वर्तमान सरकारबाट जनतामा आशा जागेको छः उद्योगमन्त्री भण्डारी – Nepal Press

वर्तमान सरकारबाट जनतामा आशा जागेको छः उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनाताका निराशाहरूको अन्त्य गरि आशा जगाउने बाटोमा अग्रसर रहेको बताएका छन् । आज काठमाडौं आयोजित गौरा पर्व विशेष समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान समयमा देखिएको आर्थिक मन्दिर, व्यापार घाटा, उद्योग तथा व्यावसायिक क्षेत्रका समस्याहरू सहजीकरण गरि जनतामा देखिएको निराशा हटाउन सरकार लागि परेको बताएका छन् ।

विशिष्ट परिस्थितिमा बनेको सरकारले राष्ट्रिय चुनौतीहरूलाई अन्त्य गर्ने जिम्मेवारी वहन गरिरहेको समेत उनको भनाइ थियो । मन्त्री भण्डारीले नेपालको उद्यमशीलता र औद्योगिक क्षेत्रको विकास गर्नमा आफूले ध्यान केन्द्रित गरेको बताए । उनले सुदूरपश्चिमेलीहरुको मौलिक पर्व गौरालाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

विगतमा सुदूरपश्चिममा मात्रै मनाइने गौरा अहिले मुलुकभित्र मात्रै नभएर मुलुकबाहिर पनि महत्त्व बढ्दै गइरहेको बताएका थिए । भारत, अमेरिका लगायतका देशहरूमा समेत मनाउन थाले पनि यसको मौलिक स्वरूपको विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

‘गौरा पर्व विगतमा कम व्यक्तिहरूले मनाउँदा साँघुरो बाटोमा सीमित थियो, तर अहिले राजमार्गका रुपमा परिणत भएको छ । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मनाउन थालिए पनि यसको सांस्कृतिक महत्त्व र मौलिक तत्त्वहरूको विस्तार गर्नु जरुरी छ । हामीले गौरा पर्वको विशेषतालाई पाठ्यक्रममा समावेश गर्नु जरुरी छ मन्त्री भण्डारीले भने, ‘यो पर्वको महत्त्व, गरिमा र सान्दर्भिकता देखाउन सकेमा मात्रै राज्यको संरक्षण र सहुलियत प्राप्त गर्न सकिनेछ । त्यो तहमा यो पर्वको अध्ययन हुनु जरुरी छ । हाम्रो पहिचान र संस्कृतिको विस्तारमा सबैले लाग्नुपर्नेछ । जसका लागि सुदूरपश्चिमका सांस्कृतिक क्षेत्रका प्राज्ञिक व्याक्तित्वहरुले मुख्य भूमिका निर्वाह गर्नु जरुरी छ ।’

सुदूरपश्चिम समाज काठमाडौँले १५ औँ साधारण सभा अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा ‘सुदूरकी सोराई गोःरा विशेष’ पुस्तकको विमोचन गरिएको छ । उक्त पुस्तकमा सुदूरपश्चिमका विभिन्न जिल्ला तथा ठाउँ विशेष गौरा पर्वका बिषयमा व्याख्या गरिएको पुस्तकका प्रधान सम्पादक डा. हरिदत्त पाण्डेयले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर