देउवा र ओलीसँग मन्त्रालय नफुटाउने कुरा भइसकेको छ : मुख्यमन्त्री कार्की (भिडिओ) – Nepal Press

देउवा र ओलीसँग मन्त्रालय नफुटाउने कुरा भइसकेको छ : मुख्यमन्त्री कार्की (भिडिओ)

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा मन्त्रालय नबढाउने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकार विस्तार गर्दा मन्त्रालय नबढाउने बताए ।

काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अघि मन्त्रालय नफुटाउने भनेर कुरा गरिसकेको जानकारी दिँदै प्रदेशस्तरमा पनि काँग्रेसका नेताहरुसँगपनि मन्त्रालय नफुटाउने कुराकानी भएको बताए ।

उनले भने –‘हामी मन्त्रालय बढाउँदैनौँ, अहिले भएकै मन्त्रालयमा मुख्यमन्त्रीसहित एमालेले ५ र काँग्रेसले ४ मन्त्रालय लिन्छ ।’ मुख्यमन्त्री कार्कीले एक दुई दिनभित्रैमा मन्त्रिपरिषद बिस्तार हुने जानकारी दिए । काँग्रेसले नाम दिने बित्तिकै मन्त्रिपरिषद बिस्तार हुने मुख्यमन्त्री कार्कीले बताए ।

यस अघि नेपाली कांग्रेसले कोशी प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रालयको सङ्ख्या ११ पुर्‍याउन प्रस्ताव गरेको थियो । मन्त्री प्रदेश सभा सदस्यको सङ्ख्या धेरै भएका कारण सरकार सहभागी हुन नसकेको नेपाली कांग्रेसले मन्त्रालय फुटाएर मन्त्रालयको सङ्ख्या ११ बनाउन एमाले समक्ष प्रस्ताव गरेको हो ।

कांग्रेसले प्रस्ताव गरे पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की भने मन्त्रालय फुटाएर सङ्ख्या बढाउने विषयमा सहमत भएका छैनन् । मुख्यमन्त्री मन्त्रालयको सङ्ख्याका बढाउन सहमत नभएपछि पार्टी सभापति शेरबहादुर देउवा मार्फत कांग्रेसले दवाब बढाएको छ ।

पार्टी सभापति देउवाले नै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग मन्त्रालय थप गर्ने विषयमा छलफल गरिरहेको नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए । उनले भने मन्त्रालयको सङ्ख्या बढाउने विषयमा प्रदेशमा पनि छलफल भइरहेको छ केन्द्रमा पनि छलफल भइरहेको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की पहिलो पल्टा मुख्यमन्त्री भएसँगै मन्त्रालयको सङ्ख्या घटाएर ९ बनाउने निर्णय गरेका थिए । तत्कालीन मुख्यमन्त्री राजेन्द्र राई नेतृत्वको सरकारले बढाएर कोशीमा मन्त्रालयको सङ्ख्या १३ पुर्‍याएको थियो ।

१३ वटा मन्त्रालय हुँदा प्रदेशको व्ययभार बढेको भन्दै पुस २९ गते नै मन्त्रालयको सङ्ख्या घटाउने पहिलो निर्णय गरेका थिए । आफैले गरेको निर्णय उल्टाउन मुख्यमन्त्री कार्की नमानेपछि काँग्रेसले केन्द्रबाटै दबाब बढाउन थालेको छ ।

काँग्रेस संसदीय दलका नेता थापाले कोशी प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाउनु पर्ने आफूहरूको प्रस्ताव भएको बताए । उनले भने मन्त्रालयको सङ्ख्या कम भएका कारण प्रदेशले काम गर्न सकिरहेको छैन । मन्त्रालयको सङ्ख्या बढाउनु अहिलेको आवश्यकता हो।

उनले का‍ंग्रेसलाई भाग नपुगेकाले नभइ आवश्यकता भएकाले बढाउन प्रस्ताव गरिएको बताए । उनले भने,’ अहिले भौतिक पूर्वाधार मन्त्रालयसँग प्रदेशका आधा बजेट छ । यही मन्त्रालयमा सहरी विकास पनि छ , यो मिल्दो कुरा भएन । आन्तरिक र कानुन मन्त्रालयको पनि हाल उही छ यो पनि मिलेन ।’

उनले मन्त्रालयको सङ्ख्या घटाउँदा नै विवेक नपुर्‍याएको बताए । उनले भने हामीलाई मन्त्री छान्ने समस्या भइर नभएइ अवस्था नै त्यस्तो भएर मन्त्रालयको सङ्ख्या बढाउन प्रस्ताव गरेको बताए ।

उनले प्रदेश सभाको बैठक १४ गते बोलाएकाले १४ गते भन्दा अगाडि काँग्रेस सरकारमा सहभागी हुने थापाले बताए । हामी १४ गते सत्ता पक्षको बेन्चमा बस्छौ । उनले भने त्यो भन्दा अगाडि सबै कुरा मिलिसक्छ । उनले अहिले सम्म मन्त्री कस कसलाई बनाउने भन्नेमा भन्दा पनि मन्त्रालयको सङ्ख्या बढाउनेकी ? राज्यमन्त्रीको सङ्ख्या थप्ने की ? अहिलेकै अवस्थामा सरकारमा जाने भन्ने विषयमा छलफल भइरहेको बताए ।

उनले छलफल टुङ्गिएपछि मन्त्रीको नाम पनि टुङ्गोमा पुग्ने थापाले बताए । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै कोशीमा पनि माओवादी सत्ताबाट बाहिरिएको छ । माओवादी सत्ताबाट बाहिरिए पनि कांग्रेस भने सरकारमा सहभागी हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर