मधेशका मुख्यमन्त्री सिंहद्वारा अबेर राति प्रादेशिक अस्पतालको निरीक्षण, बिरामी र कुरुवाका गुनासा सुने – Nepal Press

मधेशका मुख्यमन्त्री सिंहद्वारा अबेर राति प्रादेशिक अस्पतालको निरीक्षण, बिरामी र कुरुवाका गुनासा सुने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले शनिवार अबेर राति जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अचानक निरीक्षण गरेका छन् ।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत प्रादेशिक अस्पताल सञ्चालनमा छ । अस्पतालका चिकित्सकले बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्र्याइँ गरिरहेको गुनासा आएपछि मुख्यमन्त्री सिंहले शनिवार राति ११ बजे अचानक निरीक्षण गर्न पुगे ।

अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अतिसघनसहितका कक्ष मुख्यमन्त्री सिंहले निरीक्षण गरे ।ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सङ्ख्या र कार्यविभाजन, काम गर्ने अवधि, ड्युटीमा नियमितता आदिका बारेमा उनले जानकारी लिएका छन् ।

रातका समयमा मुख्यमन्त्री सिंह अस्पतालको निरीक्षणमा पुग्दा बिरामी तथा कुरुवाहरू चकित परेका थिए । उनीहरूसँग मुख्यमन्त्री सिंहले अस्पतालको समस्याबारे सोधपुछ गरे । कुरुवाहरूले रातका समयमा डाक्टर नबस्ने गरेको, ड्यूटीमा खटेका स्वास्थ्यकर्मीले कुनै कुरा सोध्दा बेवास्ता गर्ने गरेको र फार्मेसीमा औषधि नपाउने गरेको गुनासा गरेका थिए ।

मुख्यमन्त्री सिंहसमक्ष कुरुवाहरू गुनासो गरिरहेकै बेला प्रतिष्ठानका रजिस्ट्रार विनोदकुमार यादव पुगे । त्यस क्रममा मुख्यमन्त्री सिंहले कुरुवाहरूले गरेको गुनासोको सम्बोधन गर्न रजिस्ट्रार यादवलाई निर्देशन दिए ।

उनले अस्पतालमा कार्यरत जनशक्तिलाई तोकिएको समयसम्म नियमित र तत्परताका साथ काम गर्न समेत निर्देशन दिए । उनले ड्युटी कक्षमा कामका लागि निर्धारित संख्या र समयावधिमा चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी नियमित खटिनुपर्ने र बिरामीको उपचारमा कुनै किसिमको लापरबाही भए सम्बन्धित कर्मचारी कारबाही भोग्नुपर्ने चेतावनी समेत दिए ।

मुख्यमन्त्री सिंहले अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा सूचीअनुसार आवश्यक र उचित औषधि राख्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिए ।

उनले भने, ‘हामीले के गर्नुपर्छ गर्छौं । तर बिरामीको उपचार सहज र सुलभ हुनुपर्छ ।’

उनले अस्पतालमा बिरामीको चापमा अत्यधिक वृद्धि भइरहेका बेला भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थपिँदै गएको उल्लेख गरे । अस्पतालमा विद्यमान समस्या समाधान गर्दै त्यहाँ उपलब्ध सेवासुविधा उन्नत बनाउन र विविधिकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर