जिबी राई नल्याई सहकारी ठगीको निष्कर्ष अधुरो रहने, रविले यसरी दिए इन्कारी बयान – Nepal Press

जिबी राई नल्याई सहकारी ठगीको निष्कर्ष अधुरो रहने, रविले यसरी दिए इन्कारी बयान

९ घण्टा लामो सोधपुछमा रविले भने– सहकारीबाट मेरो नाममा कसले ऋण निकाल्यो र कसले तिर्‍यो मलाई थाहा छैन, जिबी राई मलेसियामा छन् गृहमन्त्रीले पक्रेर ल्याए हुन्छ

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जिबी राई र उनको समूहले गरेको सहकारीको बचत रकम अपचलन तथा गोरखा मिडियामा आएको रकमबारे आफूलाई केही जानकारी नभएको बयान दिएका छन् ।

सहकारी बचत रकम अपचलन छानविन गर्न गठित संसदीय विशेष सुनुवाई समितिसमक्ष शुक्रवार मध्यरातसम्म ९ घण्टाभन्दा बढी भएको सोधपुछमा गोरखा मिडिया नेटवर्कका तत्कालीन संचालकमध्येका एक लामिछानेले इन्कारी बयान दिएको समितिका सदस्य लेखनाथ दाहालले बताए ।

दाहालले भने– ‘९ घण्टाभन्दा बढी समय सोधपुछ भयो र उहाँ तथा छबिलाल जोशीका सबै बयान लगभग रेडिमेड नै थिए । रविजीले इन्कारी बयान दिँदै आफू गोरखा मिडिया नेटवर्ककको मालिक नभएर तलबी कर्मचारीमात्र भएको बताउनुभएको छ । सहकारीको रकम कसरी आयो र के कसरी अपचलन भयो भन्नेबारेमा मलाई केही जानकारी छैन भन्नुभएको छ । अब जिबी राईलाई ल्याएर सोधपुछ नगरी कुनै निष्कर्षमा पुग्न नसकिने देखिन्छ ।’

रविलाई समितिले लिखित प्रश्न सोधेको थियो । व्यक्तिको नाममा सहकारीबाट ऋण खडा गरेर गोरखा मिडियामा लैजान मिल्छ ? भन्ने प्रश्नमा रविले आफ्नो नाममा ऋण लिएको समेत जानकारी नरहेको जवाफ दिएका छन् ।

रविको जवाफ उधृत गर्दै एक सदस्यले भने– ‘यो छानविन समितिबाट सहकारीका वचतकर्तासँगै मैले पनि न्याय पाउने अपेक्षा गरेको छु । मलाई जसरी जोडिएको छ कुन सहकारीबाट कति ऋण निकालेर मिडियामा लगियो भन्ने केही थाहा छैन । मेरो नाममा जिबी राईले नै ऋण निकालेर लगेका रहेछन् भने थाहा हुने कुरा पनि भएन । मेरो नाममा ऋण निकालेको पनि थाहा छैन र तिरेको पनि थाहा छैन । नक्कली नाममा ऋण लिएको हुनसक्छ ।’

रविले जिबी राईलाई आफूले पक्राउ गर्नै लाग्दा केही व्यक्तिले भगएको भन्दै उनी मलेसियामै रहेकाले सरकारले ल्याउन सक्ने बताएका छन् । समितिका सभापति सुर्य थापाले सोधपुछका सवाल जवाफहरु अहिले गोप्य नै रहने भन्दै रवि लामिछानले आफूमाथिका आरोप भने अश्वीकार गरेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर