भारतले नाकाबन्दी लगाउनु भूराजनीति, सुरक्षा र सामरिक विषयमा भिन्नताले हो : कमल थापा (भिडिओ) – Nepal Press

भारतले नाकाबन्दी लगाउनु भूराजनीति, सुरक्षा र सामरिक विषयमा भिन्नताले हो : कमल थापा (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले भूराजनीति, सुरक्षा र सामरिक विषयमा दुई देशका बीचमा भिन्नता भएका कारण नेपालले भारतको नाकाबन्दी भोग्नुपरेको बताएका छन् ।

सोमवार आफुद्वारा लिखित पुस्तक ‘नाकाबन्दी र भूराजनीति’ को लोकार्पण समारोहमा बोल्दै अध्यक्ष थापाले नेपाल र भारतका बीचमा भूराजनीति, सुरक्षा र सामरिक विषयमा अवधारणागत भिन्नता भएका कारण नेपालले पटक–पटक नाकाबन्दी भोग्नुपरेको बताएका हुन् ।

उनले दुई देशबीचको सम्बन्धलाई उचाईमा पु¥याउनका लागि भुराजनीति र दुई देशका बीचमा रहेको अवधारणागत भिन्नतालाई साँघुरो बनाउँदै लैजानु जरुरी रहेको बताए । उनले पटक–पटक भारतले नेपालमा नाकाबन्दी लगाउनुमा तत्कालिक कारणहरु पनि रहेको उल्लेख गर्दै तत्कालिक कारणहरु भन्दा मुख्यकुरा अवधारणागत भिन्नता नै रहेको बताए । उनले अहिले काँग्रेस–एमालेको सरकार बन्नु संख्यात्मक दृष्टिकोणले बलियो भएको भन्दै समस्या समाधानका लागि उपयुक्त समय यही भएको बताए ।

‘अहिले नेपाली काँग्रेस र एमालेको संयुक्त सरकार बनेको छ । संख्यात्मक दृष्टिकोणबाट यो सरकार बलियो छ । यसले राजनीतिक स्थायित्व दिने सम्भावना छ । यो उपयुक्त अवसर हो । नेपाल–भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याउनको निमित्त । भूराजनीति र अवधारणागत भिन्नताले सिर्जना गरेका चुनौती र जटिलतालाई गम्भिरताका साथ सम्बोधन गर्ने प्रयास गर्नका निम्ति म प्रधानमन्त्रीमा आग्रह गर्न चाहन्छु’, थापाले भने ।

अध्यक्ष थापाले आफू परराष्ट्रमन्त्री हुँदा चीनसँग पारवाहन सम्झौता गरेको स्मरण गर्दै सो सम्झौता ऐतिहासिक भएको बताए । उनले सो पारवाहन सम्झौताको कार्यान्वयन हुन नसकेको भन्दै यसको महत्वलाई बुझेर कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर