योजना अलपत्र नपार्न निर्माण व्यवसायीलाई मुख्यमन्त्री कँडेलको निर्देशन – Nepal Press

योजना अलपत्र नपार्न निर्माण व्यवसायीलाई मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले समयमा योजना सम्पन्न नगर्ने निर्माण व्यवसायीहरुको भेला बोलाएर उनीहरुका समस्याबारे जानकारी लिएका छन् ।

प्रदेश सरकारको बजेटबाट विभिन्न आयोजनाहरुको ठेक्का लिने तर समयमा काम सम्पन्न नगर्ने प्रवृति बढेपछि मुख्यमन्त्री कँडेलले समयमा काम नहुनुको कारण निर्माण व्यवसायीबाट सुन्ने उदेश्यले आइतबार भेला बोलाएका हुन ।

भेलामा मुख्यमन्त्री कँडेलले समस्या नभएका ठाँउमा पनि समस्या देखाएर विकासका कामहरु रोक्ने प्रवृतिलाई अब सरकारले निरुत्साहित गर्ने बताए । उनले भने, ‘जहाँ समस्या छ त्यहाँ सरकारको तर्फवाट सहजीकरण हुन्छ तर समस्या नै नभएका ठाँउमा पनि समस्या देखाएर योजना अलपत्र पार्ने काम नगरिदिनुस् ।’

राजनीतिक नेतृत्वको हुटहुटीले मात्र विकास र समृद्धि पुरा नहुने भएकाले समृद्धिको हिस्सेदार निर्माण व्यवसायी पनि भएको मुख्यमन्त्री कँडेलले बताए । आयोजना निर्माणमा बजेटको कमी नहुने बताउदै मुख्यमन्त्री कँडेलले सरकारको खातामा रकम हुने तर आयोजना अलपत्र पर्ने अवस्थालाई सुधार्ने बाटोमा हिडन आफनो अधिकतम प्रयास रहने बताए ।

आफूले सरकारको नेतृत्व सम्हालेपछि निर्माण व्यवसायका जायज मागका सम्बन्धमा विशेष ध्यान दिएको बताउदै मुख्यमन्त्री कडेलले गुणस्तर र समयमै काम सम्पन्न गर्ने व्यवसायीलाई मन्त्रालयका तर्फवाट हरसम्भव सहजीकरण गर्न निर्देशन दिए ।

निर्माण व्यवसायीको तर्फवाट निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेश महासचिव मानव बमले वर्तमान सरकारले नेतृत्व लिएदेखी विकास निर्माणको विषयमा सकारात्मक सन्देश प्रवाह भएको र त्यसले निर्माण व्यवसायीलाई पनि उत्प्रेरित गरेको बताए ।

उनले विगतमा कतिपय अवस्थामा साइड क्लियर नभएर तथा समयमा भुक्तानी नपाएर कतिपय योजना समयमा सम्पन्न नभएको बताउँर्दै सरकारले व्यवसायीका समस्या सुन्ने र समस्या समाधान गर्ने यस्तो अभ्यासले आफूहरुलाई पनि समयमा काम गर्न बाध्य हुने बताए ।

कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालय कर्णाली प्रदेश सचिव विष्णु भण्डारीले कर्णाली ३३ वटा बहुबर्षिय आयोजनाको काम सन्तोष जनक अवस्था नरहेको जानकारी गराएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर