ । नेपालतर्फ पर्नेहरुमा त्रिशूली र मर्स्याङ्दी क्षेत्रमा एकएक वटा रहेका छन् । कर्णाली क्षेत्रका दुईमध्ये नेपालतर्फ हुम्लामा एउटा र अर्को चीनमा पर्छ ।
हिम बाढीले नेपाल-चीन जोड्ने सडक खतरामा: ताक्लाकोट सुरक्षित
हिम बाढीले हिमालवारि नेपाल र पारि तिब्बत दुवै क्षेत्र खतरामा छ । यसले पार्ने असरमा नेपाल र चीन जोड्ने सडकहरु प्रमुख देखिएका छन् । अहिले नेपाल र चीन जोड्ने मूलतः ९ वटा मुख्य सडक क्षेत्र छन् । ती हुन् :
- १. ओलाङचुङगोला, ताप्लेजुङ (५,०९५ मिटर)
- २. किमाथांका, संखुवासभा (२,२४८ मिटर)
- ३. लामबगर, दोलखा (२,७०० मिटर)
- ४. कोदारी, सिन्धुपाल्चोक (१,७६० मिटर)
- ५. केरुङ, रसुवा (१,८५० मिटर)
- ६. लार्के, गोरखा (५,००० मिटर)
- ७. कोरोला पास, मुस्ताङ (४,६२० मिटर)
- ८. नाक्चेनाङ्ला पास, मुगु (५,००० मिटर)
- ९. ताक्लाकोट हिल्सा, हुम्ला (३,६४० मिटर)
यी सडकहरुको अध्ययन गरेर हालसालै नेपाल तथा चीनका सात अनुसन्धानकर्ताले गरेको एक खोजमूलक अनुसन्धान लेखका अनुसार नेपाल र चीन जोड्ने सडकहरु हिम ताल विस्फोटको खतरामा छन् । हिम बाढीले दुई देश जोड्ने सडकमा तनाव ल्याउन सक्छ । यही वर्ष साइन्स अफ दि टोटल इन्भारोमेन्टमा प्रकाशित लेखका सात लेखकमा चार नेपाली र तीन चिनियाँ छन् । नेपालीहरुमा नितेश खड्का, मनिषराज गौली, भाष्कर श्रेष्ठ र शंकर शर्मा छन् । चिनियाँ अनुसन्धानकर्ताहरुमा स्याओछिङ चन, वेइमिङ लिउ र छोङ्लाइ चाङ रहेका छन् ।
सात अनुसन्धानकर्ताले लेखेको खोज लेखअनुसार नेपाल र चीन जोड्ने सडक क्षेत्रमा किमाथांका, कोदारी, केरुङ र ताक्लाकोट सडक क्षेत्रमा २,६८८ हिम ताल छन्, जसमा १४४ हिम ताल जोखिमयुक्त रहेको अनुसन्धान लेखमा उल्लेख छ ।
किमाथांका सडकमा नेपालतर्फ सालाखाला सबै गरेर १२२ हिम ताल तथा चीनतर्फ १,१३५ हिमताल छन् । कोदारी सडकमा नेपालतर्फ ३२ र चीतर्फ २६२ हिम ताल देखिएका छन् । केरुङ सडक क्षेत्रमा नेपालतर्फ १०७ र चीनतर्फ २६५ हिम ताल देखिएका छन् ।
त्यस्तै ताक्लाकोट क्षेत्रमा नेपालतर्फ ६४२ र चीनतर्फ १२३ हिम ताल भएको आँकडा छ । यसअनुसार केरुङमा सबैभन्दा धेरै हिम ताल फुट्ने सम्भावना छ । जोमिखपूर्ण तथा ठूला हिम ताल भने किमाथांका र कोदारी क्षेत्रका छन् । ताक्लाकोट क्षेत्र तुलनात्मक रुपमा कम जोखिमयुक्त रहेको नेपाल-चीन सडक खण्ड हुने अनुसन्धानकर्ताहरुले लेखेका छन् । हिम बाढी आएमा नेपाल र चीन जोड्ने १०३ किलोमिटर लामो सडक खण्ड प्रभावित हुने, सुख्खा बन्दरगाह, पुल र दुवै देशका धेरै समुदायलाई असर पार्ने अध्ययनमा उल्लेख छ ।
नेपाल र चीनको सडक क्षेत्रमा ती हिम तालको आकार पछिल्लो दुई दशकमा ३२ प्रतिशतले बढेको देखाइएको छ, तर पछिल्ल्लो समयमा हिम ताल बढ्ने दर घटेको अनुसन्धान लेखमा उल्लेख छ । यो अध्ययनका चार क्षेत्र अर्थात केरुङ, कोदारी, ताक्लाकोट र किमाथांकामा हिम ताल फुटेर हिम बाढी आउने खतरा बढेको खोजमूलक लेखकहरुले उल्लेख गरेका छन् ।
लेखको निष्कर्षमा उनीहरुले भनेका छन्, ‘याद गर्ने कुरा यो छ कि अध्ययन गरिएको क्षेत्रमा तीव्र पूर्वाधार विकास योजनाका काम भइरहेका छन् । त्यसले हिम ताल फुट्ने, हिम बाढी आउने र क्षतिको मात्रा बढ्ने देखिन्छ ।’
खासगरी पूर्वाधारहरुमा जलविद्युत आयोजना, त्यहाँ बन्ने बाँध र त्यसले गर्ने असरको बारेमा भने थप गम्भीर अध्ययन आवश्यक भएको लेखकहरुले उल्लेख गरेका छन् ।
नेपाललाई जन्मजात विपत्त लिएर आएको देशको रुपमा व्याख्या गर्छन् बेइजिङ बसेर चाइनिज एकेडेमी अफ साइन्सेसमा आबद्ध नेपाली वैज्ञानिक डा डीभी कट्टेल । उनी नेपालले हिम बाढीसँग सामना गर्नुको विकल्प नभएको बताउँछन् ।
नेपाली तथा चिनियाँ गरेर सात अनुसन्धानकर्ताले नेपाल-चीन सडक क्षेत्रले हिम बाढीबाट बच्न अपनाउनुपर्ने विभिन्न सुझाव दिएका छन् । उनीहरुले दिएका सल्लाहमा चाँडै सचेतना फैलाउने, जोखिमपूर्ण हिम तालको पानीको सतह कृत्रिम रुपमा घटाउने रहेका छन् । यस्तै नेपाल र चीनबीच सीमापार समन्वय, सूचना, अनुसन्धान र सरोकारवालाहरुको सहकार्यको कुरामा उनीहरुले जोड दिएका छन् ।
हिम बाढीबाट कसरी जोगिने ? यस्ता छन् विज्ञका पाँच सुझाव
थामेमा आएको जस्ता हिम बाढी नेपालमा आइरहन्छन् । यसबाट जोगिन विज्ञहरुले विभिन्न नीतिगत सल्लाह दिएका छन् । साइन्स डाइरेक्ट जर्नलमा प्रकाशित लेखका लेखकहरु नितेश खड्का, स्याओछिङ चन, मिलन श्रेष्ठ र वेइमिङ लिउले सुझाएका पाँच सुझावको सार :
- १. चाँडो चेतावानी : नेपालमा हिम बाढीबाट बच्न चाँडो चेतावनीपूर्ण कदम चाल्ने । स्थानीय समुदायलाई सबल बनाउने तथा सञ्चारको बलियो सेवा उपलब्ध लिने ।
- २. नेपाल र चीनको बीचमा हिमाल छन् । त्यही हिमाल क्षेत्रमा हिम ताल छन् । त्यसैले दुवै देशमा सीमापार सहकार्य बढाउने ।
- ३. बढ्दो रुपमा स्थापना भएका जलविद्युत परियोजनाहरुमा ख्याल गर्ने । त्यहाँ बनेका पूर्वाधारहरु हिम बाढी झेल्न सक्छन् वा सक्दैनन् भन्ने कुरामा ध्यान दिने । नदीभन्दा माथि बसेका समाजमा हिम बाढी आएर भूक्षय हुने भय भएकाले त्यसलाई सम्बोधन गर्ने ।
- ४. सबै सरोकारवालाहरुलाई मात्रै होइन, सर्वसाधारणलाई पनि चेतना जगाउने ।
- ५. स्थानीय सरकारको क्षमता विकास गर्ने ।
याे पनि पढ्नुस् :
थामेमा ४० वर्षअघि पनि साउनमै आएको थियो बाढी, के भन्छन् जलवायु विज्ञ ?