फ्रान्समा पक्राउ, रुस र अमेरिकालाई सकस: के भनेका थिए टेलिग्राम साहुले अन्तर्वार्तामा ? – Nepal Press

फ्रान्समा पक्राउ, रुस र अमेरिकालाई सकस: के भनेका थिए टेलिग्राम साहुले अन्तर्वार्तामा ?

काठमाडौं । शनिबार फ्रान्समा पक्राउ परेका छन् टेलिग्राम नामको सामाजिक सञ्जालका संस्थापक तथा वर्तमान सीईओ पाभेल दुरोभ । उनको पक्राउको विरोध सुरु भएको छ । रुसले आफूले टेलिग्राम बन्द गर्दा विरोध गर्ने ह्युमेन राइट्स वाच, एमनेस्टी इन्टरनेशनल, रिपोर्टस् विदाउट बोर्डर्सलगायतका २८ एनजीओहरुलाई औंला उठाइसकेको छ ।

एक्स (साविकको ट्विटर)का साहु एलन मस्कले पाभेल दुरोभको हिराइको माग गरिसके । अमेरिकी राष्ट्रपतीय चुनावमा सुरुमा रिपब्लिकन पार्टीका उम्मेदवार भएर पछि डोनाल्ड ट्रम्पलाई समर्थन गरेका विवेक रामास्वामीले त एक्सलाई पनि सचेत गराएर भनेका छन्, ‘आज टेलिग्राम, भोलि एक्स !’

चर्चित अमेरिकी पत्रकार टकर कार्ल्सनले पनि पाभेल दुरोभको पक्राउमा चित्त दुःखाएका छन् ।

उनले लेखेका छन्, ‘जब उनको रुस सरकारले उनको सामाजिक सञ्जाल कम्पनी टेलिग्राम नियन्त्रण गर्न खोज्यो, तब पाभेल दुरोभले रुस छोडे, तर अन्त्यमा वाक स्वतन्त्रतामा साथ दिएको नाममा उनलाई पक्राउ गर्ने पुटिन भएनन् । यो त एक पश्चिमा देश भयो । बाइडेन सत्ताको साझेदार भयो र नेटोको जिज्ञासु सदस्य भयो जसले उनलाई थुन्यो ।’

उनै आज सर्वाधिक चर्चामा आएका पात्र पाभेल दुरोभको बारेमा खासै जानकारी सार्वजनिक भएका छैनन् । उनले अन्तर्वार्ता दिएका पनि खासै छैनन्, तर गत अप्रिलमा अमेरिकी पत्रकार टकर कार्ल्सनलाई पाभेलले अन्तर्वार्ता दिएका थिए । पुटिनको अन्तर्वार्तापछि कार्ल्सनले लिएको पाभेलको अन्तर्वार्ता चर्चित भएको थियो ।

यद्यपि पुटिनको अन्तर्वार्ता रुसको मस्कोमा भएको थियो । पाभेल दुरोभको अन्तर्वार्ता चैँ संयुक्त अरब इमिरेट्सको शहर दुबईमा भएको थियो । उनै कार्ल्सनसँग दुरोभले दिएको चार महिना अगाडिको ३६ लाख बढीले युट्युबमा हेरेको अन्तर्वार्तामा बोलेको आधारमा टेलिग्रामका साहुका सवालहरुबारे यो सामग्रीमा चर्चा गरिएको छ ।

सोभियत संघमा जन्म, तर बाल्यकालबाटै पुँजीवादी झुकाव

सन् १९८४ मा तत्कालीन सोभियत संघमा जन्मिएका थिए पावेल । सन् १९९१ को अन्त्यतिर मात्रै विघटन भएको सोभियत संघमै हुँदा उनलाई पुँजीवादी व्यवस्था सही लाग्नुमा उनको इटाली भ्रमण हो । इटाली भ्रमण गरेर त्यहाँका कुराहरु देखेपछि उनलाई लाग्यो- पुँजीवादी व्यवस्था ठीक छ ।

विश्वविद्यालयमै फेसबुक जस्तै सामाजिक सञ्जाल निर्माण

उनी विश्वविद्यालयमा थिए, आफैं कोडिङ गर्ने गर्थे । डिजाइन र सर्भर सबै आफैं हेर्थे । आफैं सबै व्यवस्थापन गर्ने गर्थे । त्यही बेला एक साथीको लागि सामाजिक बन्ने एक वेबसाइट बनाए । त्यो वेबसाइट फेसबुकभन्दा पुरानो थियो । एसपीबीजीयू डट आरयू नामक साइट फेसबुक सन् २००४ मा आउनुभन्दा अगाडि आयो । यो आएपछि साविकको सोभियत संघसँग जोडिएको क्षेत्रमा मात्रै चलेकोले उनलाई धेरैले रुसका जुकरबर्ग भन्ने गर्छन् । उनको पछि भिके भन्ने सामाजिक सञ्जाल नै बन्यो । यसका १० करोडसम्म प्रयोगकर्ता पुगेका थिए ।

टेलिग्राम खोल्नासाथ रुसी अधिकारीबाट तनाव सुरु

सन् २०१३ अगस्त १४ मा आईओएस प्लेटफर्ममा सुरु भएको टेलिग्राम एन्ड्रोइटमा भने अक्टोबर २० मा सुरु भएको थियो । यो सुरु हुनासाथ रुस सरकारले चासो दियो । कारण थियो- विपक्षी दलका नेताहरुले संगठनहरुले यो प्लेटर्फमलाई प्रयोग गरेर सरकारविरोधी गतिविधिहरु गरिरहेका थिए । त्यही कारण रुसमा बस्न सहज भएन पाभेल दुरोभलाई । फलस्वरुप उनी सन् २०१४ मा रुस छोडेर बाहिर गए । सन् २०१८ मा त टेलिग्राम रुसले प्रतिबन्ध गर्‍यो, तर सन् २०२० मा फेरि प्रतिबन्ध खुला गराएको घोषणा गर्‍यो ।

टि्वटर अफिसबाट होटल फर्कंदा कुटपिट, डेटा मागेर अमेरिकी अधिकारीबाट हैरानी

रुसको सेन्ट पिटर्सबर्गमा मुख्यालय भएको टेलिग्रामलाई विश्वका विभिन्न राजधानीमा राख्न सकिनेबारेमा पाभेल दुरोभले योजना बनाए । त्यसको लागि उनले जर्मनीको बर्लिन, बेलायतको लन्डन, सिंगापुर, सनफ्रान्सिस्कोमा कार्यालय राख्न खोजे । कतै कर्मचारीतन्त्रको लफडा त कतै सुरक्षा खतरा !

कर्मचारीतन्त्रको एक समस्याबारेमा दुरोभले अन्तर्वार्तामा भनेका छन्, ‘मलाई विश्वका उत्कृष्ट कर्मचारी चाहिन्छ, तर जर्मनीमा स्थानीय कम्पनीबाट त्यस्ता मान्छे भर्ना गर्न खोज्दा युरोपेली संघभन्दा बाहिरका पाइन्न भन्ने सर्त राखियो ।’

सनफ्रान्सिस्कोमा त उनलाई व्यक्तिगत हमला नै भयो । उनले त्यो घटनाबारेमा भनेका छन्, ‘टि्वटरको अफिसबाट आउँदा मलाई कुटपिट भयो । राति ८ बजे म मेरो होटलतर्फ हिँड्दै थिएँ । मलाई आक्रमण भएको यो (अमेरिका) नै एकमात्रै देश हो ।’

त्यत्तिमात्रै होइन, उनले काम गराएका अमेरिकी इन्जिनियरलाई अमेरिकी सरकारले चोर बाटोबाट भर्ना गरेर सूचना चुहाउन खोजेको पनि आफूले पाएकोले अमेरिका असुरक्षित भएको उनले भनेका छन् । आफूलाई आफ्ना इन्जिनियरले भनेपछि मात्रै थाहा भएको उनले बताएका छन् । टेलिग्राममा प्रयोग भएका डेटाहरु लिन अमेरिका वा अरु देशले त्यस्तो गर्न खोज्ने उनको बुझाइ छ ।

यत्तिमात्रै होइन, उनलाई अमेरिकामा एक दिन बिहान ९ बजे एफबीआई आएर केरकार गर्‍यो । टेलिग्रामबारेमा सोधे । टेलिग्रामलाई नियन्त्रण गर्न खोज्नेगरी केरकार गरियो ।

यी र यस्ता सबै सकसका कुरा छोडेर उनी संयुक्त अरब इमिरेट्सको शहर दुबईमा आए । दुबईमा आएर मुख्यालय खोले । दुबईको सुरक्षा र तटस्थताको कारण नै आफूले मुख्यालय यहाँ खोलेको उनी बताउँछन् ।

टेलिग्राम : ३० इन्जिनियरले चलाउँछन् ९० करोड बढी प्रयोगकर्ताको सञ्जाल

टेलिग्राम लोकप्रिय छ । ९० करोड बढी प्रयोगकर्ता छन् । इन्जिनियरहरु भने ३० जना हाराहारी भएको उनी बताउँछन् । यसो हुनुमा उत्कृृृष्ट कर्मचारी, तर टेलिग्रामको मानव संसाधन विभाग छैन । मात्रै त्यहाँ उत्कृष्ट कर्मचारीहरु ल्याइन्छन् । कर्मचारीमा पनि प्रतिस्पर्धालाई प्राथमिकता । प्रयोगकर्तामैत्री उत्कृष्ट उत्पादन भएको उनी बताउँछन् । यही भएर टेलिग्रामले अरु सामाजिक सञ्जाल तथा एपहरु जस्तो अरुको प्लेटफर्ममा विज्ञापन र अकाउन्ट नखोल्ने उनी बताउँछन् ।

विज्ञापनमा एक सुको खर्च गरिएको छैन । राम्रो कुरा भएमा प्रयोगकर्ताकै विज्ञापनले चल्ने उनको बुझाइ छ । टेलिग्रामले सबैलाई आफ्ना कुरा राख्न स्थान दिने भन्दै उनले आतंकवादलाई भने स्थान नहुने बताउँछन् ।

एलन मस्कले ट्विटर किन्नु सामाजिक सञ्जाललाई सुन्दर कुरा

सामाजिक सञ्जालमा शंकाको कुरै गर्न नपाउने, प्रश्न गर्नै नपाउने कुरामा पाभेल दुरोभलाई मनपरेको छैन । खासगरी फेसबुक तथा ट्विटरहरुले कोभिडको समयमा मान्छेलाई शंकासम्म गर्न नदिएकोमा उनलाई राम्रो लागेको छैन, तर एलन मस्कले ट्विटर किनेर एक्स बनाएपछि उनी आशावादी छन् ।

उनी भन्छन्, ‘अहिले ट्विटर वा एक्स धेरै वाक स्वतन्त्रता पक्षधर बन्दै गएको छ । यो भव्य विकास हो । अहिले कुराहरु परिवर्तन भइरहेका छन् । हामी यो तथ्यलाई माया गर्छौं कि एलनले ट्विटर किने । हामीले सोच्यौं कि यो धेरै कुराको कारणले राम्रो विकास थियो । पहिलो कारण नवप्रवर्तन । एक्सले धेरै थोक गर्न खोजिरहेको देखिन्छ । केही गल्तीहरु हुनेछन् । केहीले काम गर्नेछन्, तर कम्तीमा उनीहरु नवप्रवर्तन गर्न प्रयत्नशील छन् । यो यस्तो कुरा हो, जुन कुरा पछिल्लो दशकमा पहिले टेलिग्राम र अरु केही कम्पनीहरुभन्दा बाहिर थिएन, तर एक्सले केही नयाँ गर्न खोजिरहेको छ । उनीहरु फरकफरक कुरा गर्न खोजिरहेका छन् । उनीहरुले सर्जकलाई शक्ति दिइरहेका छन् । अर्थतन्त्रको चक्रलाई राम्रो बनाउन खोजिरहेका छन् । यी सबै उत्साहजनक कुरा हुन् र मलाई लाग्छ, हामीलाई यस्ता अरु धेरै कम्पनी चाहिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर