अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल बनाउन उप समिति गठन – Nepal Press

अन्तर्राष्ट्रियस्तरको भलिबल कभर्डहल बनाउन उप समिति गठन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माणस्थल छनौट तथा तयारीका लागि तीन सदस्यीय उप समिति गठन गरेको छ ।

अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ती र आवश्यक तयारीका लागि भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दको संयोजकत्वमा उप समिति बनाइएको हो । उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।

परिषद्का सदस्य सचिव स्तरीय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरी उपयुक्त जग्गा छनौट गरी प्राप्तीका लागि प्रारम्भिक चरणको कार्य गर्नुपर्ने छ । यस्तै जग्गा यकिन भएपछि २०८१ असोज महिनाभित्र डीपीआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यदेश दिइएको छ । उपसमितिले कार्यादेशअनुसारको काम सम्पन्न गरी ३० दिनभित्र परिषद्मा प्रतिवेदन पेश गर्नु पर्ने उल्लेख गरिएको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना तथा अभ्यासका लागि पर्याप्त नभएकोले सुविधा सम्पन्न कभर्डहल निर्माण आवश्यक भएको परिषद्ले जनाएको छ । राष्ट्रिय खेल भलिबललाई थप व्यवस्थित बनाउँदै आकर्षण बढाउने उद्देश्यले सुविधा सम्पन्न हल निर्माणका लागि पहल थालिएको परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर