सामाजिक सुरक्षा छ, स्वास्थोपचारको तनाव छैन ! – Nepal Press
ब्लग

सामाजिक सुरक्षा छ, स्वास्थोपचारको तनाव छैन !

गएको बैशाख १५ गते म मोटरसाइकल दुर्घटनामा परें । केएमसी अस्पतालमा शल्यक्रियापश्चात् ३३-३४ घण्टापछि होसमा आएँ । टाउकोको दुई पटक जटिल शल्यक्रिया गरिएको थियो । दैनिक १९ हजार रुपैयाँसम्मको एन्टिबायोटिक प्रयोग गरें । ७६ दिन अस्पतालमा बसें ।

यति लामो अस्पताल बसाइ आफैंमा अत्यासलाग्दो थियो । झनै न्युरोका बिरामीहरुको हालत र अवस्थामात्रै हेरिरहनु पर्ने अवस्था थियो । प्रायः अधिकांश बिरामी मानसिक रुपमा ठीक थिएनन् । म शारीरिक रुपले त बिरामी थिएँ नै, सँगै न्युरो सर्जरी वार्डको हालत देखेर मानसिक रुपले पनि उस्तै विक्षिप्त थिएँ । एकातिर न्युरो सर्जरी वार्डको त्यस्तो हालत थियो, अर्कातिर अँध्यारो भविष्यको चिन्ता ! भोलि के हुने हो, यकिनका साथ भन्न सकिने अवस्था थिएन ।

तर आर्थिक रुपले भने एक हिसाबले सुरक्षित रहें । म आबद्ध संस्था नेपालप्रेस डटकम सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुले मलाई निकै ठूलो भरथेग मिल्यो । कोषले सात लाख रुपैयाँको व्ययभार बहन गरिदियो । यसले मलाई ठूलो राहत नै प्रदान गर्‍यो । हुन त कोषले व्यहोरेको सात लाखपछि पनि झण्डै यति नै मात्रामा मेरो खर्च भयो । कोषको सात लाख सकिएपछिका बाँकी खर्चहरुमा केही साथीभाइ, शुभचिन्तकको पनि भूमिका रह्यो । त्यसैले म बाँचेर आएँ ।

सुरुवातमा मैले सामाजिक सुरक्षा कोषलाई उति गम्भीर रूपमा लिएको थिइनँ । कार्यालयले आफ्ना कर्मचारीलाई कोषमा आवद्ध गरेर मासिक रुपमा पाउने पारिश्रमिकको निश्चित प्रतिशत जम्मा गरिदिन्छ र त्यसवापत कोषले कर्मचारीलाई औषधोपचारमा छुट दिलाउँछ भन्नेसम्म मात्र बुझेको थिएँ । यो सामान्य नै होला भन्ने लागेको थियो, तर जब गम्भीर बिरामी भएर अस्पताल पुगें । अनि लाग्यो, कोषको योगदान सामान्य होइन रहेछ । थप बुझ्दै जाँदा थाहा पाएँ कि बिरामीलाई मात्रै होइन, कोषमा आबद्ध हरेकलाई नै धेरै सुविधा रहेछन् ।

संविधानको धारा ३४ को उपधारा २ मा प्रत्येक श्रमिकलाइ उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था बमाेजिम राज्यद्वारा यो कोष स्थापना भएको हो । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ मा टेकेर स्थापना भएको यस कोषको एकै उद्देश्य छ- नागरिकको सुरक्षाको हक सुनिश्चित गर्ने, उनीहरुको आर्थिक तथा सामाजिक जोखिम न्यूनीकरण गर्ने ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो पोल पोलमा टाँगेर नयाँ युगको शुरुआतका विज्ञापन देख्दाखेरीको आलोचकमध्ये म पनि एक थिएँ । तर अहिले आएर आफैं त्यसको एउटा लाभग्राही बनेर यो ब्लग लेखिरहँदा साँच्चिकै त्यो दिन अर्थात २०७५ मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा शुरु भएको दिन नयाँ युगकै शुरुआत रहेछ । सामाजिक सुरक्षा र समाजवाद एक अर्काका परिपूरक समेत भएकाले यसलाई अझ सहज,सुलभ र सबल बनाउँदै लैजानुपर्छ ।

सुरुवातमा मैले सामाजिक सुरक्षा कोषलाई उति गम्भीर रूपमा लिएको थिइनँ । कार्यालयले आफ्ना कर्मचारीलाई कोषमा आवद्ध गरेर मासिक रुपमा पाउने पारिश्रमिकको निश्चित प्रतिशत जम्मा गरिदिन्छ र त्यसवापत कोषले कर्मचारीलाई औषधोपचारमा छुट दिलाउँछ भन्नेसम्म मात्र बुझेको थिएँ ।

कोषमा निजी, औपचारिक, अनौपचारिक तथा स्वरोजगारमा रहेका व्यक्ति आवद्ध हुन सक्छन् । सरकारी कर्मचारीले जसरी पेन्सनको सुविधा पाउनेमात्रै नभएर उनीहरुलाई भन्दा राम्रो सुविधा दिन सरकारले यो कोष सञ्चालनमा ल्याएको थियो । धेरैलाई थाहा नहुनसक्छ, कोषमा कसरी आबद्ध हुने ? कोषले दिने सुविधा के के हुन् ? आउनुस्, छलफल गरौं ।

श्रीमान्‌लाई पनि सुत्केरी स्याहार भत्ता

मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता महिला गर्भवती हुँदा कोषले आर्थिक रूपमा संरक्षण गर्छ । निजले ३८ दिनको न्यूनतम तलब पाउनुका साथै सम्पूर्ण उपचारमा ८० प्रतिशत छुट पाउनेछिन् । ३८ दिनको तलब चाहिँ यसकारण भनिएको हो कि सुत्केरी महिलाले ९८ दिन बिदा पाउँछिन् । उक्त बिदामा ६० दिन कटाएर बाँकी ३८ दिनको तलब सुविधा कोषले निजको बैंक खातामा हालिदिन्छ । यसबीच निज कार्यरत कम्पनीले पनि निरन्तर तलब हाल्नुपर्ने कानूनी व्यवस्था छ । यस हिसाबले कोषमा आबद्ध योगदानकर्ता महिलाले ३८ दिनको छुट्टै तलब पनि पाउने भयो ।

यस्तै सुत्केरी स्याहार भत्ताबापत योगदानकर्ता पुरुषलाई १७ हजार रुपैयाँ बेग्लै प्राप्त हुन्छ । मानौं कोही योगदानकर्ता पुरुषकी श्रीमती सुत्केरी भइन् । अब कोषले निज पुरुषलाई सुत्केरी स्याहार भत्ता उसको बैंक खातामा हालिदिन्छ । यतिमात्रै होइन, निजको श्रीमती कोषमा नभए पनि सुविधा श्रीमतीले पनि पाउँछिन् ।

योगदानकर्ता पुरुषकी श्रीमतीलाई गर्भावस्थादेखि सुत्केरी भएपछिको तीन महिनासम्मको सम्पूर्ण उपचारको ८० प्रतिशत खर्च कोषले व्यहोरिदिन्छ । कोषले तोकेका अस्पतालमा बच्चाको समेत तीन महिनाको उपचारमा ८० प्रतिशत छुट हुन्छ । यदि जुम्ल्याहा बच्चा भएमा ३४ हजार पाइन्छ । यो भनेको सरकारले तोकेको मजदुरको न्यूनतम पारिश्रमिक बराबरको रकम हो ।

सँगै यदि २४ हप्तासम्मको गर्भपतन भएमा वा बच्चा मरेमा पनि १७ हजार नै कोषले उपलब्ध गराउँछ, तर कानूनविपरीत गर्भपतन गराउँदा भने पाइँदैन । यो सुविधा पाउन योगदानकर्ताले कम्तीमा तीन महिना कोषमा योगदान गरेको हुनुपर्छ । यदि घरमै रहेर चिकित्सकको परामर्श, उपचारलगायत गरेमा पनि बिलबमोजिम कोषले रकम उपलब्ध गराउँछ ।

घातक रोगमा क्षतिपूर्ति १० लाखसम्म, बेरोजगार भएमा तलब तीन महिनासम्म

कोषले घातक रोगहरुको उपचारका लागि पीडितहरुलाई धेरै सुविधा दिएको छ । ओपन हार्ट सर्जरी, मस्तिष्कघात, मृगौला रोग, क्यान्सर, विस्मृति, शरीरका हड्डीमा समस्यालगायत रोगका लागि कोषले एकै पटक वा पटकपटक गरी १० लाख रुपैयाँसम्म उपलब्ध गराउँछ ।

मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता महिला गर्भवती हुँदा कोषले आर्थिक रूपमा संरक्षण गर्छ । निजले ३८ दिनको न्यूनतम तलब पाउनुका साथै सम्पूर्ण उपचारमा ८० प्रतिशत छुट पाउनेछिन् । ३८ दिनको तलब चाहिँ यसकारण भनिएको हो कि सुत्केरी महिलाले ९८ दिन बिदा पाउँछिन् ।

सामान्य चेकअप (ओपीडी)का लागि कोषले २० हजार रुपैयाँसम्मको वार्षिक सुविधा दिएको छ । यदि अस्पताल भर्ना हुने अवस्था आएमा वार्षिक एक लाखसम्म कोषले नै व्यहोर्छ । योगदानकर्ताको नेपालमा उपचार हुन नसकेमा सरकारी मेडिकल बोर्डको सिफारिसमा विदेशको अस्पतालमा भर्ना भई उपचार गरेमा बढीमा सात लाखसम्म कोषले उपलब्ध गराउँछ ।

यदि योगदानकर्ता बिरामी भएर १२ दिनभन्दा लामो अस्पताल बसाइ भएमा वा चिकित्सकको सल्लाहबमोजिम घरमै बसी उपचार गराउनुपर्ने अवस्था आएमा मासिक रुपमा खाइपाइ आएको आधारभूत तलबको ६० प्रतिशत रकम कोषले उपलब्ध गराउँछ ।

रोजगारदाताको व्यवसाय बन्द भएमा वा रोजगारी अन्त्य हुने अवस्था भएमा पनि कोषले तीन महिनासम्म तलब उपलब्ध गराउँछ । उदाहरणका लागि कुनै रोजगारदाताले ‘दुईतीन महिना बिदा बस, त्यतिञ्जेल सक्दैनौं’ भनेमा खाइपाइ आएको तलबको ६० प्रतिशत रकम कोषले योगदानकर्तालाई उपलब्ध गराउँछ ।

कोषले सबै रोगको उपचारमा सहयोग गर्ने भए पनि प्लास्टिक सर्जरी र दाँतको उपचारको खर्च भने व्यहोर्दैन । त्यस्तै शरीरको बोसो निकाल्ने (बारियट्रिक सर्जरी)को पनि खर्च कोषले व्यहोर्दैन, तर अन्य रोगहरुको भने बिल पेश गरेअनुसारको रकम कोषले व्यहोर्छ ।

यदि दुर्घटना भएमा ? यसमा कोषले नै उपचार गरिदिने भयो । योगदानकर्ता कोषमा सूचीकरण भएर पैसा जम्मा हुन थालेको दिनदेखि नै यो लागू हुन्छ, तर योगदान गर्न छाडेमा भने यो सुविधा पाइँदैन । व्यवसायजन्य रोगको उपचार सुविधा भने योगदानकर्ताले योगदान गर्न छाडेको दुई वर्षसम्म पनि पाउँछ । जस्तोः सिलाइकटाइ गर्ने योगदानकर्ताको औंलामा समस्या आयो । यस्तो अवस्थामा योगदान गर्न छाडे पनि दुई वर्षसम्म योगदानकर्ताले सुविधा पाउँछ ।

कोषले सबै रोगको उपचारमा सहयोग गर्ने भए पनि प्लास्टिक सर्जरी र दाँतको उपचारको खर्च भने व्यहोर्दैन । त्यस्तै शरीरको बोसो निकाल्ने (बारियट्रिक सर्जरी)को पनि खर्च कोषले व्यहोर्दैन, तर अन्य रोगहरुको भने बिल पेश गरेअनुसारको रकम कोषले व्यहोर्छ ।

दुर्घटनाको सवालमा व्यवसायजन्य दुर्घटनामा कोषले लागे जति सम्पूर्ण खर्च व्यहोर्छ । यसका लागि सात दिनभित्र कोषलाई सूचना दिनुपर्छ । जस्तो कुनै पनि संस्थामा कार्यरत पत्रकार रिपोर्टिङका क्रममा घाइते भयो वा कुनै कफी सपमा काम गर्ने व्यक्ति कामको सिलसिलामा घाइते भयो । यस्तो अवस्थामा कोषले जति खर्च लागे पनि सम्पूर्ण खर्च व्यहोरिदिन्छ, तर योगदानकर्ता निजी कामको सिलसिलामा दुर्घटनामा पर्‍यो, उसले सात लाखसम्मको उपचार सुविधा पाउँछ । जस्तो मैले पाएँ । यदि म अफिसियल कामका लागि दुर्घटनामा परेको भए उपचार खर्च जति लागे पनि कोषले नै व्यहोरिदिन्थ्यो ।

आकर्षक पेन्सन, परिवारलाई लाभैलाभ

यदि कोषमा आबद्ध योगदानकर्ता केही समय काम गर्न असक्षम भएमा उसले खाइपाइ आएको तलबको ६० प्रतिशत रकम काममा नफर्कंदासम्म पाउँछ । सधैंका लागि काम गर्न नसक्ने भएमा जीवनभर पेन्सन सुविधा पाउँछ । यदि आफैं हिँडडुल गर्न नसकेमा उसलाई हेरचाह गर्ने व्यक्ति वा संस्थाले उक्त पेन्सन रकम पाउँछ । मानौं, म दुर्घटनामा परेपछि यदि केही समय काम गर्न नसक्ने अवस्थामा पुगेको थिएँ भने मैले खाइपाइ आएको तलबको ६० प्रतिशत रकम कोषले नियमित रुपमा काममा नफर्किञ्जेलसम्म उपलब्ध गराउँथ्यो ।

साथै यदि योगदानकर्ताको मृत्यु भएमा उसको पति/पत्नीले तलबको ६० प्रतिशत पेन्सन सुविधा पाउँछ । योगदानकर्ताको छोराछोरीले १८ वर्ष नपुगुञ्जेल शैक्षिक वृत्तिवापत् ४० प्रतिशत पाउँछन् । पति/पत्नीसँगै छोराछोरी पनि भएको सवालमा कोषले पूर्ण तलब नै उपलब्ध गराउँछ । दुईभन्दा बढी छोराछोरी भएमा दामासाहीमा ४० प्रतिशत बाँडिन्छ । यदि छोराछोरी नियमित पढिरहेको छ भने उसले २१ वर्षसम्म यो सुविधा पाउँछ, तर योगदानकर्ताको कुनै छोराछोरी शारीरिक र मानसिक रुपमा काम गर्न असक्षम भएमा उमेर हद लागू हुँदैन । छोराछोरीले नमरुञ्जेलसम्म पाउँछन्, तर योगदानकर्ता विवाहित हैन र आश्रित आमाबुवा छन् भने उनीहरुले पनि ६० प्रतिशत पेन्सन बाँचुञ्जेल पाउँछन् ।

साथै योगदानकर्ता बित्यो भने उसका परिवारका सदस्य वा हकवालाले २५ हजार अन्तिम संस्कार खर्च पाउँछन् र कोषमा भएको सबै रकम फिर्ता पाउँछन् । अनि जीवनभर हकवालाले पेन्सन पाउँछ ।

६० वर्षपछि नियमित पेन्सन, तर कसरी कोषमा आबद्ध हुने ?

कोषमा आबद्ध हुन योगदानकर्ता आफैंले नियमित योगदान गर्नुपर्ने हुन्छ । व्यक्तिगत रुपमा भने योगदान गर्न पाइँदैन । योगदान गर्न सबैभन्दा पहिला योगदानकर्ता आबद्ध संस्था सामाजिक सुरक्षा कोषमा सूचीकरण भएको हुनुपर्‍यो र संस्थाले पहल गरिदिनुपर्‍यो । कोषमा आबद्ध भएपछि भने संस्था छाडेमा योगदानकर्ताले व्यक्तिगत रुपमा पनि योगदान गर्न पाउँछ ।

यदि योगदानकर्ताको मृत्यु भएमा उसको पति/पत्नीले तलबको ६० प्रतिशत पेन्सन सुविधा पाउँछ । योगदानकर्ताको छोराछोरीले १८ वर्ष नपुगुञ्जेल शैक्षिक वृत्तिवापत् ४० प्रतिशत पाउँछन् । पति/पत्नीसँगै छोराछोरी पनि भएको सवालमा कोषले पूर्ण तलब नै उपलब्ध गराउँछ । दुईभन्दा बढी छोराछोरी भएमा दामासाहीमा ४० प्रतिशत बाँडिन्छ ।

कोषमा कसरी रकम जम्मा गर्ने त ? मेरै उदाहरण लिउँ- म आबद्ध संस्था नेपाल प्रेस डटकमले मेरो तलबको १० प्रतिशत काटिदिन्छ । यसमा २० प्रतिशत संस्थाले थपिदिएर कोषमा खुलेको मेरो खातामा जम्मा गरिदिन्छ । यसरी मासिक रुपमा कोषमा पैसा जम्मा हुन्छ ।

अहिले न्यूनतम चाहिँ ३ हजार ३०० सम्म कोषमा योगदानकर्ताले जम्मा गर्न पाउँछ, तर सबैले यति नै रकम जम्मा गर्ने भन्ने हुँदैन । तपाईंको तलबमा निर्भर हुन्छ । जस्तो ५० हजार तलब खाने योगदानकर्ताको ११ प्रतिशत भनेको ५ हजार र अफिसले थप २० प्रतिशत थपिदिँदा १५ हजार मासिक रुपमा जम्मा हुने भयो ।

जम्मा भएको रकममध्ये केही प्रतिशत रकम दुर्घटना, उपचार खर्च कोषमा जान्छ । बाँकी रकम योगदानकर्ताको पेन्सन रकम हो । ६० वर्ष पुगेपछि उसले सरकारी कर्मचारीले जस्तो नियमित पेन्सन पाउँछ । पेन्सनका लागि कोषमा जम्मा भएको कूल रकमलाई १६० ले भाग लगाउँदा जति रकम आउँछ, त्यो रकम योगदानकर्ताले मासिक रुपमा पेन्सनको रुपमा पाउँछ ।

पेन्सन पाउन कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्छ । १५ वर्षपछि जति समय योगदान गरे पनि हुन्छ, तर जति लामो समय योगदान गर्‍यो, योगदानकर्तालाई उति नै फाइदा हुन्छ ।

कोषले दिने सुविधा अर्को पनि छ । मानौं, कुनै संस्था कोषमा आबद्ध छ, तर उक्त संस्थाले कुनै पनि कर्मचारीको योगदान रकम जम्मा गरेको छैन र यही बीचमा उक्त संस्थामा आबद्ध कर्मचारी दुर्घटनामा पर्‍यो, मृत्यु भयो वा बिरामी पर्‍यो भने कोषले व्यहोर्नुपर्ने सबै खर्च सम्बन्धित संस्थाले व्यहोर्नुपर्ने हुन्छ । यसका लागि सम्बन्धित व्यक्तिका परिवारले कोषमा निवेदन वा उजुरी हाल्नुपर्ने हुन्छ । यसपछि मात्रै कोषले सम्पूर्ण खर्च व्यहोर्नु भनेर निर्देशन दिन्छ ।

न्यून ब्याजदरमा ७५ लाखसम्म घर कर्जा, ३५ लाखसम्म शैक्षिक कर्जा

कोषमा जम्मा भएको रकम बीचमा निकाल्न पाइँदैन । यसका लागि ६० वर्ष नै पुग्नुपर्छ, तर सुविधाहरु भने अथाह छन् । कोषमा नियमित योगदान गरेको तीन वर्ष पुगेपछि घर कर्जा, विशेष सापटी, अध्ययन सापटीलगायत सस्तो ब्याजदरमा लिन पाइन्छ ।

धितो मूल्यांकन भएको रकममा नबढ्ने गरी ७५ लाख रुपैयाँसम्म घर कर्जा पाइन्छ वा योगदानकर्ताले १५ वर्षसम्मको योगदान बराबरको रकम ऋण लिन पाउँछ । ऋणको पहिलो किस्ता लिएको अधिकतम २० वर्षभित्र ऋण चुक्ता गर्नुपर्ने हुन्छ, तर योगदानकर्ताले योगदान गर्न छाडेमा भने ६ वर्षभित्र ऋण चुक्ता गर्नुपर्ने हुन्छ ।

पेन्सन पाउन कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्छ । १५ वर्षपछि जति समय योगदान गरे पनि हुन्छ, तर जति लामो समय योगदान गर्‍यो, योगदानकर्तालाई उति नै फाइदा हुन्छ ।

शैक्षिक सापटीको सवालमा योगदानकर्ता आफैं वा उसको पति/पत्नी, छोराछोरीलाई उच्च शिक्षाका लागि स्वदेश वा विदेशका शैक्षिक संस्थामा अध्ययनका लागि ३५ लाखसम्म ऋण पाइन्छ । विशेष सापटीको रुपमा जम्मा भएको रकमको ८० प्रतिशतसम्म ऋण पाइन्छ । जस्तो एक लाख कोषमा जम्मा भएमा योगदानकर्ताले विशेष सापटीस्वरुप ८० हजारसम्म ऋण लिन पाउँछ । यो खालको सापटी भने १५ वर्षसम्म चुक्ता गर्नुपर्ने हुन्छ ।

ब्याजको रुपमा विशेष सापटीमा ६.६० प्रतिशत तिर्नुपर्छ । घरकर्जामा ७.५ प्रतिशत ब्याज तिर्नुपर्छ । योगदानकर्तालाई कोषले जम्मा भएको रकमको ५.५ प्रतिशत ब्याज रकम दिन्छ ।

वैदेशिक रोजगारीमा जानेहरुलाई सुविधैसुविधा

वैदेशिक रोजगारीमा जानेहरुले पनि कोषमा योगदान गर्न पाउँछन् । अहिले त वैदेशिक रोजगारीमा जानेहरुले अनिवार्य रुपमा कोषमा आबद्ध भएर जानुपर्छ, तर वैदेशिक रोजगारीमा जाने अधिकांशले विदेश गएपछि नियमित रुपमा योगदान गर्दैनन् । यसको जोखिम भने उनीहरुले नै लिनुपर्छ ।

वैदेशिक रोजगारीमा जाने योगदानकर्ताका पति/पत्नी र छोराछोरीले सामान्य चेकअपका लागि वार्षिक २५ हजार र अस्पताल भर्ना हुनुपरेमा वार्षिक एक लाखसम्मको उपचार सुविधा कोषले उपलब्ध गराएको छ, तर वैदेशिक रोजगारीमा जानेहरुले कोषमा नियमित योगदान नदिएको कोषको रिपोर्टले देखाउँछ । दुई तीन प्रतिशतले मात्रै कोषमा नियमित योगदान दिइरहेका छन् ।

कोषमा आबद्ध हुँदै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीहरुको संख्या साढे १० लाख नाघेको छ । उनीहरुबाट साढे दुई अर्ब रकम जम्मा पनि भएको छ, तर ९६-९७ प्रतिशतले नियमित योगदान गरेका छैनन् ।

यो लेख लेख्दै गर्दा वैदेशिक रोजगारीमा जानेहरु १० लाख ४६ हजार ३४६, नेपालको औपचारिक क्षेत्रका पाँच लाख २१ हजार ६४६ र केही स्वरोजगार र अनौपचारिक क्षेत्रबाट गरी १५ लाख ६७ हजार ६५७ योगदानकर्ता कोषमा आबद्ध छन् । कोषमा १९ हजार ४२१ कम्पनी आबद्ध छन् ।

कोषमा आबद्धहरुमध्ये अहिलेसम्म ७३ हजार ७२७ जनाले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत सुविधा लिएका छन् । उनीहरुले झण्डै १३ करोड रकम सुविधावापत लिएका छन् । ३ हजार ७८६ जनाले दुर्घटना तथा अशक्तता योजनाअन्तर्गत सवा १४ करोड रकमको सुविधा लिएका छन् । ५६१ जनाले आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत परिवारका सदस्यले योगदानकर्ताको मृत्यु भएपछिको सुविधा लिइरहेका छन् । त्यसैले कोषमा आबद्ध हुनु भनेको हरेक हिसाबले भविष्य सुरक्षित हुनु हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *