हाटबजारमा सुदूरपश्चिम सरकारको करोड लगानी, बालुवामा पानी – Nepal Press

हाटबजारमा सुदूरपश्चिम सरकारको करोड लगानी, बालुवामा पानी

कैलाली । कृषि उत्पादनलाई बजारीकरण गर्ने भन्दै सुदूरपश्चिम प्रदेश सरकारका निर्माण गरेका हाटबजार अहिले बन्द अवस्थामा रहेका छन् ।

कैलालीका विभिन्न पाँच स्थानमा आर्थिक वर्ष २०७६/०७७ मा एक करोड बढीको लगानीमा कृषि हाटबजार निर्माण गरिएका थिए । तर अहिले पाँच मध्ये चार हाटबजार प्रयोग विहीन अवस्था रहेको पाइएको छ ।

प्रदेशको सार्वजनिक लेखा समितिले गरेको अनुगमनमा टीकापुर कृषि हाट बजारबाहेक प्रदेश सरकारले बनाएका अन्य सबै हाटबजारहरू अलपत्र अवस्थामा रहेको भेटिएको थियो । किसानको आवश्यकता भन्दा पनि पहुँचका आधारमा तयार भएका हाटबजार अलपत्र रहेको अधिकांश किसानहरूले गुनासो गरेका थिए ।

संसदीय समितिको अनुगमनमा स्थानीयले कार्यकर्ताहरूलाई पोस्नको लागि बजेट तयार गर्दा काम प्रभावकारी नभएको गुनासो गरेका थिए ।

गलत ठाउँमा योजना पारिएको, नियमनकारी निकायले चासो नदेखाएको र किसानहरूसँग सल्लाह नै नगरेर हाटबजार तयार गरिएको हुँदा करोडौँ लगानीमा तयार भएका हाटबजार अलपत्र परेको स्थानीयले संसदीय समितिलाई बताएका थिए ।

सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीको नेतृत्वमा रहेको अनुगमनमा प्रदेश सभा सदस्यहरू प्रकाश बहादुर देउवा, सन्तोष शर्मा थापा, अक्कल बहादुर रावल, बेल बहादुर राना, मधु भारती, गीता देवी माल र गीता चौधरी सहभागी थिए ।

सार्वजनिक लेखा समितिको टोलीले गौरीगङ्गा नगरपालिका–९ स्थित कृषि उपज संकलन, घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको कृषि बजार व्यवस्थापन समिति, बर्दगोरिया–५, स्थित प्रगतिशील हाट बजार, लम्कीचुहा नगरपालिका–८, गोप्कास्थित हाटबजार तथा सांस्कृतिक संरक्षण समिति र टीकापुर नगरपालिका–१, स्थित कृषि बजार व्यवस्थापन समितिको अनुगमन गरेको थियो ।

आर्थिक वर्ष २०७६/०७७ मा हाटबजार सम्बन्धी सबै योजना उपभोक्ता समितिमार्फत निर्माण भएको बताइएको छ । प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा कृषि ज्ञान केन्द्रले उपभोक्ता समितिमार्फत कृषि हाटबजारहरू निर्माण गरेको हो ।

सार्वजनिक लेखा समितिका अनुसार गौरीगङ्गा नगरपालिकाको कृषि उपज समितिलाई १३ लाख बढी भुक्तानी भएको छ । त्यस्तै, सुखड कृषि बजार व्यवस्थापन समितिले ४२ लाख ८३ हजार बढी भुक्तानी लिएको छ ।

बर्दगोरियाको प्रगतिशील हाट बजारलाई ६ लाख ५९ हजार र लम्कीचुहा नगरपालिका–८ को हाटबजार तथा सांस्कृतिक संरक्षण समितिलाई १३ लाख १८ हजार भुक्तानी भएको छ । टीकापुर नगरपालिका–१ को कृषि बजार व्यवस्थापन समितिलाई १३ लाख १८ हजार रुपैयाँ भुक्तानी भएको छ ।

कैलालीका पाँच स्थानमा कृषि हाटबजार निर्माणको लागि प्रदेश सरकारले २०७६/०७७ मा एक करोड ४ लाख ४१ हजार खर्च गरेको थियो ।
निर्माण भएका हाटबजारहरूमध्ये टीकापुरमा मात्रै साताको दुई दिन हाट बजार सञ्चालन हुने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

‘अनुगमन गरेका मध्ये एउटा मात्रै राम्रो देखिएको छ अरू सबै अलपत्र र बन्द छन्’ समितिका ज्येष्ठ सदस्य धामीले भने ‘राज्यको यति ठूलो लगानी खेर गएको जस्तो भएको छ यस विषयमा हामी गम्भीर छौँ ।’

उनले केही दिनमै यस विषयमा समितिको बैठक आह्वान गरेर ठोस निर्णय लिने समेत बताएका छन् । हाटबजार बनाउँदा आर्थिक चलखेल भएको , योजना किनबेच भएको आरोप यस अघि पनि नआएको भने होइन तर, सरकारी निकायले कुनै चासो दिएको थिएन ।

निर्माण भएको चार वर्षसम्म पनि अहिले किसानहरूले अधिकांश हाटबजारमा कृषि उत्पादन बिक्री गर्दैनन् । उनीहरुले आफूहरूको आवश्यकता एकातर्फ रहेको र सरकारले अर्को तर्फ हाटबजार बनाइदिएको बताउँदै आइरहेका छन् ।

सुखडमा ४२ लाख ८३ हजारमा तयार भएको हाटबजार अलपत्र पर्दा किसानहरूले भने खुल्ला आकाशमुनि कृषि उत्पादन बिक्री गर्न बाध्य छन् । यस्तो समस्या टिकापुरबाहेकका सबै हाटबजारमा देखिएको अनुगमन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर