एकासीको गाईजात्रा : बालेन अवतारमा ‘माड्साब’को यात्रा
काठमाडौं । एकासीको गाइजात्राको अन्तिम दिनको दोस्रो अन्तिम प्रस्तुतीमा प्रस्तोता रिमा विश्वकर्माले बोलाउँछिन् कलाकार प्रकृति गिरी र मेयर बालेन्द्र शाह बालेन अवतारमा प्रस्तुत भएका आशिष खनाल ‘माड्साब’ ।
पृष्ठभूमिमा रातो अक्षरमा ‘चेयरमा मेयर’ लेखिएको छ, त्यसको अघिल्तिर दुई वटा चेयर छन्, अगाडि टेबल र टेबलमाथि केही सादा पेपर छन् । ति भने प्रस्तुतिका क्रममा प्रयोग गरिने केही मानिसहरुको फोटा रहेछन् ।
पत्रकारको स्वरुपमा प्रस्तुत प्रकृतिले केही भूमिका बाँधेर बालेन शाहको चरित्र निभाइरहेका खनाललाई बोलाउँछिन् । उनले डोजरको प्रसंग पनि ल्याउँछिन् । यत्तिकैमा स्टेजको बाँयातर्फबाट आउँछन् गाइजात्राका बालेन ।
चिटिक्क परेको दुरुस्तै दाह्री, अगाडि चट्ट जोर खुकुरी सजाइएको कालो भादगाउँले टोपी, कालो बालेन चस्मा, कालै कोट, कालै पाइन्ट झट्ट हेर्दा जोकोहीले पनि पक्कै बालेन नै हुन् भन्ने अड्कल गर्न सक्ने । अझ गजब कुरा हातको हाउभाउ, हिँडाइ, मुहारको अभिव्यक्ति सबैले उनलाई क्यारेक्टरमा निकै गजब तवरले न्याय गरेको ।
बालेन अवतारको पात्रको इन्ट्री भएपछि प्रज्ञा प्रतिष्ठानको हलमा भरिभराउ दर्शकको शानदार तालीको गडगडाहटले स्वागत गर्यो । डोजरको आकृति पनि पछि पछि देखेपछि दर्शक झनै उत्साहित बने । यो हेर्दा पात्रले हरसम्भव जीवन्तता प्रदान गर्न कोसिस गरेका छन् ।
यसैमा बालेनले अक्सर बोल्ने थेगो ‘य्य’, अनि हातका चोर औंला र कान्छी औंला ठाडो राखी बीचका दुई औंला खुम्च्यिाएर बुढी औंलाले थिचेर देखाइने आकृति जसले ‘रक’को अर्थ प्रदान गर्छ जुन मेयर बालेनले र्याप हान्दा प्रयोग गर्छन् ।
‘जसरी नन्दीबिना महादेव हुँदैन । त्यसरी नै डोजरबिना बालेन हुँदैन’, डाइलग बोलेर बालेन स्टाइलको हात हल्लाएपछि दर्शकको हुटिङ आयो । त्यसपछि गिरीले गाइजात्रे बालेनलाई अन्तरवार्ता लिन्छिन् । जसको एउटा सेग्मेन्ट रोचक थियो । टेबलमा राखिएका फोटा नेताहरुको रहेछन् । जसलाई उठाएर विकल्प दिने र उनले चिन्नुपर्ने सेग्मेन्ट रहेछ । जसमा गिरी भन्छिन्, ‘यहाँ नेताहरुको फोटा छन् । म केही विकल्प दिन्छु तपाईंले कुन नेता भनेर चिन्नुपर्छ ।’ जवाफमा बालेनले भन्छन्, ‘मैले फोहोर उठाउन छोडिसकेँ ।’ त्यसपछि बजोड ताली आउँछ ।
उनीहरुको समग्र संवाद व्यंग्यात्मक र रोचक थियो । जसमा नेताहरुलाई यथार्थमा गाली गरेको विषय पनि समेटिएको थियो भने सडकका बिजुलीका खम्बामा सडक विभागले ‘स.बि.’लेखेका प्रसंग प्रस्तुतिमा अटेका थिए । छिनमै आएर छिनमै गएको जस्तो अनुभव बनाएको थियो । यसको अर्थ त्यहाँ रहेकाहरु पनि रमाएका थिए ।
उद्घोषक रिमाले भनेकी थिइन् कि मिठो परिकारमा चट्ट चटनी भएझैं अन्तिम अन्तिममा त्यस्तै खुराक छन् है छोडेर नजानु होला । करिब १० मिनेटको गाइजात्रे बालेनसँगको अन्तरवार्ताले निकै रोचक र चटनीको काम गर्यो । बालेनको भूमिकामा सम्भवत यो पहिलो प्रस्तुति थियो ।
गाइजात्रालाई हाँस्य व्यंग्यको शिलशिलामा जोड्न थालेको पनि दशकौं भइसकेको छ । हरेक नयाँ नयाँ स्वाद पस्किन प्रयास गर्ने गाइजात्राको यसपालिको भर्सनमा बालेन अवतारले चर्चा बटुल्यो । उसैपनि जनमानसमा आइकनिक लिडरको रुपमा आफूलाई उभ्याएका बालेनको भूमिका निर्वाह गर्ने कुरा चुनौतीपूर्ण थियो । उक्त चुनौतीलाई खनालले सहज तवरले निभाएको देख्न सकिन्थ्यो ।
निखारिएको कलाकारले दिएको जस्तो भूमिका प्रस्तुति पस्कन खनाल सफल भएको देखिन्छ । शुक्रबारै पनि रिमाले र केहीदिन अघि मनोज गजुरेलले गाइजात्राबारेको पत्रकार सम्मेलनमा कलाकारहरुको परिचय गराउँदा भनेका थिए कि ‘माड्साब’ कलाकार नभएर टिचर र कार्टुनिष्ट हो भनेर । तर गाइजात्राको उनको प्रस्तुति हेरिसकेपछि खनाल कलाकार होइनन् भन्ने कुरा पत्याउन गाह्रो हुन्छ ।
‘माड्साब’को बालेन यात्रा
उसो त आशिषको लागि कलाकारिता नौलो विषय होइन । किनकी उनी कलाकार एवम् शिक्षा गंगा खनालका छोरा हुन् । इलाममा करिब तीन दशक बढी समयदेखि अध्यापन गरिरहेका उनलाई ‘गंगा सर’ भनेर इलामेलीले चिन्छन् ।
उनैले पढाएका विद्यार्थीहरु आज देश विदेशमा आआफ्नो क्षेत्रमा सफलता हासिल गरिरेहका छन् । उता कलाकारितामा पनि अब्बल गंगा सरले दर्जनौं नाटकलगायतका प्रस्तुति गरेका छन् । इलाममा कार्यक्रममा सायदै गंगा सर छुट्छन् । यसरी आशिषमा पनि गंगा सरको प्रभाव नपर्ने कुरै भएन ।
यसर्थमा उनीभित्र पनि कलाकारिताप्रतिको सम्मान र प्यास पक्कै थियो । इलामको मंगलबारेमा बाबुछोरा भएर लकडाउनको समयमा पनि विभिन्न रोचक भिडिओ बनाएका थिए । कोटेश्वरको लालीगुँरास एकेडेमीमा विज्ञान विषय पढाउने आशिष चर्चित कार्टुनिष्ट समेत हुन् । समसामयिक विषयमा चोटिलो व्यंग्य चित्रण गर्ने उनका कार्टुनहरु निकै चर्चित छन् ।
उनले आफ्नो पहिलो कर्म शिक्षणलाई ब्राण्डिङ गरेका छन् । कतिपयले शिक्षणलाई नकारात्मक तवरले लिइरहँदा उनले ‘माड्साब’कै नाम गरेर कार्टुनिष्टको पहिचान स्थापित गर्न सफल भए । आफैँसँग भएकोबाटै उठ्नुपर्छ भन्ने उनको स्वभावले पनि एकपछि अर्को सफलता हात लागेको देखिन्छ ।
इलामको मंगलबारेमा जन्मिएका उनले करिब दशकदेखि नै दाह्री पाल्दै आइरहेका छन् । राजनीतिमा बालेनको उदयसँगै साथीभाइमाझ उनको लुक्सको चर्चा हुने गरेको उनी सुनाउँछन् । उसो त कलाकारिता सामान्य विषय होइन । अझ लाइभ प्रस्तुति झनै चुनौतीपूर्ण हो । उनको जीवनको सम्भवत यो पहिलो राष्ट्रियस्तरको प्लेटफर्म थियो ।
यति ठूलो स्टेजमा तपाईंको प्रस्तुतिको अनुभव कस्तो रह्यो भन्ने प्रश्नमा खनाल भन्छन्, ‘पहिलोपटक यति ठूलो प्लेटफर्ममा उभिँदा नर्भस भएको थिएँ ।’ उनलाई के होला कसो होला भन्ने मनमा परेको सुनाउँछन् । यद्यपी प्रस्तुति दिँदै जाँदा डर कम हुँदै गएको अनुभूति माड्साब बताउँछन् ।
‘म सुरुमा नरभस थिएँ । के होला कसो होला भन्ने मनमा अवश्य थियो । काम गर्ने सहकर्मी कलाकार पनि सबै राष्ट्रियस्तरमा स्थापित हुनुहुन्थ्यो’, उनले भने, ‘तर गर्दै जाँदा डर कम हुँदै गयो । सबैको हौसलाले अन्ततः मेरो लागि चाहिँ म सफल भएको जस्तो लाग्यो ।’
आफूले पाएको पात्रको चरित्रलाई न्याय दिन सके नसकेको बारे विश्लेषण गर्न चाहिँ दर्शकलाई छोडेका छन् । ‘मैले निभाएको चरित्रलाई न्याय दिन सकेँ कि सकिनँ भन्ने चाहिँ दर्शकहरुको जिम्मा’, उनी बताउँछन् ।
उनले आफूले तीन महिना अगाडि नै स्क्रिप्ट लेखिसकेको खनाल बताउँछन् । सबै टीमले नै गाइजात्राको लागि राम्रै तयारी गरेकाले पनि समग्रमा प्रस्तुति राम्रो बन्न सकेको उनलाई लागेको छ । रिहर्सलका लागि पनि करिब एक महिना दिनको २ घण्टा निरन्तर लागेको उनले बताए । १० मिनेटको प्रस्तुतिका लागि ६० घण्टाको तयारी ।
‘स्क्रिप्ट त मैले करिब ३ महिना अगाडि नै लेखिसकेको थिएँ । रिहर्सल चाहिँ करिब १ महिना दिनको २ घण्टाको दरले गरियो’, उनले सुनाए ।
त्यस्तै, आफूले बालेनको रोल गर्ने भन्ने सुरुमा नसोचेको खनाल बताउँछन् । गाइजात्राकै विषयमा कलाकार चक्र दवाडी, मनोज गजुरेल, गाइजात्रा आयोजक ब्राण्ड वर्थका कार्यकारी प्रमुख मोहन गजुरेल र खनालबीच अनौपचारिक छलफल भयो । त्यसक्रममा मोहनले आशिषलाई भने ‘यसपालि आशिषले बालेनको गर्नुपर्छ है, लुक्स पनि मिल्छ ’ त्यसपछि बालेनको भूमिकामा आशिष देखिन पुगे ।
सम्भव भएसम्म कलाकारितालाई निरन्तरता दिने पक्षमा छन् आशिष । ‘सकेसम्म निरन्तरता दिने कोसिस गर्नेछु । हेरौ अब समय परिस्थिति र अवसर कतिको अनुकुल हुने हो’, उनले भने ।
एकासीको गाइजात्रा
प्रज्ञा भवनमा भएको सात दिने गाइजात्राले यसपालि पनि राम्रै चर्चा र दर्शक बटुल्यो । नेतागणदेखि सर्वसाधारणको बाक्लो उपस्थितिका बीच सम्पन्न गाइजात्राले विशेषगरी राजनीतिक वृत्तमा देखिएको, भइरहेका विकृतिलाई टपक्कै टिपेको छ ।
यसवर्षका चर्चित काण्डहरु, सुन प्रकरण, सहकारी काण्ड, गिरीबन्धु, टिस्टेट काण्ड, सरकार परिवर्तनजस्ता विषयमा तीखो व्यंग्य प्रस्तुत भए । त्यस्तै, प्रस्तुतिमा जनतालाई पनि छोडिएको छैन । चाहे ट्राफिक नियम पालनाका विषय हुन् वा भोट खसाल्ने प्रसंग किन नहुन् । करिब सबै समेट्ने चेष्टा यसपालिको गाइजात्राले पनि निकै शानदार ढंगले प्रयास गरेको आभास भयो ।
अन्तिम दिनको अन्तिम तर विशेष प्रस्तुती हाँस्यकलाकार मनोज गजुरेल राजा वीरेन्द्र र चक्र दवाडी गिरीजाप्रसाद कोइराला बनेर दिएको प्रस्तुतिले गाइजात्राको सम्पूर्ण सार समेटेको छ । देश बन्न व्यवस्थाभन्दा पनि व्यवस्थापन र व्यवस्थापकको रुपान्तरण हुन आवश्यक रहेको सन्देशसहित एकासीको गाइजात्रा समापन भएको छ ।
नेतालाई नै अगाडि राखेर गरिएका यस्ता व्यंग्य वर्षेनि निरन्तर हुने गर्छन् । सम्बन्धित व्यक्ति र क्षेत्रलाई थोरै मात्र सचेत हुने भए गाइजात्रामा पनि समृद्धि आउँथे होलान् ।
बालेन शाहलाई ब्यङ्ग्य गर्ने कलाकार, पत्रकार जाल सुकैले पनि पहिला आफ्नो अनुहार र आफुले पच्छ्याउँदै गरेकाे नेताहरुकाे अनुहार हेर्नु पर्छ।
अनि साेध्नु, बाललेन ले नेपाललाई के के दिइरहेको छ?
अनि मैले र मैले मानिरहेका नेताहरुले नेपाललाई के दिँदै छन्?
सथिहाे !! याे एउटा बटुकाे जत्रो खाल्डो काठ्माण्डौ मात्र नेपाल हैन, न्यूराेडका ब्यापारी हरू मात्र नेपाली जनता हैनन्।