जसपा नेपालको चार महिने अभियान: यी जिल्लामा हुँदैछ अभिमुखीकरण – Nepal Press

जसपा नेपालको चार महिने अभियान: यी जिल्लामा हुँदैछ अभिमुखीकरण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ सुरु हुने भएको छ ।

बागमती प्रदेशअन्तर्गतका सबै जिल्ला र काठमाडौंमा उपलब्ध केन्द्रीय अभियन्तालाई अभियानको उद्देश्य र लक्ष्यबारे प्रशिक्षण गर्ने गरी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतबार अभियानको उद्घाटन गर्न लागेका हुन् ।

काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटबाट चार महिने अभियानको उद्घाटन भएसँगै पार्टीको आधारभूत सङ्गठन निर्माण अभियान प्रारम्भ हुने नेता पूर्ण बस्नेतले बताए ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्लाको लागि मधेश प्रदेशको जनकपुरमा भदौ १५ गते अभिमुखीकरण कार्यक्रम हुनेछ । रौतहट, बारा, पर्सा र मकवानपुरसमेतका अभियन्ताका लागि भदौ १६ गते वीरगञ्जमा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।

कोशी प्रदेशको विराटनगरमा भदौ १८ गते अभियन्ताहरुको अभिमुखीकरण कार्यक्रम आयोजना हुनेछ । त्यसैगरी लुम्बिनी प्रदेशका लागि भैरहवामा भदौ २३ गते र नेपालगञ्जमा भदौ २४ गते अभिमुखीकरण कार्यक्रम हुनेछ ।

भैरहवामा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङका अभियन्ताका लागि र नेपालगञ्जमा बाँके, बर्दिया तथा कर्णाली प्रदेशका अभियन्ताहरुलाई अभिमुखीकरणमा सहभागी गराइनेछ ।

गण्डकी प्रदेशको पोखरामा र सुदूरपश्चिमको धनगढीमा भदौ २५ गते अभिमुखीकरण हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर