एमाले मकवानपुरको सल्लाहकार कमिटी अध्यक्षमा हुमागाईं
हेटौंडा । नेकपा एमाले मकवानपुरको जिल्ला सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाईं चयन भएका छन् । मकवानपुरगढी निवासी हुमागाईंलाई शनिबार भएको सल्लाहकार कमिटीको बैठकले अध्यक्षमा चयन गरेको पार्टी अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिए ।
सल्लाहकार कमिटी अध्यक्षमा उनको दोस्रो कार्यकाल हो । हुमागाईं मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने नेतृत्वमध्येका एक हुन् । पञ्चायतकालीन समयमा कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा सहभागी हुमागाईंलाई जिल्लामा सम्मानित नेताका रुपमा लिइन्छ ।
मकवानपुरगढी गाउँपालिकामा नेकपा एमालेको जग बसाल्ने हुमागाईं हुन् । पार्टीले मकवानपुरगढीमा पहिलो पटक सम्पर्क गरेको नेता पनि हुमागाईं नै हुन् । उनकै नेतृत्वमा गढीमा एमाले विस्तार भएको थियो ।
यस्तै एमाले जिल्ला सल्लाहकार कमिटी सचिवमा चेतनाथ खतिवडा चयन भएका छन् । अध्यक्ष हुमागाईं र सचिव खतिवडाले शनिबार एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ लिए ।
यसैगरी ज्येष्ठ कम्युनिष्ट मञ्चको बैठकबाट बनमाली सुवेदी अध्यक्ष, चन्द्रकान्ता श्रेष्ठ सचिव चयन भएको पार्टी अध्यक्ष पोख्रेलले जानकारी दिए । पार्टी जिल्ला अध्यक्ष पोखरेलको अध्यक्षता तथा पार्टी केन्द्रीय सदस्यसमेत रहेका जिल्ला इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यमा शपथ ग्रहण कार्यक्रम भएको हो ।
मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने, अग्रज नेताहरुको सल्लाह र युवाहरुको साथमा पार्टीलाई गतिशील ढंगले अगाडि बढाउने पार्टी जिल्ला अध्यक्ष पोख्रेलले बताए ।