सरकारले लगानीको वातावरण निर्माण गर्छ, ढुक्क भएर लगानी गर्नुहोस् : मुख्यमन्त्री आचार्य – Nepal Press

सरकारले लगानीको वातावरण निर्माण गर्छ, ढुक्क भएर लगानी गर्नुहोस् : मुख्यमन्त्री आचार्य

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि सरकारले लगानीको वातावरण निर्माण गर्ने बताएका छन् ।

एनआरएन एनसीसी अमेरिकाले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशको विकासको आधार, कृषि, पर्यटन, उद्योग लगायतका क्षेत्र रहेको बताउँदै स्वदेशी तथा विदेशी दातृ निकायहरूलाई ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

‘सरकारले लगानीको वातावरण बनाउँछ । यहाँहरूले ढुक्क भएर कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रको विकासको लागि लगानी गर्न सक्नुहुन्छ’, उनले भने, ‘लुम्बिनी प्रदेश पर्यटनको दृष्टिकोणले उर्वर र महत्त्वपूर्ण छ । लुम्बिनी सर्किटसँगै यहाँको हिमाल, पहाड, तराई अनि राष्ट्रिय निकुञ्जले पर्यटकहरूलाई आकर्षित गर्दछ । यहाँको समग्र प्रचारप्रसारको लागि कार्यक्रम बनाउँछौँ ।’

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्न संघीय सरकारसँग पहल गरिएको र त्यसको नतिजा केही दिनभित्र प्राप्त हुने उनले जानकारी दिए ।

‘संघीय सरकारसँग लुम्बिनीको विमानस्थलबाट उडान सुरु गर्ने बारेमा सकारात्मक पहल भएको छ । विदेशबाट आउने पर्यटकलाई लुम्बिनीमा मात्रै सीमित नगरी प्रदेशका सबै जिल्लामा पुर्‍याउन सकिन्छ’ उनले भने, ‘पर्यटनलाई हरेक क्षेत्रसँग जोड्न सकिन्छ । यसमा सरकारले ध्यान दिन्छ ।’

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेले प्रदेशका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूको भरपुर मात्रामा प्रचारप्रसार हुन नसकेको, वर्तमान सरकारले प्रचारप्रसारको मोडेलमा परिवर्तन गरेर विश्व सामु पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

‘लुम्बिनीका पर्यटकीय गन्तव्य स्थलको प्रचारप्रसारको कमी छ । विश्व बजारमा यसको प्रचारप्रसारलाई व्यापक बनाउन जरुरी छ’ उनले भने, ‘पर्यटनलाई उद्योगको रुपमा विकास गर्न जरुरी छ । १२ जिल्लामा घुम्नका लागि पर्यटनलाई आकर्षित गर्न जरुरी छ । धेरै दिन अडिन सक्ने वातावरण निर्माण गर्नुपर्नेछ ।’

लुम्बिनीको समग्र पर्यटकीय सर्किटलाई पर्यटक माझ पुर्‍याउने बारेमा सरकारले योजना बनाउने उनले बताए ।

देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले लुम्बिनी सर्किटलाई विश्व बजारमा प्रचारप्रसार गर्न नसकिएको बताए । ‘देवदह सांस्कृतिक र सम्पदाको हिसाबले महत्त्वपूर्ण हो । तर, यसलाई विश्व बजारमा चिनाउन सकेका छैनौँ । सांस्कृतिक र ऐतिहासिक रूपमा महत्त्वपूर्ण छ । नेपाल सरकारले ध्यान दिएन । देवदह नगरपालिकाले खयर डाँडाको उत्खनन गरेका छौ । इनार भेटिएको छ । भवनका भगनावेश भेटिएका छन्’ उनले भने, ‘यहाँ देवदह छ । तर, यसको विकास हुन सकेको छैन । रोहिणी नदी छ । नदीको बारेमा संरक्षणमा सोच्न सकिएको छैन । यसलाई पर्यटन नगरको रूपमा विकास गर्न चाहन्छौँ । लगानीको खाँचो छ ।’

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवालीले लुम्बिनीलाई पर्यटकीय हबको रूपमा विकास गर्न धेरै सम्भावना रहेको र त्यसका लागि तीन तहका सरकारको बिचमा सहकार्य हुनुपर्ने बताए ।

‘लुम्बिनीको माटो, पानी विश्व भर प्रसादको रूपमा जान सक्छ । लुम्बिनीको हावा, पानी, जातीय, सांस्कृतिक, धार्मिक विविधता बरदान हो’ उनले भने, ‘आर्थिक, सामाजिक रूपान्तरणको लागि पर्यटनलाई प्राथमिकता राख्नुपर्छ ।’

बुद्ध परिपथ क्षेत्रको विकासबाट समग्र लुम्बिनीको विकास गर्न सकिने आधार रहेको उनले स्पष्ट पारे ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकको बसाइँ लम्ब्याउने गरी सरकारी र निजी क्षेत्रबाट योजना बनाउनुपर्ने, लुम्बिनी चक्रपथ र धार्मिक चक्रपथलाईसँगै लग्नुपर्ने बारेमा निजी क्षेत्र सहकार्य गर्न तयार रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर