काभा प्रतियोगितामा पदक जित्ने चार भलिबल टोलीलाई नगदसहित सम्मान (भिडिओ)
काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले काभाको विभिन्न प्रतियोगितामा पदक जित्ने चार भलिबल टोलीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।
भलिबल संघले शनिबार काठमाडौंमा एक कार्यक्रमबीच काभा बिच भलिबलको स्वर्ण र रजत विजेता, काभा महिला भलिबल नेसन्स लिगको रजत विजेता र काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको काँस्य विजेता टोलीलाई नगद पुरस्कार प्रदान गरेको हो ।
यस्तै काठमाडौंमा भएको काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही १ लाख २ हजार प्रदान गरिएको छ ।
काभा वुमन्स नेसन्स लिगका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले पनि नगद १ लाख २ हजार पाएका छन् । सहायक प्रशिक्षक भरत यादवलाई ९२ हजार तथा लोकेन्द्र कुँवर र म्यानेजर निलम बज्राचार्यलाई जनही ८२ हजार प्रदान गरिएको छ ।
भुटानमा भएको काभा बिच भलिबलमा नेपालको महिला टोलीले स्वर्ण र पुरुष टोलीले रजत जितेको थियो । स्वर्ण विजेता कमला पुन र मनिषा चौधरीले जनही ६० हजार तथा रजत विजेता मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारले समान ३० हजार प्राप्त गरे । बिच भलिबल च्याम्पियनसिपमा दुवै टीमको प्रशिक्षक रहेका रुपेश विष्टले नगद ४० हजार प्राप्त गरे ।
यस्तै माल्दिभ्समा भएको काभा यू-२० महिला भलिबल च्याम्पियनसिपमा काँस्य विजेता टोलीलाई जनही १५ हजार पुरस्कार प्रदान गरिएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्द, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, सहाना प्रधान स्मृति फाउण्डेसनकी अध्यक्ष रामकुमारी झाँक्रीलगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।