राष्ट्रिय पार्टी बन्न नसकेका दलका सांसदको हैसियत स्वतन्त्र बनाइनुपर्छ : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा जो कमजोर छ राज्य सत्ता सञ्चालनमा उही निर्णायक हुँदा राजनीतिक अस्थिरता मौलाएको बताएका छन् ।
नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको बैठकलाई सोमबार सम्बोधन गर्दै पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने बताए ।
‘लोकतन्त्रमा जहिले पनि शासन गर्ने भनेको बलिया पार्टीले नै हो’, उनले भने ।
कानूनको सुधारद्वारा लोकतन्त्रलाई थप बलियो बनाउन सकिने भन्दै उनले नेपालको कानूनले नै पार्टीहरूलाई बलियो हुन रोकको टिप्पणी गरे ।
कानूनले राष्ट्रिय पार्टी बन्न नसकेका दलका सांसदलाई पनि पार्टी छाड्दा कारबाही हुने प्रावधान राखेर दलहरूलाई बलियो हुनबाट रोकेको पोखरेलको तर्क छ । जो राष्ट्रिय पार्टी हुँदैनन् उनीहरूको सांसद स्वतन्त्र हुन्छ भन्ने कानूनी व्यवस्था भएको भए देशमा पार्टीको संख्या स्वतः कम हुने स्थिति बन्ने उनको भनाइ छ ।
‘त्यस्तो व्यवस्था भए राष्ट्रिय दल बन्न नसकेका दलका सांसदले आफ्नो राजनीतिक भविष्य निर्माणको लागि स्वतः बलिया राजनीतिक पार्टी खोज्ने परिस्थिति आउँछ । साना राजनीतिक दललाई राजनीतिमा बलशाली बनाउने काम कानूनले गरेको छ’, उनको जिकिर छ ।
राजनीति अस्थिरताको बीचमा नागरिकको लोकतन्त्रप्रतिको भरोसा जोगाएर राख्न नसकिएकाले मुलुकलाई बर्बादीबाट जोगाउन कांग्रेस-एमालेले पहल लिनुपरेको पोखरेलले बताए ।
आर्थिक विकास वा भौतिक विकासले मात्र नागरिकका आवश्यकता र भावना सम्बोधन गर्न सकिँदैन भन्ने कुराको पाठ बङ्गलादेशबाट सिक्नु पर्नेमा उनले जोड दिए ।