वडाकार्यालयमै हातपात गर्ने खेलकुद समितिका अध्यक्षसहित ४ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता
रुपन्देही । वडा कार्यालयमा वडाध्यक्षकै अगाडि हातपात गरेको अभियोगमा जिल्ला खेलकुद विकास समिति पश्चिम नवलपरासीका अध्यक्षसहित चार जनालाई ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएको छ ।
जग्गाको विषयलाई लिएर बर्दघाट नगरपालिका वडा नं १४ का राजबहादुर क्षेत्री र उनकी श्रीमती पार्वती क्षेत्रीमाथि निर्घात कुटपिट गरेको भन्दै जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रितमान कामुसहित चार जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।
प्रहरीका अनुसार रितमानसहित प्रेम कामु, कृष्ण कामु र जीवन कामुले क्षेत्री दम्पत्तिमाथि वडा कार्यालयभित्रै निर्घात कुटपिट गरेको भन्दै उजुरी परेको हो । पक्राउ पुर्जी जारी गरिएका चारैजना सहोदर दाजुभाई हुन् ।
पीडितहरुको उजुरीपछि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक रेशम बोहराले जानकारी दिए ।
शुक्रबार भएको कुटपिटको घटनालाई लिएर गएका पीडितको जाहेरी सो दिन प्रहरीले दर्ता गर्न नमानेपछि आइतबार दिनभरजसो स्थानीयले इलाका प्रहरी कार्यालय बर्दघाटमा नाराबाजी गरेका थिए ।
पक्राउ पुर्जी जारी गरिएका चारै जना नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता भएकोले राजनीतिक दबाबका कारण प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि स्थानीय आक्रोशित भएका थिए ।
नेपाली कांग्रेसका दुई गुटमध्ये एक गुटले जाहेरी दर्ता गराउन र अर्कोले नगराउन दबाब दिएपछि अन्योलमा परेको प्रहरीले कार्यालयभित्रै स्थिति तनावपूर्ण हुने देखेपछि आइतबार अबेरमात्र ज्यानमार्ने उद्योगमा जाहेरी दर्ता गरेको थियो ।
जाहेरी दर्ता गरी अदालतबाट चारैजना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि उनीहरु फरार रहेका छन् ।
इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक भीमबहादुर कार्कीले फरार रहेकाहरुका खोजी भइरहेको बताएका छन् ।
कामु परिवारले आफ्नो जग्गाबाट बाटो निकालेको र उक्त बाटोमा क्षेत्रीको पनि जग्गा रहेकाले बाटो निकाससम्बन्धी छलफलका लागि वडा कार्यालयले गत शुक्रबार दुवै पक्षलाई बोलाएको थियो ।
सोही विषयमा छलफल हुँदै जाँदा कामु दाजुभाईले क्षेत्री दम्पत्तिमाथि कुटपिट गरेको वडाअध्यक्ष सन्तु गाहाले बताए ।
घटनापछि वडा कार्यालयले विज्ञप्ती जारी गरेर घटनाको न्यायिक निरुपण हुनुपर्ने माग गरेको छ ।
कुटपिटपछि गम्भीर घाइते राजबहादुरको बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।