हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौं: प्रधानमन्त्री (भिडिओ) – Nepal Press

हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौं: प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले छिमेकी मुलुकका बीचमा यदाकदा समस्या देखिनु सामान्य भएकाले ती विषयमा खुलस्त रुपमा संवाद गरेर समाधान गर्न सकिने बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य-प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताए ।

उनले भने, ‘नेपालले सन्तुलित, इमानदारिता र पक्षधरताविहीनताका आधारमा दुवै छिमेकीसँग असल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौं । कसैको कुभलो चिताउँदैनौं । हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौं ।’

प्रधानमन्त्री ओलीले नेपालले तटस्थता र शान्तिपूर्ण समाधानको बाटो खोज्ने बताए ।

उनले थपे, ‘संयुक्त राष्ट्रसङ्घका सिद्धान्तको पालना गर्छौं । त्यसको उलङ्घन भएमा हामीले अनुचित भयो भनेर भन्न सक्नुपर्छ । तर्कलाई भन्दा तथ्यलाई अगाडि सार्न सक्नुपर्छ । हामी विश्व शान्ति र आफ्ना नागरिकको सुरक्षाका सवालमा संवेदनशील छौं । कुनै पनि देशले आफ्नो स्वार्थका लागि अरुको स्वाभीमानमा धक्का लगाउने काम गर्नुहुँदैन ।’

देशभित्रको कमजोरी र स्वार्थ लुकाउन ‘भूराजनीति’को प्रभाव भन्ने सोच उचित नहुने भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रलाई शीरमा राखेर राष्ट्रिय स्वाभीमानको झण्डालाई फहराउन आग्रह गरे ।

नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धिलगायतका विषयमा पुनरावलोकनका लागि गठित प्रबुद्ध व्यक्तिहरुको समूह (र्इपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गर्दै उनले त्यसपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सन्धि हुनु युगान्तकारी काम भएको पनि स्मरण गरे ।

तत्कालीन परराष्ट्रमन्त्री थापाले चीनसँगको उक्त सम्झौता कार्यान्वयन गर्न आग्रह गर्दै राष्ट्रिय हित र स्वाभीमानका सवालमा अन्तर्राष्ट्रिय मञ्चमा खुलस्त र निडर रुपमा कुरा राख्न सक्ने नेताका रुपमा प्रधानमन्त्री ओलीलाई आफूले पाएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर