किमाथाङ्का नाका खुलेपछि करिब ८०० नागरिकलाई सीमा पास वितरण – Nepal Press

किमाथाङ्का नाका खुलेपछि करिब ८०० नागरिकलाई सीमा पास वितरण

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले सीमा पास वितरण गरिरहेको छ ।

गत जेठ १२ मा १४ नाकासहित एकैसाथ सञ्चालनमा आएको किमाथाङ्का नाका आवतजावतका लागि ७९९ सीमा पास वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिए ।

भोटखोलामा मात्र घुम्ती टोलीमार्फत ५६४ वटा सीमा पास वितरण गरिएको उनले बताए ।

भोटखोला र मकालु गाउँपालिकाभित्र नागरिकले सीमा पास र परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारी पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आएका छन् । नाका खुलेसँगै सीमा पास वितरण भएपछि भोटखोलाका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु खरिद र रोजगारीका लागि सीमावर्ती नाका आवतजातवत गर्न सहज भएको छ ।

भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ छिमेकी चीनको भूभागसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको छ । यहाँ आलु र कोदोमात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् ।

कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले विसं २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो ।

विसं २०३५ मा भन्सार कार्यालय स्थापित किमाथाङ्का नाका द्वन्द्वलगायत कारणले विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा सारिएको थियो । खाँदबारीदेखि किमाथाङ्काको दुरी १६२ किलोमिटर छ । यहाँ अझै पनि सडक सञ्जाल नपुगेकाले सडक पुगेको स्थानबाट दुई दिन हिँडेर नाकासम्म पुग्न सकिन्छ । खाँदबारी किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । -रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर