व्यवसायिक संस्थाहरुको अवरोधपछि मेलाको नाम फेरेर एकदिन संचालन भयो नेपाली जुत्ता घर  – Nepal Press

व्यवसायिक संस्थाहरुको अवरोधपछि मेलाको नाम फेरेर एकदिन संचालन भयो नेपाली जुत्ता घर 

रुपन्देही । बुटवलमा जुत्ता मेला संचालन गर्न लागेका एक व्यवसायीलाई यहाँ क्रियाशील भएका सबै व्यापारिक संस्थाहरुले रोकेपछि नाम फेरेर एक दिनपछि संचालनमा आएको छ ।

बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता घरका संचालक प्रकाश भुसालले गर्न लागेको जुत्ता मेला पहिले स्वीकृत दिएको वडा नं ८ को कार्यालयले नै सबै व्यवसायिक संस्थाको दवावमा रोकेपछि मेलाको नाम हटाइएको हो ।

असार ६ गते आगलागीबाट पूरै क्षति ब्यहोरेको  डेल्टामार्टमा रहेको बाहिरको क्षेत्रमा टेन्ट लगाएर जुत्ता घर संचालनमा ल्याइएको हो ।

आइतबार जुत्ता मेलाको रुपमा यसलाई उद्घाटन गर्ने तयारी गरिरहेका बेला यहाँका केही व्यवसायीले तोडफोड गरेका थिए ।

डेल्टा मार्ट असार ६ गते आगलागी भएर यहाँ सबै जलेको थियो । यसकै परिसरमा नै ४० वटा स्टलहरुमार्फत सेवा शुरु भएको हो ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घर संचालनमा ल्याइएको हो ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा सांसद विष्णु पन्थीले सोमबार उद्घाटन गर्दै स्वदेशी उत्पादन भाषणमा नभई काम गरेरप्रवर्द्धन गर्नुपर्ने बताए ।

देशलाई आर्थिक रुपमा सबल बनाउने गरी युवाहरुबाट नै योजनाहरु अघि सार्नुपर्ने उनको तर्क छ । अब भाषणभन्दा पनि काम गरेर देखाउने समय आएको उनले बताए ।

लुगाघरका संचालक प्रकाश भुसालले भदौ ९ गतेदेखि दोस्रो बुटवल जुत्ता चप्पल व्यापार मेला उद्घाटन अघि केही संस्थाहरुबाट अवरोध भएको दुःखेसो गरे ।

आम उपभोक्तामैत्री सेवा दिन लागेको बेला गलत आरोप लगाईएको भन्दै एमआरपि ट्याग मुल्यमा छुट दिईने गरि आफुहरु लागेको बताए ।

बजारमा रहेका ब्यवसायीहरुले संस्थाको आडमा उपभोक्ता ठग्ने काम गरेको आरोप लगाए । नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३००० भन्दा धेरै डिजाइनका जुत्ताहरु यहा उपलब्ध हुने उनले बताए ।

मेलाको आकर्षणको रुपमा स्थानिय उद्योगबाट उत्पादन गरिएको मोजा पहिलो दुई हजार ग्राहकलाई १ रुपैयाँमा उपलब्ध गराइने उनले बताए ।

तीज, दसैंजस्ता महान चाडपर्व केन्द्रीत गरी मेला लगाइएको उनले बताए । फैक्ट्रिदेखि उपभोक्तासम्मको यो अभियानलाई देशभर लग्ने उनले बताए ।

उद्घाटनअघि भएको पत्रकार सम्मेलनमा जुत्ता उत्पादक संघका अध्यक्ष रुद्र न्यौपानेले नेपालमा १६ करोड जोडी जुत्ताचप्पल उत्पादन गर्नसक्ने क्षमताको पूर्वाधार रहेको बताए । नेपाली बजारको माग भने १० करोड जोर रहेको उनले बताए ।

करिब ४ करोड जोडी जुत्ताचप्पल बाहिरबाट भित्रने र त्यसमा पनि ढाई करोड जोडी जति ग्रे मार्केटबाट भित्रने गरेको उनले दाबी गरे ।

‘यसले राजश्व छलिका साथै आम उपभोक्ता ठगिने काम भएको छ’, उनले भने । आफूहरु आन्तरिक प्रतिस्पर्धा गरेर उत्पादन गर्दा उत्कृष्ट उत्पादन उपभोक्तासमक्ष लग्ने समेत दाबी गरे ।

लामो समयदेखि रोकिएको सेवालाई टेन्ट राखेर नै सेवा दिन लागेको बेला अवरोध आएको उनले बताए । व्यवस्थापन चेन्ज गरेर उपभोक्तालाई सहज सेवा दिने लक्ष्यसहित योजना बनाएको दाबी गरे ।

कार्यक्रममा फुटवेयर मेनुफेक्चर एशोसियसन अफ नेपालका केन्द्रीय उपाध्यक्ष सुरज बन्जाडेले नेपालको औद्योगिक उत्पादनमा फुटवेयर क्षेत्रको योगदान उल्लेखनीय रहेको दाबी गर्दै त्यसमा पनि नेपाली फुटवयरजन्य सामान नेपाली उपभोक्ताहरुको मागको ६५ प्रतिशत योगदान नेपाली उत्पादनवाट भइरहेको बताए ।

बेस ग्लोबल प्रालि, लालिगुरास फुटवेयर ईण्डष्ट्रिज प्रालि, शुभकामना फुटवेयर, स्मार्ट शु, एक्सन शु, शिखर शु, पवित्रा शु, रन शु ईण्डष्ट्रिज प्रालि लगायत ८ कम्पनीका ३० ब्रान्डका एउटै छानामुनी ३००० भन्दा धेरै भेराइटी सहित १५५ देखि ५०५ सम्म छुटमा कारखानाकै मूल्यमा उपभोक्तासम्म पुर्याउने उनले बताए ।

आइतबारको विवादपछि सबै व्यवसायिक संस्थाहरुबीच बसेर मेलाका रुपमा यसलाई संचालन नगर्ने सहमति गरेका थिए ।

त्यो सहमतिमा अहिले जुत्ता घर चलाएका व्यवसायस् प्रकाश भुसालले पनि हस्ताक्षर गरेका छन् ।

रुपन्देही व्यापार संघका अध्यक्ष दीपक अधिकारीले बुटवलमा मेला लाग्ने निश्चित स्थान भएको र त्यो मेला ब्राण्डका रुपमा स्थापित भएकाले त्यही नाममा निश्चित व्यक्तिले चलाउन नहुने विषयमा सबै व्यवसायिक संस्थाहरु एकमत रहेको बताए ।

कानूनी प्रकृया पूरा गरेर व्यापार गर्न सबैलाई छुट भएको तर यति लामो समयसम्म अस्थिर बनेको बजारलाई प्रभाव पार्ने र एक व्यक्तिका लागि मेला चलाउने गरी यहाँका व्यवसायीलाई वेवास्था गरेकाले यस्तो अवस्था सृजना भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *