‘पर्यटकीय यातायातलाई छुट्टै इम्बोस्ड नम्बर प्रयोग गर्न देउ’
काठमाडौं । पर्यटक यातायातका सवारीसाधनलाई छुट्टै एम्बोसड नम्बर प्रयोग गर्न दिनुपर्ने नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष बेदराज बास्तोलाले बताएका छन् ।
शुक्रबार काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेजस्थित आयोजित संघको २१ औँ वार्षिक साधारण सभामा उनले एम्बोस्ड नम्बर प्लेटको कारण पर्यटन क्षेत्रको पहिचान हटेको बताए ।
‘एम्बोस्ड नम्बर प्लेटको कारण पर्यटन क्षेत्रको पहिचान हटेको छ,’ उनले भने,’ हरियो प्लेट हट्न गई सार्वजनिक सवारीसाधन र पर्यटक सवारीसाधनबीचको भिन्नता नदेखिएको तथा समग्र पर्यटनको पहिचान गुम्न जाने खतरा छ ।‘
पर्यटक बोक्ने रातो र हरियो प्लेटलाई बिना रोकतोक सडकमा सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ । उनले जुन प्रयोजनका लागि पर्यटन क्षेत्रमा व्यवसाय दर्ता भएकालाई सोही अनुसार सञ्चालन गर्न दिनुपर्ने बताए ।
हाल उनले पर्यटकीय यातायातको समस्या औल्याउँदै पार्किङ अभाव, कठोर कारबाही र बीमा दाबी भुक्तानीमा न्यून मूल्यांकन तथा ढिलासुस्ती भइरहेको उल्लेख गरे ।
उनले भारतीय सवारीसाधनको अनियन्त्रित प्रवेश र पर्यटकलाई भिसा प्रदान गरिए पनि ट्राफिकले बीच सडकमा ओरालेर अनावश्यक चेकजाँच गरिरहेको बताए ।
सम्पदा क्षेत्रमा जाने भारतीय सवारीसाधनलाई नियन्त्रण गर्नुपर्ने बास्तोलाले माग राखे । निजी सवारीसाधनले अनियन्त्रित ढंगले भाडामा लगाएकाले त्यस्ता कार्यलाई रोक्न पनि उनले माग गरेका छन् ।
ट्राफिक प्रहरी बीच सडकमा पर्यटक बोकेको सवारीसाधनलाई होल्ड गर्ने गरेको उनले बताए । व्यक्तिका नाममा खरिद गरिएका सवारीसाधनले करको दायराभन्दा बाहिर रहेर भाडा प्रयोजनमा नियम विपरीत बिल बिजक नगरी काम गरेको उनको भनाइ छ । राज्यले त्यस्ता गतिविधिलाई नियन्त्रण गर्न नसकेको उनले आरोप लगाए ।
‘खरबौ लगानी गरी व्यवसाय सञ्चालन गरिरहेक व्यवसायीहरूको व्यवसाय सुरक्षा गर्नु राज्यको दायित्त्व हो,’ उनले भने,’ पर्यटन यातायातको कारण हज्जारौँ मजदुरले रोजगार पाएका छन् । राज्यको कानुन पालना गरी व्यवसाय सञ्चालन गरिरहेका छौ ।‘
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पर्यटक यातायात सेवा रहेकाले यसलाई संघको रुपमा नलिन सुझाए । पर्यटन क्षेत्र नेपालको मेरुदण्ड रहेको उनको भनाइ छ ।
‘रातो प्लेटको यातायातले पर्यटक बोक्न पाउने गरी छलफल चलिरहेको छ,’ मन्त्री दाहालले भने,’ नेपालमा २०५८ को यातायात नीति यथावत छ । हाल नीति बनाउन लागिएको छ ।‘
सुरक्षा निकायले पर्यटकलाई अनावश्यक दुःख नदिन उनले आग्रह गरे । पर्यटकको सुरक्षा जिम्मेवारी सरकारले लिने दाहालको भनाइ छ ।
उनले पर्यटक यातायातका चालकले बानी व्यवहार सुधार्नुपर्ने बताए । चालकलाई पर्यटकीय स्थलका बारेमा जानकारी दिनलाई उनले सुझाए । ‘पर्यटकलाई सेवा सुविधाको आभास सवारीसाधनबाट हुनुपर्छ,’ उनले अगाडि थपे,’ त्यसका लागि मन्त्रालयले सहयोग गर्छ । यसमा सबैले सहकार्य गर्नुपर्छ ।‘
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख जीवन कुमार श्रेष्ठले ट्राफिक प्रहरी र पर्यटक यातायातका साधनहरू सडकमा सँगसँगै रहेको बताए । सडकको इन्जिनिरियङ अवस्था र कानुनको कारण ट्राफिकले सडकमा फरक परिचय बनाएर बसेको उनले बताए ।
‘अहिलेको अवस्थामा तीन तहका सरकारले काम गर्नुपर्छ,’ उनले भने,’ २०४९ को नीतिले निजी गाडीले यात्रु बोक्न छुट दिएको छ र? हाल कति कानुन कार्यान्वयनमा आए होलान कति आएनन् ।‘
श्रेष्ठले ट्राफिक प्रहरी सडकमा कसैलाई गाह्रो बनाउन नभइ सहजीकरण गर्न बसेको बताए । ‘केही कमजोरी ट्राफिक प्रहरीबाट भयो होला त्यसलाई सुधार गरेर जान्छौ । सँगसँगै मिलेर जाऔँ र सरोकारवाला निकाय मिलेर काम गरौ,’ उनले अगाडि थपे ।
इम्बोस्ड नम्बरको विषय पेचिलो रहेको यातायात व्यवस्था विभागका प्रमुख उद्धव प्रसाद रिजालले बताए । ‘यसका लागि ऐन बनाएर काम गर्छौ । यातायातको क्षेत्र भनेको ऐन बनाएर काम गर्नुपर्ने क्षेत्र रहेको छ,’ उनले भने ।