तङ्ग्रिद्रै बाघ मार्ने भैँसी – Nepal Press

तङ्ग्रिद्रै बाघ मार्ने भैँसी

हेटौंडा । गत भदौ ६ गते बिहान नेपालभर एउटा समाचारले सनसनी मच्चायो । मकवानपुरको मनहरी गाउँपालिका- ६ प्रतापुरमा भैँसीको आक्रमणमा परी बाघ मरेको अविश्वसनीय तर सत्य खबर चारैतिर फैलियो । समाजिक सञ्जालभर यस विषयमा चर्चा परिचर्चा भए । गोठमा बाँधिराखेको भैँसीले बाघलाई मार्न सक्छ र भन्ने विषयमा पक्ष र विपक्षमा बहसहरु भए ।

बाघको पोष्टमार्टमबाट भैँसीले हानेर मारेको प्रमाणित भयो, तर बाघ पहिले नै घाइते रहेको भनियो । जे भने पनि बाँधिराखेको भैँसीले बाघलाई मारेको हो । अझै बाघले भैँसीलाई गम्भीर घाइते पनि बनाएको थियो र प्रतिकारमा बाघ मारिन पुग्यो ।

बाघको आक्रमणमा परेको भैँसी पनि करिबकरिब मृत्युबाट बचेको देखिएको छ । नेपालप्रेसकर्मी स्थलगत रिपोर्टिङमा पुगेर हेर्दा भैँसीको टाउको मुनिको गर्दनमा बाघले ६ वटा गहिरो प्वाल पारेको देखिएको छ । बाघले गर्दनको मुनिबाट आक्रमण गरेको भए भैँसी मारिन सक्ने थियो, तर भोकाएको घाइते बाघले अन्धाधुन्ध पहिलो बेते भैँसीलाई आक्रमण गरेको र भैँसीले प्रतिकार गर्दा बाघको टाउकोसँगै रहेको कन्चटमा लागेर ‘अन द स्पट’ ज्यान गुमाएको बुझिएको थियो ।

बाख्रा मार्ने प्रयास असफलपछि भैँसीमाथि आक्रमण

भदौ ६ गते बिहान करिब २ बजेको समयमा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट ८ वर्षको बाघ प्रतापुर छिरेको थियो । करिब एक हप्ताको भोको बाघ आहाराको खोजीमा मानव वस्ती पसेर स्थानीय बलबहादुर राईको घर आइपुगेको थियो ।

उनको घरको दक्षिणतर्फको धानबारी हुँदै उक्त बाघ पहिले राईको बाख्रा खोरतर्फ पुगेको थियो । उसले फलामे जाली भएको गोठ भत्काउन पटकपटक प्रयास गरेको स्थलगत अनुगमनको क्रममा देखियो । जालीको केही भाग भत्काउन सफल भए पनि बाख्रा भएको स्थानमा छिर्न नसकेको राईले बताए ।

उनका अनुसार बाघ त्यसपछि बाख्रा खोरभन्दा २० मिटर पर रहेको भैँसीको गोठ पुगेको थियो । गोठमा एउटामात्रै भैँसी रहेको र उक्त स्थान साँघुरो भएको कारण बाघले पछाडिबाट भैँसीको घाटीमाथिको भागमा आक्रमण गरेको घाउको प्रकृति हेर्दा देखिन्छ, तर वयस्क भैँसीको प्रतिकारपछि बाघको ज्यान गएको घटनास्थल हेर्दा देखिन्छ ।

बाघलाई अगाडिबाट आक्रमण गर्न ठाउँ साँघुरो भएकोले घाँटी माथिको भागलाई निशाना बनाएको हुन सक्ने राई बताउँछन् ।

बाघलाई मारेपछि भैँसी ठूलो स्वरले कराएपछि आफू व्युँझिएको घरधनी राईकाे भनाइ छ । प्रतापपुर क्षेत्रमा यसअघि पनि बाघ, भालु, हात्ती आतंक रहेको कारण आफू एक्लै खोरमा जान डराएर ५-६ जना छिमेकी जम्मा पारेर गोठमा गएको उनले बताए ।

गोठमा जाँदा भैँसीको गर्धनबाट रगत बगिरहेको र सँगै बाघ सुतिरहेको जस्तो देखेको राई बताउँछन् ।

‘सुरुमा हामीले बाघ जिउँदो नै रहेको र भैँसीको खुट्टा टोकेको हो कि भन्ने शंका गरेर बाघलाई धपाउन खोज्यौं, तर नचलमलाएपछि बाघ बेहोस भएको हो कि भन्ने मनमा परेको थियो । पछि नजिकै गएर हेर्दा मरिसकेको पायौं’, राईले भने, ‘बाघको जिउभरि घाउ थियो, टाउकोमा नयाँ घाउ देखिन्थ्यो, सायद त्यो भैँसीले हानेको हुनसक्छ, हामीले हेर्दा मरेको बाघ देखेर भैँसी कराउँदै थियो । त्यसपछि हामीले प्रहरीलाई खबर गरेका हौं ।’

दुधालु, तर निकै आक्रामक छ भैँसी

बाघलाई आक्रमण गरेर मार्ने भैँसी पहिलो बेते अर्थात पहिलो पटक ब्याएको राईले बताए । एक हप्ताअघि मात्र उसले जन्माएको बच्चाको मृत्यु भएको थियो ।

भैँसीको स्वभावबारे राईले सुनाए, ‘भैँसी निकै आक्रमण गर्ने बानीब्यहोराको थियो, घरका तीन जनाबाहेक अरु गोठमै पस्न सक्दैनथे ।’

आक्रामक भए पनि पहिलो बेते भैँसी दुधालु रहेको उनले बताए । ६ वटा बाख्रा दिएर ३० हजार नगद थपरे ल्याएको भैँसीले दिनमा ८ लिटर दूध दिने गरेको, तर बाघको आक्रमणपछि दूध सुकेको उनको भनाइ छ ।

बाघको आक्रमणबाट गम्भीर घाइते भैँसीमा दुई दिनपछि शनिबार थोरै सुधार देखिएको राई बताउँछन् । बाघको आक्रमणबाट भैँसीको घाटी सुन्निएकोमा अहिले सामान्य हुँदै गएको, कलिलो घासँ थोरै खान थालेको उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जको भेटनरी टोलीले घाइते भैँसीको शनिबार उपचार गरेको उनले बताए । आफूहरुको आम्दानीको स्रोत नै यही भैँसी रहेको भन्दै उनले निकुञ्ज र गाउँपालिकाबाट भैँसीको उपचारको थप अपेक्षासमेत गरे ।

उनले भने, ‘घर खर्च चलाउन र बच्चा पढाउन सहज हुन्छ भनेर यो भैँसी ल्याएका थियौं, तर बाघको आक्रमणबाट यस्तो अवस्था भयो, निकुञ्ज र स्थानीय सरकारले उपचार गरिदिएदेखि बाँचेर पहिलेको अवस्थामा पुग्छ कि भन्ने आशा छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर