विष्णु माझीबारे संगीतकार आशिष अविरल- उहाँ ‘प्राइभेसी’ चाहनुहुन्छ भने अरुलाई किन टाउको दुखाइ ? – Nepal Press

विष्णु माझीबारे संगीतकार आशिष अविरल- उहाँ ‘प्राइभेसी’ चाहनुहुन्छ भने अरुलाई किन टाउको दुखाइ ?

काठमाडौं । अहिले तिजको माहौल छ । यो माहौलमा गायिका विष्णु माझीको गीत नआउने कुरै भएन । यसपटक पनि माझीको ‘आइनँ आमा यो तीजमा’ बोलको गीत सार्वजनिक भइसकेको छ । गीतलाई २० लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् ।

एकदमै पातलो गीत गाउने माझीको एकदमै चलेको गीत भने ‘चरी जेलैमा’ हो । अत्यधिक रुचाइएको यो गीत सार्वजनिक भएपछि माझीको निजी जिन्दगीलाई लिएर पनि निकै गसिपहरू बने । गीतको भाव र माझीको जिन्दगी उस्तै रहेको भनेर पनि हल्ला चलाइयो । यसपछि भने माझीका नीजि जिन्दगी पनि सधैं चर्चामा रहने गरेको छ । उनी के खान्छिन्, कहाँ बस्छिन्, कता जान्छिन् भनेर दर्शक/स्रोतामा निकै चासो देखिन्छ । तर, माझी भने अहिलेसम्म प्राइभेसी मेन्टेन गर्न सक्षम छिन् ।

गायिका माझीसँग पछिल्लो समय एरेन्जरको रूपमा काम गरिरहेका गायक/संगीतकार आशिष अविरल भने हल्लाहरू व्यर्थ रहेको बताउँछन् । कुनै घटना/परिघटनाले माझीलाई सार्वजनिक हुन मन नलागेको हुनसक्ने बताउँदै अविरल भन्छन्, ‘कसैले आफू सार्वजनिक हुन नचाहेको खण्डमा यस्तोउस्तो भनेर लेख्न र टाउको दुखाउन जरुरी छैन ।’

अविरलले ‘उखु पोले खुदो, निम्बु पोले चुक’, ‘छिपछिपे पानीमा लेऊ’, ‘तिम्रो जति माया त लालुमै’, ‘सालको पात टपरी’ ‘डाहै मेरो बलमा’ लगायत गीतमा माझीसँग सहकार्य गरेका छन् । माझी र अविरलको पछिल्लो सहकार्य भने ‘आइनँ आमा यो तीजमा’ हो । माझीसँग आधा दर्जन बढी गीतमा सहकार्य गरेका अविरल उनका श्रीमान् सुन्दरमणि अधिकारीको डेढ दशकदेखिको साथी हुन् । उनीहरुबीच तँ तँ म म नै चल्छ ।

माझीको गीत एरेन्ज गर्दा पारिश्रमिक लेनदेन सुन्दरमणिसँगै हुने गर्छ । नजिकको साथी भएकाले आफूले यति नै पैसा दिनुपर्छ भनेर नमाग्ने अविरलले बताए ।

माझीले मध्यराति स्टुडियोमा पर्दा लगाएर गीत गाउँछिन् भन्ने हल्लालाई उनले अस्वीकार गरे । यद्यपि माझीले प्राइभेसी भने खोज्ने उनको टिप्पणी छ ।

‘उहाँ सकेसम्म गीत गाउँदा स्टुडियोमा कोही नहोस् भन्ने चाहनुहुन्छ,’ अविरलले भने ।

कतिपय अवस्थामा विष्णुका श्रीमान सुन्दरमणिले स्टुडियोमा आउनुअघि अविरललाई फोन गरेर सोध्छन्, ‘स्टुडियोमा कत्तिको भिडभाड छ ? छ भने अर्को दिन वा केही समयपछि आउँछौं । कोही छैनन् भने अहिले नै आउँछौं ।’

अहिले सार्वजनिक भएको तीज रेकर्डिङको क्रममा अविरलले माझीलाई कतिपय ठाउँमा दोहोर्याएर गाउन लगाए । अविरलका अनुसार माझीले कहिलेकाहीँ चाँडै गीत गाइसक्छिन् भने कहिले अलि समय पनि लगाउँछिन् ।

‘उहाँलाई गीत गाउनुअघि सुन्नलाई कम्तीमा आधा घण्टादेखि एक घण्टासम्म लाग्छ,’ अविरल थप्छन्, ‘गीत रेकर्डिङ गर्न एक घण्टादेखि तीन घण्टासम्म लाग्छ । यसपटकको तीज गीत उहाँले तीनदेखि चार घण्टा जति समय लगाउनुभएको थियो ।’

माझी गीत रेकर्डिङको क्रममा दोहोर्‍याउन/तेहेर्‍याउन कुनै आनाकानी गर्दिनन् । जतिपटक गाउन अनुरोध गरे पनि सजिलै गाउने अविरलको अनुभव छ ।

व्यक्तिगत गोपनियताको कुरामा भने माझी अलि संवेदनशील छिन् । केही वर्षअघिसम्म स्टुडियोमा निकै नै भिडभाड हुने भएकाले सिसामा पर्दा लगाएर गीत रेकर्ड गर्ने गर्थिन् । तर, अहिले भने कोरस र भोकलका लागि छुट्टाछुट्टै स्टुडियो भएकाले प्राइभेसीमा समस्या नभएको अविरल बताउँछन् ।

‘उहाँ सम्बन्धित गीतको विषयमा बाहेक खासै बोल्नुहुन्न । श्रीमान् आफैं संगीतकार तथा गायक भएकाले सँगै लिएर आउनुहुन्छ,’ अविरल भन्छन्, ‘हाम्रो सञ्चो विसञ्चो सोधासोध मात्रै हुन्छ । यसपटक पनि गीतको विषयमा मात्रै बोलचाल भयो ।’

अविरल एरेन्जर मात्रै नभएर संगीतकार र आफैं गायक पनि हुन् । उनले ‘परान परान संसार यस्तै रैछ परान’, ‘काले केटाले’, ‘अरुकै सम्पत्ति हौ के रे हुन त’, महाजात्रा चलचित्रको ‘हाम्रो जोडी आहा क्या राम्रो भने साराले’ लगायतका गीत गाइसकेका छन् ।


प्रतिक्रिया

One thought on “विष्णु माझीबारे संगीतकार आशिष अविरल- उहाँ ‘प्राइभेसी’ चाहनुहुन्छ भने अरुलाई किन टाउको दुखाइ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर