बुटवलमा आयोजित जुत्ता मेलामा तोडफोड – Nepal Press

बुटवलमा आयोजित जुत्ता मेलामा तोडफोड

रुपन्देही । बुटवलको डेल्टा मार्ट परिसरमा आज आइतबारदेखि सुरु गर्न लागिएको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड तथा हातपात भएको छ ।

मेला स्थलमा पुगेका एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरू तोडफोड गर्नुका साथै मेलामा कार्यरत कर्मचारीहरूमाथि हातपात गरेको हो ।

नेपाली लुगा घरको आयोजनामा दशैसम्म मेला लाग्ने बताइएको थियो । उक्त मेलालाई रोक्न रुपन्देही व्यापार संघले दबाब दिँदै आएको समयमा मेलास्थल भित्र तोडफोड तथा हातपात भएको हो ।

मेला आयोजक मूल समितिका संयोजक तथा नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालका अनुसार बिहान करिब ९ बजेको समयमा आएका २५÷३० जनाको समूहले मेलास्थलका बोर्ड तथा स्टलहरू तोडफोड गर्नुकासाथै त्यहाँ कार्यरत व्यक्तिहरूलाई समेत हातपात गरेका थिए ।

मेलास्थलमा पुगेका समूहले मेला बन्द गर्नुपर्ने भन्दै तोडफोड गरेका थिए । उता रुपन्देही व्यापार संघले यसअघि नै उक्त मेला रोक्नका लागि बुटवल उपमहानगरपालिका वडा नम्बर ८ लाई ध्यानाकर्षण पत्र पठाएको थियो ।

मेला स्थलमा तोडफोडको विषयमा संघका अध्यक्ष दिपक अधिकारीले भने आफूलाई कुनै जानकारी नभएको बताएका छन् । यद्यपि उक्त मेलाबाट स्थानीय व्यवसायी मर्कामा पर्ने भएकाले संघले मेला रोक्न ध्यानाकर्षण गराएको उल्लेख गरे ।

नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्राण्डका तीन हजार डिजाइनका जुत्ता राखिने बताइएको मेलामा ग्राहकको सुविधाका लागि १५ देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएको मेला आयोजकले बताएका थिए ।

दशैसम्म सञ्चालन हुने मेलामा ३५ हजार जोड जुत्ता चप्पल बिक्री वितरण हुने र करिब पाँच करोड बरावर लक्ष्यसहित मेला आयोजना गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर