विष्णु माझीको शानः औसत गीतमा पनि भ्यूजको कीर्तिमान – Nepal Press

विष्णु माझीको शानः औसत गीतमा पनि भ्यूजको कीर्तिमान

काठमाडौं । हरेक वर्ष जब तीज नजिकिन्छ, नेपाली सांगीतक दुनियाँमा पर्खाइ हुन्छ गायिका विष्णु माझीको । वर्षभरि गुमनाम रहने उनी तीजमा एकाएक चर्चामा आउँछिन् र सामाजिक सञ्जालमा छाउँछिन् ।
यो बर्ष पनि पृथक रहेन । बरु यसपाली उनको गीतको बढी नै व्यग्र प्रतिक्षा किन थियो भने ‘तीज गीत’ का नाममा उछृंखलताको व्यापारले दर्शक/श्रोता हैरान थिए । शान्तीश्री परियारजस्ती शालिन छविकी गायिकामाथि समेत उच्छृंखल गीत गाएको आरोप लाग्यो । त्यसैले ठेट तीज गीतका लागि धेरै संगीतपारखीहरूले विष्णुको प्रतीक्षा गरिरहेका थिए ।

विष्णु माझीको गीत कहिले आउँछ भन्ने कसैलाई पनि थाहा हुँदैन । अरुले जस्तो उनी गीत आउँदैछ भनेर एक महिनदेखि सामाजिक सञ्जालमा डंका पिट्दिनन् । तामझामको कार्यक्रम गरेर गीत रिलिज पनि गरिँदैन । सिधै युट्यूवमा अपलोड हुन्छ । अपलोड भएपछि मात्रै हल्ला हुने हो । गीतलाई डलर तिरेर बुस्ट पनि गरिँदैन ।

यो पनि पढ्नुस्- चरी जेलैमा: परिवन्द होइन राजीखुशीले !

यसपाली तीज आउनुभन्दा १३ दिन अगाडि मात्रै विष्णु माझीको आवाजमा ‘आइन आमा यो तीजमा…’ बोलको तीजगीत रिलिज भएको छ । रिलिज भएको २४ घन्टाभित्रै गीतले १५ लाख भ्यूजसहित विष्फोटक ओपनिङ गर्‍यो । छोटो अवधिमा सर्वाधिक भ्यूज पाउने नेपाली गीतको कीर्तिमानसमेत विष्णुले बनाएकी छन् । यो समाचार लेख्दासम्म गीतमा करिब १८ लाख भ्यूज र १५ हजारभन्दा बढी कमेन्ट छन् । १ लाख ३३ हजारले लाइक बटन थिचेका छन् ।

यो गीतलाई विष्णुका पति सुन्दरमणि अधिकारीले रचना र संगीत गरेका हुन् । विष्णुले प्रायः आफ्नै श्रीमानका गीतहरू नै गाउने गर्छिन् । सुन्दरमणिले नै सञ्चालन गरेको सपना म्युजिक इन्डष्ट्रीज प्रालिले विष्णुका गीतहरु उत्पादन गर्छ । सपना म्युजिकको च्यानलबाटै गीत अपलोड हुन्छ ।

यसपालिको तीज गीत ‘आइन आमा…’ कस्तो छ त ?

पक्कै पनि यो एउटा ‘टिपिकल’ तीज गीत हो, जसका शब्दहरूले तीजको मर्मलाई बोकेको छ । श्रीमानले सौता हालेर रनाहमा परेकी एक चेलीको कथालाई गीत र भिडिओमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको छ । तर, भन्नैपर्ने हुन्छ कि सुन्दरमणि र विष्णुको जोडीले ‘पुरानो बोतलमा नयाँ मदिरा’ बेचेका छन् ।

गीतका शब्दहरू एकदमै परम्परागत छन्, जुन अहिलेको समय परिस्थितिसँग मेल नखान सक्छन् । अहिलेका महिलाहरू गीतमा देखाइएजस्ता असहाय र निरीह हुँदैनन् । गीतको मेलोडीमा पनि नयाँपन छैन । विष्णु माझीको आवाजले केही हदसम्म धानेको छ गीतलाई ।

भिडिओ र कोरियोग्राफी पनि पुरानै ढर्रामा छ । कोरियोग्राफी त वाक्कलाग्दो नै छ । सुरूदेखि अन्त्यसम्म एउटै सेट, एउटै कोरसमा उस्तै डान्स स्टेपहरू छन् । नवीनताको कुनै पनि प्रयास भएको छैन । गीतको हुकलाइन ‘आइन आमा ओइ यो तीजैमा…’ अनगिन्तिपटक दोहोरिएर भिडिओ अनावश्यकरुपमा लामो भएको छ ।

२०७८ सालको तीजमा विष्णुको ‘चरी जेलैमा..’ गीत उत्पात लोकप्रिय भएको थियो । अहिलेसम्म यो गीतको भ्यूज युट्यूवमा ५ करोड नाघिसकेको छ । तर, त्यसपछिका दुई वर्ष विष्णुका तीज गीतले ‘चरी जेलैमा’ को उचाई छुन सकेनन् । २०८० सालमा उनले ‘चरी जेलैमा २’ गाइन् । यो गीतलाई औसत सफलता मिल्यो । गीतले जेनतेन करोड भ्यूज पार गरेको छ ।

गत वर्ष विष्णुले गाएको तीज गीत थियो- बलमा । यो गीतले त्यति धेरै चर्चा पाउन सकेन । अहिलेसम्म एक वर्षमा गीतको भ्यूज ८१ लाख देखिन्छ । अरुका लागि त यो राम्रै अंक हो । तर, ‘विष्णु माझीको तीज गीत’ का लागि उति सन्तोषजक होइन ।

यसपालिको तीज गीतमा भने विष्णुले भ्यूजको आँधी नै सिर्जना गरिन् । २४ घन्टाभित्र १५ लाख भ्यून संसारकै धेरै जनसंख्या भएको देश भारतमा पनि राम्रो मानिन्छ । तर, यो रफ्तार कायम रहनेमा शंका छ । यो समाचार लेख्दासम्म गीत युट्यूवको ट्रेन्डिङमा आएको छैन । नआउनुको एउटा कारण भनेको गीतको भिडिओमा दर्शक धेरैबेर नअडिनु पनि हुन सक्छ । एउटा अडियन्सले गीतमा क्लीक गर्नासाथ भ्यूजमा काउन्ट हुन्छ । तर, केही सेकेन्डमै बाहिरियो भने गीतको माइलेज बलियो हुँदैन । यसको प्रभाव ट्रेन्डिङदेखि मोनिटाइजेसनसम्म पर्छ ।

खासमा सुन्दरमणिलाई ‘चरी जेलैमा..’ को धङधङीले अहिलेसम्म छोडेको छैन । ‘चरी जेलै’ मा पछि उनले ल्याएका तीनवटै गीतहरू त्यही ढर्रामा छन् । गीतमा नाच्ने मोडल पनि एउटै (ललिता पौडेल) हुँदा दर्शकलाई मोनोटोनस हुने अवस्था आएको छ । अहिलेको गीतको भिडिओमा चर्चित मोडल ललना चिमोरिया पनि छिन्, तर, उनलाई केवल एक झलक देखाइएको छ । डान्स र भिडिओमा उनलाई बढी प्रयोग गरेको भए भिडिओ थप समृद्ध बन्न सक्थ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर