सातौं संविधान पनि कुन दिन असफल हुन्छ, ठेगान छैन: राजेन्द्र महतो
जनकपुरधाम । राष्ट्रीय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले शासक वर्गको गलत नियतको कारण सातौं संविधान पनि असफल हुने बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग उनले भने, ‘सम्पूर्ण नेपालीका लागि यो संविधान बनेकै छैन । आधा बढी नेपालीको प्रतिनिधिलाई बेवास्ता गरी जबरजस्ती संविधान जारी गरियो । यो सातौं संविधान पनि कुन दिन असफल हुन्छ, ठेगान छैन ।’
संयोजक महतोले व्यवस्था, संविधान र सरकार पटकपटक परिवर्तन भए पनि जनताको अवस्था नफेरिएको बताए ।
सरकार रहनु र नरहनुले जनतालाई कुनै फरक नै नपर्ने स्थिति अहिले बनेको उनले टिप्पणी गरे ।
‘दुई ठूला दल आफ्नो स्वार्थ पूरा गर्न गठबन्धन सरकार बनाएको छ’, उनले भने, ‘यो गठबन्धनबाट कुनै उम्मिद छैन । सरकारको अनुभूति गर्न नसकेर जनता निराश छन् ।’
संघीय लोकतान्त्रिक गणतन्त्रको व्यानर राम्रो भए पनि भित्री विषयवस्तु बेइमानीपूर्ण र छलकपटपूर्ण रहेको उनको भनाइ थियो ।