अमेरिका, क्यानडादेखि पाकिस्तानसम्म नेपाली बैंकहरूको पैसा – Nepal Press

अमेरिका, क्यानडादेखि पाकिस्तानसम्म नेपाली बैंकहरूको पैसा

ग्लोबल आईएमईको सबैभन्दा धेरै, अरुको कति ?

काठमाडौं । नेपाली बैंकले विदेशी बैंकहरूमा खाता खोलेर निक्षेप राख्ने गरेका छन् । सामान्यतया बैंकको काम भनेको निक्षेप संकलन गरी ऋण प्रवाह गर्नु हो । आखिर बैंकहरूले किन विदेशी बैंकमा राख्छन् सर्वसाधारणबाट उठाएको पैसा ?

नेपालका बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा २९ अर्ब २ करोड ७० लाख रूपैयाँ विदेशी बैंकमा राखेका छन् । यसमा वाणिज्य बैंकको मात्र २९ अर्ब २ करोड ६० लाख रूपैयाँ विदेशी बैंकमा रहेको छ । ‘क’ वर्गका २० वटै वाणिज्य बैंकले विदेशी बैंकमा पैसा राखेका छन् ।

‘ख’ वर्गको विकास बैंकमध्ये सांग्रिला डेभलपमेन्ट बैंकले मात्र विदेशी बैंकमा पैसा राखेको नेपाल राष्ट्र बैंकले जनाएको छ । फाइनान्स कम्पनीको पैसा भने विदेशी बैंकमा छैन ।

अघिल्लो वर्ष वाणिज्य बैंकहरूले ४६ अर्ब ४६ करोड ३० लाख रूपैयाँ विदेशी बैंकमा राखेका थिए । यस पटक विदेशी बैंकमा रहेको नेपाली बैंकहरूको नगद ह्वात्तै घटेको छ ।

अमेरिका, युरोप, क्यानडा, पाकिस्तान, भारतलगायतका देशमा नेपालका बैंकहरूले पैसा राख्ने गरेको पूर्वबैंकर भुवन दाहाल बताउँछन् ।

दाहालका अनुसार बैंकहरूले निक्षेप उठाएर स्वदेशमै कर्जा प्रवाहमा जोड दिने र बाँकी रहेको रकममात्र विदेशी बैंकमा राख्ने गरेका छन् । तिनीहरूले विशेषगरी विदेशका निजी र सरकारी बैंकमा पैसा राख्ने गरेका छन् । नेपालका बैंकहरूको पहुँच विदेशी केन्द्रीय बैंकसम्म नहुने दाहाल बताउँछन् ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले आयातका लागि एलसी (प्रतीतपत्र) खोलिने भएकाले त्यसको सेटलमेन्ट (भुक्तानी) को लागि विदेशी बैंकमा पैसा राख्ने गरिएको बताए ।

पोखरेलका अनुसार एलसी सेटलमेन्ट र राम्रो ब्याज आम्दानी हुने कारण नेपाली बैंकहरूले विदेशी बैंकमा पैसा जम्मा गर्ने गरेका छन् ।

उनी भन्छन्, ‘रेमिट्यान्स बढेको र तरलता बढी भएको बेला विदेशी बैंकमा जम्मा गर्ने रकम पनि बढ्ने गरेको छ । नेपालमा तरलता अभाव भएको बेला विदेशी मुद्रालाई नेपाली बनाएर नेपालीलाई नै ऋण दिँदा फाइदा हुन्थ्यो । तरलता बढी भएपछि कि राष्ट्र बैंकमा राख्नुपर्‍यो कि त विदेशी बैंकमा । बैंकहरू आफैंले राखे भने घाटा हुन्छ ।’

विदेशी बैंकमा सबैभन्दा बढी बचत ग्लोबल आईएमई बैंकको छ । उसको ३ अर्ब ८६ करोड ८० लाख रूपैयाँ बचत छ । दोस्रोमा हिमालयन बैंकको २ अर्ब ९१ करोड ९० लाख रूपैयाँ बचत रहेको छ ।

‘क’ वर्गका वाणिज्य बैंकहरूको १७ खर्ब ४५ अर्ब ४६ करोड २० लाख रूपैयाँ तरल सम्पत्ति रहेको देखिन्छ । यो भनेको ती बैंकहरूले नेपाल राष्ट्र बैंकमा जम्मा गरेको रकम (विदेशी तथा स्वदेशी मुद्रा), नेपालकै विभिन्न वाणिज्य बैंकमा राखिएको रकम, विदेशी बैंकमा राखिएको रकम र बैंकहरूले अर्को बैंकलाई छोटो समयको लागि दिएको सापटीसहितको रकम हो ।

विदेशमा कुन बैंकको कति छ रकम ?

नेपालका वाणिज्य बैंकहरूको हालको चुक्ता पुँजी ३ खर्ब ७९ अर्ब २ करोड रूपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर