वडाध्यक्षकै अगाडि वडाकार्यालयमै कुटिए दम्पत्ति – Nepal Press

वडाध्यक्षकै अगाडि वडाकार्यालयमै कुटिए दम्पत्ति

रुपन्देही । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर-१४ को कार्यालयभित्रै सर्वसाधारण कुटिएका छन् । जग्गाको विषयमा विवाद हुँदा एक दम्पतीमाथि रगताम्य हुनेगरी कुटपिट भएको हो ।

जग्गा सम्बन्धी विवाद समाधानका लागि वडाध्यक्ष सन्त बहादुर गाहासँग वडा कार्यालयमा छलफल भइरहेको समयमा स्थानीय राजबहादुर क्षेत्री र उनकी श्रीमती पार्वती क्षेत्रीमाथि कुटपिट भएको हो ।

सामान्य भनाभनपछि क्षेत्री दम्पत्तिमाथि वडा नम्बर १४ धर्मबस्ती बस्ने प्रेमबहादुर कामु र उनका दाजुभाइ कृष्ण कामु, जीवन कामु र रितमान कामुको समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

वडा अध्यक्ष गाहाका अनुसार बाटो निकासीका सम्बन्धमा भएको विवाद समाधानका लागि निवेदन परेको थियो, सोही निवेदनका आधारमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो ।

‘विवाद सम्बन्धित जग्गाधनी नभएपछि समाधान हुने देखिएन, मैले जग्गाधनी आएपछि थप छलफल गरौँला भनेको थिए तर मेरै अगाडि एक्कासि हातपात भयो’, वडाध्यक्ष गाहाले भने ।

कुरा नमिलेपछि दुवै पक्षबीच विवाद चर्किदा पार्वती क्षेत्रीलाई लक्षित गरेर अपशब्द बोलेपछि उनले दुई झापड हानेको र त्यसपछि कामु दाजुभाइले उनीसहित श्रीमानलाई समेत कुटपिट गरेको वडाध्यक्ष गाहाले जानकारी दिए ।

कुटपिटपछि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिए पनि शनिवार नभएको जनाए । आइतबार घटनाबारे थप अनुसन्धान गरेर जाहेरी दर्ता गर्ने प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिए ।

कुटपिटपछि घाइते भएका राजबहादुरको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको उनका मामा लक्ष्मण जंग हमालले बताए । हमालले उनीहरुमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

परिवारजनले राजनैतिक शक्तिको आडमा उनीहरूलाई जोगाउने प्रयास भइरहेको भन्दै घाइतेको निःशुल्क उपचार र दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

कुटपिट गर्ने कामु दाजुभाइ नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । घटनाको सन्दर्भमा वडा कार्यालयले विज्ञप्ति समेत जारी गर्दै घटनाको न्यायिक निरूपणको पक्षमा वडा कार्यालय रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर