मुकुल ढकाल छुरी हानेको हान्यै, रवि लामिछाने ढाड थापेको थाप्यै !
ढकाललाई निष्कासन गर्न किन अल्मलियो रास्वपा ? ढकालले आफैं विधान संशाेधन गरेर महामन्त्री पदलाई बनाएका थिए शक्तिशाली
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेविरुद्ध प्रहार झन्-झन् कठोर बनाउँदै लगेका छन् । आज त उनले रविलाई सीधै ‘अपराधी’, ‘भ्रष्टाचारी’ र ‘ठग’ को संज्ञा दिए ।
रास्वपाले ढकालको साधारण सदस्यता खारेज गर्ने सन्दर्भमा अस्ति दोस्रो पटक स्पष्टीकरण सोधेको थियो । पहिलो स्पष्टीकरण पार्टी सचिवालयका तर्फबाट र दोस्रो केन्द्रीय समितिका तर्फबाट मागिएको हो । ढकालले स्पष्टीकरणको जवाफ दिने क्रममा उल्टै सभापति लामिछानेमाथि लाञ्छनाको वर्षा गरेका छन् । दुवै स्पष्टीकरणमा उनले एकरत्ति पनि ‘रियलाइजेसन’ गरेको पाइँदैन ।
रोचक के छ भने, पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सोधेको स्पष्टीकरणको जवाफ ढकालले ‘श्री रवि लामिछाने’ सम्बोधन गरेर दिएका छन् । जवाफमा उनले आफ्नो ‘राजनीतिक गडफादर’ लाई केही आरोप लगाउन बाँकी राखेका छैनन् । उनले लेखेका शब्दहरु प्रयोग गर्न श्री युवराज सफलले पनि १० चोटि सोच्दा हुन् ।
ढकालले असान्दर्भिक रुपमा निर्वाचन आयोगलाई समेत बोधार्थ पठाएको स्पष्टीकरणका केही झलक:
- मैले पार्टीको विधान र आचारसंहिता विपरीत कार्य गरेको छैन । बरु पार्टी जोगाउन लडिरहेको छु । आज पार्टीलाई तपाईं रवि लामिछानेको निरङ्कुशता, व्यक्ति केन्द्रित व्यवहार र सोचबाट जोगाउन लागिपरेको छु ।
- तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नुभएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नुभएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु । सहकारी मुद्दामा तपाईं ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ, भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ । राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनुहुन्न । यीसँगै अन्य धेरै ठाउँमा किर्ते र ठगीमा संलग्न हुनुहुन्छ ।
- पार्टीमा तपाईंले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो । आफ्नो वाककलाको आधारमा जनतालाई भ्रमित पार्दै हुनुहुन्छ र प्रश्न गर्नेलाई कारबाहीको डन्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ । यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ ।
- सिंहको मुटु छ भनेर भाषण गर्नुभयो, तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन । उल्टै भ्रष्टाचारमा लिप्त हुनु भयो । तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको पञ्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु, पार्टीको हितमा हो, पार्टी विपरीत होइन । यसरी म पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी कारवाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नुसरह हुनेछ ।
- मैले नेपालको संविधान, पार्टीको विधानले दिएको लोकतान्त्रिक एवं राजनीतिक अधिकार उपभोग गरेर तपाईंलाई प्रश्न गरेको हुँ र यसले पार्टीको विधान, आचारसंहिता केही पनि उल्लङ्घन गर्दैन । यसलाई विषयान्तरको रूपमा नबुझियोस्, यो त तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको पञ्जाबाट पार्टीलाई जोगाउन गरिएको लडाइँ हो ।
विश्वास गर्न कठिन हुन्छ । यिनै मुकुल ढकाल हुन्, जो केही महिना अगाडिसम्म रवि लामिछानेका सबैभन्दा बढी विश्वासपात्र थिए । लामिछानेमाथि विरोधीहरुले जुनसुकै आरोप लगाउँदा प्रतिरक्षाका लागि सबैभन्दा पहिले अगाडि सर्ने गर्थे ।
धेरै पछाडि फर्किनु पदैन । ढकालले गत वैशाख २८ गते लेखेको स्टाटस यस्तो छः
प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नुहोला । तपाईंको सभापतिले आजसम्म कसैलाई ठगेको छैन ।
लामिछानेमाथि नेपाली कांग्रेसका महामन्त्री गगन थापालगायतले सहकारी प्रकरणमा हमला तेज गरेका बेला बचाउमा ढकालले लेखेको यो स्टाटस उनको प्रोफाइलबाट यो लेख लेख्दासम्म डिलिट भएको छैन ।
ढकालले अहिले रवि गृहमन्त्री हुँदा प्रहरीको सरुवा–बढुवामा पैसा खाएको आरोप लगाउने गरेका छन्, तर उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेको यो स्टाटसको भाव ठीक उल्टो थियो ।
गत जेठ २ गते उनले लेखेका थिएः
‘प्रहरी संगठनमा लामो समयदेखि उल्झिरहेको समस्या समाधानतर्फ उन्मुख । नेपाली सेनामा जस्तै १६ वर्षमै पेन्सनसहित स्वेच्छिक अवकाश लिन पाइने, तर २० वर्षको अवधि पुगेपछि मात्र पेन्सनको सुविधा पाउने प्रावधान प्रहरीमा पनि लागू गरिने निश्चिततातर्फ अघि बढ्दैछ । त्यसका साथै भ्रष्टाचारको चरम चलखेल देखिने प्रहरीको बढुवा प्रणालीलाई पारदर्शी, निष्पक्ष र अनुमानयोग्य बनाइ प्रहरी संगठनभित्र हुने त्यस प्रकारको भ्रष्टाचारलाई शून्यमा झार्न रिफर्म शुरू गरिएको छ ।’
यदि तपाईंले यी स्टाटसबारे ढकाललाई अहिले सोध्नुभयो भने उनी भनिदिन सक्छन्, ‘त्यो मैले रवि लामिछानेको करकापमा परेर लेख्न बाध्य भएको हुँ, सभापतिले लगाएपछि मान्नैपर्यो ।’
राजनीतिमा ‘इमान’ को कुनै अर्थ र मूल्य हुँदैन भन्ने भाष्यलाई नयाँ स्तरमा पुर्याएर स्थापित गरेका छन् सिकारु राजनीतिज्ञ ढकालले । हिजो कम्युनिष्टहरुमा एउटा रोग थियो- विभाजन आएपछि एकापसमा हिलो छ्यापाछ्याप गर्ने, तर उनीहरु पनि यो हदमा ओर्लिदैनथे । विषयहरु सैद्धान्तिक हुन्थे । ढकालले त नेपालमा ‘राजनीतिक कृतघ्नता’ को एउटा नयाँ मानक नै बनाइदिए ।
रवि लामिछाने दूधले धोएका व्यक्ति अवश्य होइनन् । पासपोर्टदेखि सहकारी प्रकरणसम्ममा उनका अनेक कमजोरी भेटिन सक्लान्, तर कम्तीमा मुकुल ढकालले चाहिँ उनीमाथि आरोप लगाउने हक राख्दैनन् । उनै रविको काँधमा चढेर स्थापनाकालदेखि पार्टीमा हालिमुहाली गरेका ढकालले अहिले आएर जे–जे बोलिरहेका छन्, त्यसले उनको नैतिक दिवालीयापन उजागर गर्छ ।
ढकाललाई कसैले प्रयोग गरिरहेको होला जस्तो त लाग्दैन, तर उनी नराम्ररी बहकिएका छन्, आफ्नो राजनीतिक जीवनलाई जोखिममा पार्दै । रविका विरोधीहरुले तत्काल उनलाई वाहवाही गर्लान्, फुर्क्याउलान्, तर दीर्घकालमा उनी आफैं भूईंमा पछारिने निश्चित छ । म स्वयम् उनको शुभचिन्तक भएको हिसाबले यति लेख्दैछु ।
रास्वपा स्थापनामा ढकालको निकै ठूलो योगदान छ । पार्टीको नीति–निर्माणदेखि संगठन विस्तारसम्ममा ‘डे वान’बाट उनी खटिएका हुन् । त्यही भएर पनि सुरुमै रविले शक्तिशाली महामन्त्री बनाएर पुरस्कृत गरे, जबकि उनीसँग कुनै पनि राजनीतिक प्रोफाइल थिएन । पार्टीभित्र जति अलोकप्रिय भए पनि रविले कहिल्यै मुकुललाई आफ्नो काखबाट ओराल्न चाहेनन् । मुकुल आफैं ओर्लिए, त्यो पनि रविको काख भिजाइदिएर ।
रविको आडमा ढकालले पार्टीभित्र मनोमालिन्य चलाइरहेका थिए । उनको कार्यशैलीप्रति तलदेखि माथिसम्म असन्तुष्टि नै असन्तुष्टि थियो, तर कसैले पनि ढकालविरुद्ध बोल्न सकेनन् । कारण उनी सभापति लामिछानेले बुई चढाएका थिए । जब असन्तुष्टि दबाउनै नसकिने गरी बढ्यो, जब ढकाललाई आफ्नो पद सुरक्षित नभएको महसुस भयो, त्यसपछि उनले धार परिवर्तन गरेका हुन् । ‘समीक्षा यात्रा’ पछि बनाएको प्रतिवेदन यसैको द्योतक थियो, जहाँ उनले पार्टी रसातलमा पुगेको विश्लेषण गरेका छन् । ‘आफूलाई पार्टीबाट गलहत्याइन सक्छ’ भनेर ढकालले प्रतिवेदनमै लेखेका थिए ।
कारबाहीमा अलमल र रास्वपाको विधान
रास्वपाले ढकालमाथि कारबाही गर्दा उनको साधारण सदस्यता कायम राखेको थियो । पार्टीको अनुशासन आयोगले निष्कासन नै गर्नुपर्ने प्रतिवेदन बुझाएको भए पनि केन्द्रीय समितिले उनी ‘सच्चिने’ झिनो आशामा एउटा लाइफलाइन दिएको हो । आफूलाई गरेको कारबाही चित्त नबुझेको खण्डमा ३५ दिनभित्र पुनरावेदन गर्न सक्ने अवसर पनि ढकाललाई दिइएको थियो । त्यो अवधि पनि गुज्रिसकेको छ, तर रास्वपाले अझै पनि उनको साधारण सदस्यता खोसेको छैन ।
खासमा मुकुललाई पार्टीबाट निष्कासन गर्ने सन्दर्भमा रास्वपा अलिकति अल्मलिएको देखिन्छ । यो अलमलको कारण हो, पार्टीको विधान, जहाँ महामन्त्रीलाई हुने कारबाहीबारे स्पष्ट प्रावधान उल्लेख छैन । खासमा यो विधान मुकुल आफैंले बनाएका हुन् । सुरुको विधानमा संशोधन गरेर महामन्त्री पदलाई थप शक्तिशाली बनाएको पनि उनैले हुन् ।
गत वर्ष मंसिरमा महोत्तरीको जलेश्वरमा बसेको बैठकले पार्टीको संशोधित विधान पास गरेको थियो । त्यसबेलासम्म महामन्त्रीले ल्याएका कुनै पनि प्रस्ताव पारित नहुनु दुर्लभ जस्तै थियो रास्वपामा । सभापति र महामन्त्रीबीच ‘चरम विश्वास’ को अवस्था रहेकाले विधान निर्माण र संशोधन गर्दा मुकुलले कहाँ–कहाँ के–के चलाखी गरे भनेर रविले खासै ध्यान दिएनन् । कतिपय केन्द्रीय सदस्य पनि अहिले विधान पढ्दा झल्यास्स भएका छन् ।
रास्वपा विधानमा सभापति र महामन्त्रीलाई लगभग समानान्तर रुपमा अधिकार बाँडफाँट गरिएको छ । संख्यात्मक रुपमा पनि दुवैका काम–कर्तव्य र अधिकार बराबर ११–११ वटा छन् । अरु पदाधिकारीलाई (कोषाध्यक्षबाहेक) लाई खासै केही अधिकार छैन । उनीहरु थपनामात्रै हुन् ।
ढकाल विधानको हवाला दिँदै आफूलाई रास्वपाले कारबाही गर्नै नसक्ने र आफू अझै पार्टीको महामन्त्री रहेको दावी गरिरहेका ५न् । के साँच्चै विधानले उनलाई कारबाही गर्न रोक्छ त ? त्यस्तो पनि होइन । विधानतः उनलाई सभापति रवि लामिछानेले एकल निर्णयमा महामन्त्रीबाट हटाउन सक्छन् । रास्वपा विधानको धारा २४ को उपधारा ३ (१) (ग) ले पार्टीका पदाधिकारीहरुको कार्यविभाजन हेरफेर गर्ने र आवश्यक परेमा पार्टी पदाधिकारी पनि हेरफेर गर्ने अधिकार सभापतिलाई दिएको छ । यसै प्रावधानअनुसार सभापतिले ढकाललाई महामन्त्रीबाट हटाउन सक्ने भए पनि उनले केन्द्रीय समितिबाटै निर्णय गराएका थिए ।
साधारण सदस्यताबाट कारबाही गर्ने सन्दर्भलाई भने धारा ५६ ले सम्बोधन गरेको छ । उक्त धाराअनुसार पार्टीको कुनै पनि तहका समिति, विभाग, आयोग वा संयन्त्रका सदस्यउपर पार्टी निर्णय विपरीतका क्रियाकलाप, आर्थिक अनियमितता र नैतिक चरित्रसँग सम्बन्धित विषयमा प्रश्न उठे केन्द्रीय अनुशासन आयोगले छानबिन गर्न सक्छ । पार्टीको केन्द्रीय समिति वा सो सरहको समितिका पदाधिकारी एवं सदस्य र प्रदेश पदाधिकारीको हकमा केन्द्रीय समितिलाई छानबिन प्रतिवेदनसहित आवश्यक भए सदस्यता निलम्बन वा खारेजीसम्मको सिफारिस आयोगले गर्छ । त्यस्तो सिफारिसउपर केन्द्रीय समितिले निर्णय गर्छ ।
सभापतिले सीधै हटाउनुको साटो अनुशासन आयोगको प्रतिवेदनमार्फत ढकाललाई बर्खास्त गरिएको हो । केन्द्रीय समितिले सदस्यता खारेजी गर्नुपूर्व स्पष्टीकरणसहित सफाइ पेश गर्ने मौका दिने विधानमा उल्लेख छ । पार्टीका एक केन्द्रीय सदस्यका अनुसार यसअघि हड्बडाएर सचिवालयमार्फत स्पष्टीकरण सोधिएको थियो । त्यसले मान्यता नपाउन सक्ने भएकाले प्रक्रिया पुर्याउन फेरि केन्द्रीय समितिका तर्फबाट सोधिएको हो । अब रास्वपाको अर्को बैठकले ढकालको सदस्यता खोस्ने लगभग निश्चित रहेको ती केन्द्रीय सदस्यले बताए ।
पार्टीले गरेको कारबाहीलाई मान्यता नदिन ढकालले यसअघि नै निर्वाचन आयोगमा पत्राचार गरेका छन् । कुनै पनि दलको पदाधिकारी हेरफेरबारे निर्वाचन आयोगमा विवरण अद्यावधिक गराउनुपर्ने प्रावधान छ । आफूलाई महामन्त्रीबाट अवैध रुपमा हटाइएको भन्दै ढकालले आयोग गुहारेका हुन् । आयोगले निर्णय लिइसकेको छैन । आयोगले विवरण अद्यावधिक गरेपश्चात ढकाल अदालत जाने सम्भावना छ ।
ढकाललाई महामन्त्रीबाट हटाउने निर्णय रास्वपा केन्द्रीय समितिले सर्वसम्मत रुपमा गरेको थियो । अर्थात्, एकजनाले पनि उनीमाथि कारबाही हुनु हुँदैन भनेनन् । साधारण सदस्यता खोस्ने सवालमा पनि कसैले विमति जनाउने अवस्था देखिँदैन ।
अब प्रश्न उठ्छ, जुन सभापतिलाई उनी आफैंले भ्रष्टाचारी, ठग र अपराधी करार गरिसके, जुन पार्टीका सतप्रतिशत नेताहरु उनको खिलाफमा छन्, त्यही पार्टीमा टाँसिइरहन किन यत्रो अपहत्ते ? पंक्तिकारले यस्तो प्रश्न गर्दा ढकालले भने, ‘पार्टीमा म आमूल परिवर्तन गर्छु ।’ सभापतिलाई नै आफूले हटाउनसक्ने उनले संकेत गरे, तर त्यसको आधारहरु दिएनन् ।
यता, सभापति लामिछाने भने ढकालका तमाम अभिव्यक्ति र क्रियाकलापहरुप्रति पूर्णतया मौन छन् । सार्वजनिक रुपमा कुनै प्रतिक्रिया जनाएका छैनन् । रवि यति शान्त र संयमित नेता अवश्य होइनन् । ‘तपाईंलाई एउटा गालामा कसैले थप्पड हान्यो भने अर्को गाला पनि थाप्नुस्’ भन्ने महात्मा गान्धीको उद्धरणलाई उनले अनुशरण गर्न खोजेका हुन् त ? त्यो पनि नहाेला ।
बरु हुन सक्छ विरोधीहरुसँग पैंठेजोरी खेल्दाखेल्दा हत्तु भइसकेका रविसँग ‘आफ्नै’ सित भिडन्तमा उत्रिने जोश-जाँगर बाँकी छैन । ढकाल उनका लागि परिवारका सदस्यसरह थिए । आफूले यति धेरै माया र संरक्षण गरेको व्यक्तिले नै यसरी छुरा रोप्न थालेपछि प्रतिरोध गर्ने हौसला पनि कसरी आओस् !
मुकुल ढकालले बिना प्रमाणका कुरा गरेर आफुलाइ झन झन तल झार्नु भन्दा छुट्टै पार्टी खोल्ने,अथवा आफ्नो चिकित्सकीय पेशामा राम्ररी लागदा राम्रो जस्तो लाग्छ!
यो मुकुल ढकाल जस्ताले भनेको कुरा मिडियाले प्रथमिकताका साथ छापेको किन ? हाम्रो टोलमा एउटा जड्याहा छ । उसले नेताहरूलाई तथानाम भन्छ । त्यसले भनेका कुराहरू पनि छापन हो । तिमीहरूको पनि हैसियत त यस्तै कुरा छाप्नेभन्दा माथि जान सकेन हैन ?
गल्ति रवि लामिछोनेको नै हो त्यत्रा मान्छेलाई मन्त्री बनाउदा मुकुललाई मन्त्री बनाउनु पर्दैनथ्यो त ? विचरा हुदाखादाको डाक्टरी पेशा छोडेर रविको पछाडि लागेको डिप्रेशनमा जानलाई हो र ? मुकुललाई मन्त्री नबनाउने रवि लामिछाने धोकेवाज हुन् ।
मुकुल ठिक छन है। रवीकै राजनीतिक उचाइ मुकुल कै कारण बढेको हो। कुनै सहकारीमा मुकुल संलग्न छैनन। रास्वपाका सवैले रवी छाडेर मुकुल को पछि लाग्दा पार्टी बच्छ।
मुकुल ढकाल कृतघ्न मान्छेको नमुना हो!