तौल घटाउन अनलाइनबाट किनेको ‘औषधि’ खाएकाहरू गम्भीर बिरामी, मिर्गौलामा पनि देखियो असर – Nepal Press

तौल घटाउन अनलाइनबाट किनेको ‘औषधि’ खाएकाहरू गम्भीर बिरामी, मिर्गौलामा पनि देखियो असर

खाद्य र भ्याटमा दर्ता गर्ने औषधि भनेर झुक्याउनेलाई छैन कुनै कारबाही

रुपन्देही । चिकित्सकको सल्लाहबिना विभिन्न अनलाइन विज्ञापनको भरमा तौल घटाउने औषधि प्रयोग गर्दा बुटवलमा तीनजना गम्भीर बिरामी परेका छन् । उनीहरूको अहिले आईसीयूमा उपचार भइरहेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन डा. नन्दु पाठकका अनुसार विभिन्न माध्यमबाट मगाइएका तौल घटाउने दाबी गरिएका ती औषधी खाँदा इमर्जेन्सीमा भर्ना गरेर उपचार गर्नुपरेको हो । अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा १ जनाको क्याबिनमा सारेर उपचार भइरहेको डा. पाठकले बताए ।

‘गार्सिनिया कम्बोजिया’ नामको औषधि खाएकी सृष्टी सेन ठकुरीको उपचार भइरहेको पाठकले बताए । बिरामी परेकी सृष्टी आफैँ पनि स्वास्थ्यकर्मी हुन् । चिकित्सकका अनुसार यो विदेशी कम्पनीले उत्पादन गरेर बजारमा पठाएको एक न्युटिसियन हो तर बेच्नेहरूले यसलाई औषधि भनेका छन् भने खानेले पनि औषधि नै भनेर खाइरहेका छन् ।

सामाजिक सञ्जालमा ‘एक महिनामा नै दुब्लाउने औषधि’ भनेर विज्ञापन देखेपछि उनले साथीको सहयोगबाट अनलाइन अर्डर गरी त्यो सामान मगाएकि थिइन् । तर, लगत्तै उनलाई टाउको दुख्ने, रिँगटा लाग्ने हुन थाल्यो । बिस्तारै  समस्या बढ्दै गयो । परिवारका कसैलाई नभनी उनले खाँदै थिइन् ।

एक्कासि जन्डिसको समस्या देखिएपछि उनी उपचार गर्न गरिन्, तर निको भएन, मिर्गौलामा समेत असर गर्न सुरु गरेको स्वास्थ्य परीक्षणबाट थाहा भयो । दुब्लाउने भनेर खाएको औषधिको असर बढ्न थाल्यो । यसपछि उनी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको इमर्जेन्सीमा भर्ना भएर थप उपचारमा लागेकी हुन् ।

यस्तै एकजना सोही औषधि खाएका बिरामीको पाल्पाबाट अहिले काठमाडौं रिफर गरी उपचार भइरहेको र अर्का एकजनाको नेपालगञ्जमा उपचार भइरहेको डा. पाठकले बताए । औषधि खाएकी सृष्टि सेन ठकुरीले आफूलाई पनि साथीले मगाइदिएको र खाएको बताएकी छन् ।

क्याप्सुलको रूपमा रहेको यो औषधि खाना खानुभन्दा ४५ मिनेट पहिला १/१ गोली १ महिनासम्म र त्यसपछि डेढ/डेढ गोली गरेर खानुपर्ने भनिएको थियो ।

अहिले अस्पतालमा उपचारमा आएका ३ जना मात्र देखिएकाले अरु पनि हुनसक्ने भन्दै जथाभावी यस्ता सामान प्रयोग नगर्न डा. पाठकले सुझाव दिए ।

‘आधिकारिकता प्रमाणित नभएका र विज्ञापनलाई आधार मानेर यस्ता औषधि जथाभावी प्रयोग नगर्न सबैलाई सचेतना फैलाउनुपर्ने छ, यो त उदाहरण मात्रै हो, यस्ता धेरै मेडिसिन सञ्जालको विज्ञापनका आधारमा प्रयोग भइरहेका छन् जुन स्वास्थ्यका लागि अत्यन्तै गम्भीर छन्’ उनले भने ।

‘यो औषधि खाने बिरामीलाई सुरुमा जन्डिस देखियो, बिस्तारै शरीर कमजोर हुँदै जाने, किड्नीमा समेत असर पर्ने गरेको पाइएको छ । लामो समयसम्म यसको सेवन गर्नाले मानिसको मृत्युसमेत हुनसक्ने डर हुन्छ, समयमै सचेत हुन आग्रह गर्छौं ’, पाठक भन्छन् ।

अर्घाखाँची जिल्ला अस्पतालका डाक्टर खगेन्द्र आचार्यले यस्तै मेडिसिन खाएर जिल्लामा पनि २ जना बिरामी यसअघि आइसकेको बताए । लुम्बिनी आयुर्वेदिक अस्पताल बुटवलका प्रमुख डा. प्रवेश श्रीवास्तव खाद्य र भ्याटमा दर्ता भएका विभिन्न न्युटिसियन कम्पनीहरूले बेच्ने यस्ता वस्तुहरूले सर्वसाधारण हैरानीमा परेको बताए ।

‘गार्सिनिया कम्बोजिया’ औषधि व्यवस्था विभागमा दर्ता छैन ।

‘यो मेडिसिन नि होइन, तर बेच्ने र खानेले मेडिसिन भनिरहेका छन्, यसले असर गरेका विषय आएको छ, नियामक निकायले पक्कै केही गर्ला तर पहिले उपभोक्ता नै कस्तो मेडिसिन कसलाई चेक गराएर खाने भन्ने सचेत हुनुपर्छ  विषयमा’, उनले भने ।

‘बाहिरबाट आएको हो, नेपालमा यसको कुनै डाक्टरले सिफारिस गरेको छैन, मेडिकलमा पनि औषधि व्यवस्था विभागमा दर्ता नभएको बेच्न पाइँदैन, भ्याटमा खाद्यमा दर्ता भएका छन्, औषधि व्यवस्था विभागमा दर्ता हुँदैनन् । न्युटिसन उत्पादन धेरै छन्, औषधि होइनन् । किनेर खाने र बेच्नेले मेडिसिन भनेका छन् ’, डा. श्रीवास्तवले थपे ।

यस्तो वस्तुको प्रयोगले अन्य देशमा बेच्ने र किन्ने मान्छेलाई नै मुद्दा हुन्छ, तर यहाँ कुनै क्लेम गर्ने गरेको नपाइने उनको भनाइ छ ।

औषधि व्यवस्था विभागमा दर्ता नभएकाले यी पोषण परिपूरक औषधिका रूपमा ल्याउन मिल्दैन । तर, नेपालमा यसको आयात र बिक्री वितरण सहजरूपमा भइरहेको छ । खाद्य विभागमा दर्ता गरेर खाद्य सामग्रीका रूपमा यी परिपूरक ल्याइन्छन् । खाद्य विभागमा चार हजार १३ वटा पोषण परिपूरक दर्ता भएका छन् भने ५७९ वटा आयातकर्ता छन् । अधिकांशको उत्पादन भारतमा हुन्छ ।

केही स्वदेशी औषधि कम्पनी, विक्रेता र आयातकर्ताले ‘नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल समाज’ (फ्यानक्यान) खोलेर संगठित रूपमा आहार परिपूरकका नाममा औषधिजन्य भिटामिन भित्र्याइरहेछन् । फ्यानक्यानले आयात अनुमतिका लागि खाद्य विभाग जानुअघि औषधि व्यवस्था विभागबाट नै आयातको बाटो खोलिदिन आग्रह गरेको थियो । विश्व खाद्य तथा औषधिमा यसको प्रयोग असुरक्षित मानिएको छ  ।

सन् २०१७ मा एफ डीएले सबैलाई गार्सिनिया कम्बोजिया भएको तौल घटाउने उत्पादन प्रयोग गर्न बन्द गर्न चेतावनी दिएको थियो  । कारण मानिसहरूले यसलाई लिभरमा गम्भीर समस्याहरू पाएका थिए  ।

गार्सिनिया कम्बोजिया बिक्री वितरण गरेको पाइए जानकारी दिन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुरोध गरेको थियो  । सँगै बिक्रीमा बन्देज गरिएको छ । विभागले झूटो अनुज्ञा पत्र नम्बर राखेर बिक्री वितरण गरिएको उल्लेख गरेको छ ।

यसले चक्कर लाग्ने, मुख सुख्खा हुने, टाउको दुख्ने, पेट दुख्ने वा पखाला लाग्ने जस्ता समस्या देखिने गरेको पाइएको छ, जन्डीस हुने, अन्त्यमा मिर्गौलामा समेत असर पर्ने विज्ञप्तिमा उल्लेख छ ।

गार्सिनिया कम्बोजियालाई नानो फुड नेपाल प्रालिले उत्पादन गरेको छ भने जीटीएम हर्बल प्रालिले बिक्री वितरण गरेको छ । यसको उत्पादन र बिक्रीवितरणका लागि अनुमति नलिइएको विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *