प्रचण्डको घोषणा- माओवादी फुट्दैन, आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ (भिडिओ) – Nepal Press

प्रचण्डको घोषणा- माओवादी फुट्दैन, आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ (भिडिओ)

काठमाडौैं । नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट माओवादी पहिलो पार्टी बन्नसक्ने दाबी गरेका छन् ।

नुवाकोट काठमाडौं सम्पर्क समन्वय समितिको ८औं भेलालाई सम्बोधन गर्दै उनले माओवादीलाई पहिलो पार्टी बनाउने आत्मविश्वासका साथ अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘कसैले हाम्रो पार्टी फुटाउँन सक्दैन । केही समयपछि फुटेर गएका माओवादीहरु पनि एकताबद्ध हुन्छन् । हाम्रो पार्टी फुटाउने षड्यन्त्र प्रतिक्रियावादीहरुले जनयुद्धको बेलामा पनि गरेकै हुन् । पछि पनि गरेकै हुन् । केही साथीहरु जानुभयो । पछि केही फर्केर आउनुभएको छ । बाँकी रहेकासँग पनि वार्ता चलिएको छ । टेन्सन नलिनुहोला, हामीलाई रोक्न कसैले सक्दैन ।’

उनले कांग्रेस र एमालेले आफूहरुलाई ३२ सीट भनेर हेपेको भन्दै आगामी निर्वाचनमा २०६४ सालको नतिजा दोहोर्‍याउने गरी लाग्नुपर्ने बताए ।

प्रचण्डले थपे, ‘३२ सीटलाई यिनीहरुले जातिविधि गरे, हामीसँग ३२ होइन, जनयुद्धको बेलामा एक सीट पनि थिएन नि ! भएभरका सीट त कांग्रेस र एमालेको मात्रै थिए नि त, तर हामी एक सीट नभए पनि आयौं । हामीले २०६४ मा प्रत्यक्षमा मात्रै १२१ सीट ल्यायौं, २४२ को वरिपरि थियौं समानुपातिकसहितको गर्दा । अर्को पटक हामीले यिनीहरुलाई चुनौती दिनु छ। हामी आत्मविश्वासको साथ जनताको घरमा गयौं भने अर्को पटक २०६४ जस्तै पहिलो पार्टी बन्न सम्भव छ र हामीले बनाउनैपर्छ ।’

उनले २०६४ को निर्वाचनमा भोट हाल्ने जनताको घरघर गएर आत्मसमीक्षा गर्न नेता कार्यकर्तालाई निर्देशन दिए ।


प्रतिक्रिया

One thought on “प्रचण्डको घोषणा- माओवादी फुट्दैन, आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ (भिडिओ)

  1. कुस्त हसाउँछन् छबिलालले पनि बेलाबेलामा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर