नेकपा एसमा पदाधिकारी चुनावको माग कडा, वरिष्ठ उपाध्यक्षमा पाण्डेविरुद्ध हमाल खडा – Nepal Press

नेकपा एसमा पदाधिकारी चुनावको माग कडा, वरिष्ठ उपाध्यक्षमा पाण्डेविरुद्ध हमाल खडा

मतदानबाट पदाधिकारी टुंगो लगाउने कुराको झलनाथ र घनश्यामले विरोध गरेपछि सर्वसम्मतको प्रयास

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयन प्रक्रियाको विषयलाई लिएर विवाद भएको छ। जारी केन्द्रीय कमिटीको बैठकमा नेताहरूले मतदान प्रक्रियाबाट पदाधिकारी टुंगो लगाउन दबाब बढाएपछि अझै सर्वसम्मतको प्रयास भइरहेको छ ।

केन्द्रीय कमिटीमा मतदानबाट पदाधिकारी टुंगो लगाउने कुरामा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले विरोध गरेपछि अहिले सर्वसम्मतको प्रयास भइरहेको छ । आज ११ बजे शुरू हुनुपर्ने बैठक दिउँसो १ बजेलाई बोलाइएको छ ।

पदाधिकारीमा आकांक्षी बढी हुँदा सहमतिमा टुंग्याउन अध्यक्ष नेपाललाई सकस परेको छ । यद्यपि, कुन प्रक्रियाबाट जाने भन्नेबारे उनले मुख खोलेका छैनन् ।

महाधिवेशनभरि मिलेका अध्यक्ष नेपाल र नेता खनाल पदाधिकारी चयन प्रक्रियाको विषयमा विभाजित भएका छन् । पदाधिकारी सर्वसम्मत गर्न नेता खनाल र महासचिव भुसाल एकैठाउँमा उभिएका छन् । दुईजना मिलेर अध्यक्ष नेपालमाथि दबाब बढाउँदै पार्टीभित्र आन्तरिक रूपमा उनीहरू हाबी हुन खोजेका छन् । बिहानैदेखि पदाधिकारी टुंगो लगाउन पूर्वसचिवालयको बैठक पनि बसिरहेको छ ।

सचिवको आकांक्षी ताज मोहम्मद मियाले जबर्जस्ती टाँसिएको नाम मान्य नहुने बताए । मतदानबाट पदाधिकारी चयन गर्नुपर्ने उनको माग छ । अर्का नेता केशवकुमार विष्ट पनि पूर्वसचिवालयले पदाधिकारीको टुंगो लगाउने कुरा अस्वीकार गर्छन् ।

उनले सचिवको आकांक्षी विष्टले भने, ‘केन्द्रीय कमिटीले म्याण्डेट नै नदिई कसरी पूर्वसचिवालयले पदाधिकारी टुंगो लगाउँदो रहेछ, हामी पनि हेर्छौँ ।’

अर्का केन्द्रीय सदस्य सुदेश पराजुली पनि निर्वाचन प्रक्रियाबाट पदाधिकारी टुंग्याउनुपर्ने पक्षमा छन् । युवा नेता पराजुलीले पनि अहिले सचिव पदको दाबी गरेका छन् ।

तर, नेताहरूले सहमति गरेर आए मान्नुको विकल्प नभएको नेतृ दीलकुमारी (दिलु) पन्तले बताइन् । उनले भनिन्, ‘नेताहरूले सहमति गर्नुहुन्छ भने हामीले नमान्नुको विकल्प छैन ।’

असारमा भएको महाधिवेशनले ३ पदाधिकारीसहित ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेर टुंग्याइएको थियो । महाधिवेशनको एक महिनापछि विधानविपरीत ३४४ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो ।

अहिले नेकपा एसको १८ पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो चयन गर्न बाँकी छ । नेकपा एसमा १ अध्यक्ष, १ सम्मानित नेता, वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, ४ उपमहासचिव, ७ सचिव रहने व्यवस्था छ । आवश्यक परे वरिष्ठ नेता पद पनि सिर्जना गर्नसक्ने निर्णय यसअघि नै गरेको छ ।

नेकपा एसमा वरिष्ठ उपाध्यक्षसमेत छान्न सकस परिरहेको छ । यो पदका लागि राजेन्द्र पाण्डे र वेदुराम भुसालबीच महाधिवेशनकै समयदेखि रस्साकस्सी चल्दै आएको छ । आफू सर्वसम्मत वरिष्ठ उपाध्यक्ष नपाउने परिस्थिति बने नेता पाण्डे चुनावको पक्षमा छन् ।

वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई रोक्न झलनाथ खनालले प्रमेश हमाल अघि बढाएको आरोप छ । यसअघि वरिष्ठ उपाध्यक्षमा प्रमुख दाबेदार रहेका वेदुराम भुसाल पछि हटेका छन् ।

पाण्डेले आफू वरिष्ठ उपाध्यक्षबाट पछि नहट्ने भन्दै केन्द्रीय कमिटीमा चुनाव गराइदिन अध्यक्ष माधव नेपाललाई आग्रह गरेका छन् । उनले वडाको चुनावसमेत नलडेकाहरू अहिले पार्टीभित्र चुनावबाट डराएर टिका लगाएर पदाधिकारी हुन खोजेको बताएका छन् ।

उपाध्यक्षको आकांक्षीमा पनि नेताहरूको लर्को छ । घनेन्द्र बस्नेत, धर्मनाथप्रसाद साह, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, प्रकाश ज्वाला, गंगालाल तुलाधर, प्रमेश हमाल, जयन्ती राई, बलराम बास्कोटा, हरि पराजुलीसहितका नेताले उपाध्यक्षमा दाबी गरेका छन् ।

७ सचिवका लागि दर्जनबढी आकांक्षी देखिएका छन् । शेरबहादुर कुँवर, हस्त शाही, मेटमणि चौधरी, सुदेश पराजुली, नरेश शाही, अम्बरबहादुर थापा, चन्द्रबहादुर शाही, सोम पाण्डे, दिलकुमारी पन्त, श्रीप्रसाद साह, सुधीर साह, सावित्रा भुसाल, कल्याणी खड्का, रामकुमार भट्टराई, बलदेव चौधरी, राजन राई, केशव विष्टलगायतका नेता सचिवमा दाबी गरिरहेका छन् ।


प्रतिक्रिया

One thought on “नेकपा एसमा पदाधिकारी चुनावको माग कडा, वरिष्ठ उपाध्यक्षमा पाण्डेविरुद्ध हमाल खडा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर