महामन्त्रीद्वयको प्रतिवेदन संशोधन गर्न संस्थापन पक्षको चर्को दबाब, देउवाले डाके उपसभापतिसहितको बैठक – Nepal Press

महामन्त्रीद्वयको प्रतिवेदन संशोधन गर्न संस्थापन पक्षको चर्को दबाब, देउवाले डाके उपसभापतिसहितको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीलाई छलफलको लागि बोलाएका छन्।

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका हुन्।

बैठक भोलि बिहान ११ बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय समिति बैठकमा पेश गरेको प्रतिवेदनको विषयले कांग्रेसमा विवाद छ। महामन्त्री थापाको चुनावी गठबन्धन नगर्ने र शर्माको ‘एक्जिट पोलिसी’ प्रस्तावमाथि संस्थापन पक्षको चर्को विरोध छ।

दुई महामन्त्रीको प्रतिवेदन केन्द्रीय समितिको बैठकबाट पारित गराउन मध्यमार्गी विकल्प खोज्नको लागि देउवाले बैठक राखेको बताइन्छ।

साउन २३ गतेबाट सुरु भएको बैठक बुधबार टुंग्याउने कांग्रेसको तयारी छ। बैठकमा अब सभापति, उपसभापति र महामन्त्रीले मात्रै बोल्न बाँकी छ।

पार्टीका पाँच शीर्ष नेताहरूले बोलेपछि महासमिति बैठकमा आएको सुझावलाई समेटेर परिमार्जित भएर आएको प्रतिवेदन पारित गर्ने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर