सिँचाइपोखरीमा डुबेर एकैघरका दाजुबहिनीको मृत्यु
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–३ च्याम्टिारस्थित बाङमाका दुई बालबालिकाको एउटै सिँचाइपोखरीमा डुबेर मृत्यु भएको छ ।च्याम्टिारस्थित बाङमाका स्थानीय गइन्द्र राईको ६ वर्षीय छोरा सङ्गम राई र तीन वर्षीया छोरी समृद्धि राईको सिँचाइपोखरीमा डुबेर मृत्यु भएको हो ।
दिनभर घरैमा खेलिरहेका दाजुबहिनी बेलुकीपख हराएपछि खोजी गर्नेक्रममा घरदेखि केही पर रहेको भुतियाखोला नजिकै बनाइएको सिँचाइपोखरीमा डुबिरहेको आवस्थामा फेला पारिएको थियो । बेलुका पौने ६ बजे फेला पारिएका दुवैजनालाई हातखुट्टा चलाउँदै गरेको अवस्थामा सिँचाइपोखरीबाट उद्धार गरेर घरमा ल्याएको केही समयमा दुवैजनाको मृत्यु भएको वडाध्यक्ष भूपालसिंह राईले जानकारी दिए ।
खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीस्थित च्यास्मिटारका स्थानीय बासिन्दा हिउँदको समयमा उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए ।
अहिले वर्षाद्को समयमा गाउँमै अर्को मुहानमा पानी भएकाले उक्त पोखरी भएको ठाउँमा खासै मान्छे जाँदैन थिए । सुनसान ठाउँमा रहेको पोखरीमा डुबेर दुई बच्चाको ज्यान गएको स्थानीय बासिन्दा एवम् नेपाल कम्युनिष्ट पार्टी(एमाले)का नेता रसकुमार राईले जानकारी दिए ।
मृतक सङ्गम स्थानीय कलङ्का आधारभूत विद्यालको कक्षा–२ मा अध्ययनरत थिए । बुबा गइन्द्र रोजगारीका लागि हाल विदेशमा छन् । गइद्र र ममताको दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।
यसअघि यही भदौ– ७ गते ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलस्थित खिरुका ११ वर्षीय अर्जुन राई र नौँ वर्षीय राज राईको खोलाको दहमा डुबेर मृत्यु भएको थियो । विद्यालयबाट घर फर्कनेक्रममा गर्मी छल्न भन्दै पौडी खेल्न स्थानीय चङ्खुखोलाको दहमा पसेका दुई बालकको डुबेर मृत्यु भएको हो ।
खिरुका स्थानीय टङ्कराम राईका छोरा अर्जुन र भोजकुमार राईका छोरा राजको शुक्रबार दिउँसो खोलाको दहमा डुबेर मृत्यु भएको स्थानीय पुरुषोत्तम राजभण्डारीले जानकारी दिए । राजभण्डारीका अनुसार मृतकद्वय अर्जुन र राजको बुबाहरु टङ्कराम र भोजकुमार एकाघरको दाजुभाइ हुन् । मृतक अर्जुन सोही स्थानका जनहित आधारभूत विद्यालयको कक्षा–५ मा तथा राज कक्षा–४ मा अध्ययनरत रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।