दुई महिनासम्म पनि कार्यान्वयन भएन प्रचण्डको सर्कुलर, इन्चार्ज गुटगत गतिविधिमा लागेको आरोप
कैलाली । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले सुदूरपश्चिम प्रदेशमा गरेको लिखित सर्कुलर दुई महिनासम्म पनि अलपत्र परेको छ ।
असार ४ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदेश सरकारमा मन्त्री पठाउने बेला संसदीय दलको नेता मानबहादुर धामीले एकलौटी गरेको भन्दै पाँच सांसदले प्रधानमन्त्रीलाई गुनासो पोखेका थिए ।
सबैको कुरा सुनेर प्रधानमन्त्रीले पार्टी बलियो बनाउन र एकताबद्ध बनाउन दलको नेतामा खगराज भट्टलाई नै बनाउनुपर्ने भन्दै निर्देशन दिएका थिए ।
सामूहिक रूपमा दिएको निर्देशन कार्यान्वयन नभएपछि असार १२ गते अध्यक्ष र महासचिवले हस्ताक्षर गरेर प्रदेश अध्यक्ष र इन्चार्जलाई उक्त निर्णय कार्यान्वयन गराउन पत्राचार गरेका थिए ।
उक्त सर्कुलरमा वर्तमान संसदीय दलको नेता मानबहादुर धामीबाट गम्भीर त्रुटि हुँदै गएको भन्दै दलको नेतामा स्थायी समिति सदस्य खगराज भट्टलाई बनाउने निर्देशन तत्काल कार्यान्वयन गर्न निर्देशन जारी गरिएको छ ।
‘कमी कमजोरीहरू सुधारका लागि हालै अध्यक्ष कमरेड प्रचण्डको उपस्थितिमा प्रदेश इन्चार्ज ,सह इन्चार्ज र पार्टी प्रदेश अध्यक्ष समेत उपस्थितिमा सबै प्रदेश सभा सदस्यहरू बसी छलफल भयो। छलफलको अन्त्यमा अध्यक्ष कमरेड प्रचण्डले कमी कमजोरलाई सुधार गर्दै दललाई एकताबद्ध गर्न दल नेता परिवर्तन गरी स्थायी समिति सदस्य कमरेड खगराज भट्टलाई दल नेता बनाउन निर्देशन दिनुभयो साथै आगामी दिनमा दलको सहमति र संस्थागत निर्णय प्रणालीलाई दरोसाथ अवलम्बन गर्न निर्देशन दिनुभयो’ अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा भनिएको छ, ‘दल नेता परिवर्तनको सन्दर्भमा अझै कार्यान्वयनमा ढिलाइ देखिएकाले अभिलम्ब कार्यान्वयनका लागि सम्बद्ध पार्टी समितिका कमरेडहरूलाई निर्देशन गरिएको छ।’
तर, निर्देशन कार्यान्वयन गर्न पठाएको पत्र समेत कार्यान्वयन नभएको हो ।
सुदूरपश्चिममा प्रदेश सरकार गठनको सन्दर्भमा प्रदेशसभा दलको बैठक नबस्ने ,सामूहिक रूपमा संस्थागत निर्णय नगर्ने र पार्टीको प्रदेश इन्चार्जको निर्देशनको समेत अवज्ञा जस्ता गम्भीर गल्ती देखिएको उक्त सर्कुलरमा उल्लेख गरिएको छ ।
पार्टीको संस्थागत पद्धतिको उल्लङ्घन गरेको विषयलाई लिएर पार्टी स्थायी समितिको बैठकले आगामी दिनमा यस्ता प्रकारका कमजोरी नदोहोराउन सचेत गराउँदा पनि प्रदेशको सरकार निर्माणका सन्दर्भमा त्यस्ता कमजोरी दोहोरिएको अध्यक्ष र महासचिवले जारी गरेको सर्कुलरमा छ ।
इन्चार्जले गुटबन्दी गरेको आरोप
प्रचण्डले निर्देशन जारी गर्दा सभामुखसहित सुदूरपश्चिम प्रदेशका सबै माओवादी सांसद, पार्टी इन्चार्ज गिरिराजमणि पोखरेल, सह इन्चार्ज विना मगर र पार्टी प्रदेश अध्यक्ष हरिराम चौधरी ‘उत्सव’ सहभागी थिए । उनीहरूकै अगाडि प्रचण्डले दलको नेता परिवर्तन गर्नुपर्ने बताए ।
पार्टी केन्द्रीय उपमहासचिव समेत रहेका सुदूरपश्चिमका इन्चार्ज पोखरेल प्रचण्डको निर्देशन भन्दा पहिलेबाटै सुदूरपश्चिममा दलको नेता परिवर्तन गर्न सक्रिय थिए । तर, संसदीय दलका नेता खगराज भट्टलाई माघ २२ गते बहुमतको आधारमा संसदीय दलको नेताबाट हटाएको हुँदा नेतृत्वकै निर्देशनमा दलको नेता परिवर्तन गर्न सहज भने थिएन ।
त्यति हुँदा हुँदै पनि इन्चार्जले प्रदेशको एक मात्रै स्थायी कमिटी सदस्य भट्टलाई दलको नेता बनाएर समस्या समाधान गर्न प्रस्ताव नगरेका भने होइनन् । बहुमतबाट दलको नेता भएका मानबहादुर धामीलाई त्यो प्रस्ताव स्वीकार हुने कुरै भए । त्यो बेला सभामुख बाहेकका १० सांसद मध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद रहेका थिए ।
धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५–५ जना पुगेका छन् । अहिले भट्टको पक्षमा ओली सहित, झपट साउद,रमेश धामी, जानकी पौडेल कुवर रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन् ।
इन्चार्ज पोखरेले भट्टलाई दलको नेता बनाउन प्रयास गर्नुका प्रमुख कारण भने गुट नै हो । बाबुराम हुँदै जनार्दनसँग निकट रहेका भट्ट अहिले पार्टी उपाध्यक्ष नारायणकाजीसँग निकट रहेका छन् । नारायणकाजीसँगै निकट मानिएका पोखरेले आगामी महाधिवेशनका लागि आफू समूह बलियो बनाउन बहुमत हुँदा हुँदै पनि भट्टलाई दलको नेता बनाउने प्रयास गरेको माओवादीका एक नेताले बताए ।
‘उहाँ सुरुबाटै गुटगत गतिविधिमा हुनुहुन्छ । आफू निकटकालाई अल्पमतमा हुँदा हुँदै पनि दलको नेता बनाउन दबाब दिनुभएको थियो त्यो नभएपछि अहिले केन्द्रमा दबाब दिएर दलको नेता हटाउने काममा लाग्नु भयो ’ ती नेताले भने ।
दलको नेता सहितको विषयमा छलफलमा संसदीय दलका उपनेता अक्कल रावलले इन्चार्जलाई गुटगत गतिविधिमा सक्रिय रहेको, सुदूरपश्चिम प्रदेशमा पार्टी कमजोर गर्न लागेको भन्दै उनकै अगाडी आलोचना गरेका थिए । रावल प्रदेश पार्टी उपाध्यक्ष पनि हुन् ।
‘अघिल्लो पटक स्थायी समिति बैठकले सुदूरपश्चिम प्रदेशमा दलको नेता परिवर्तन गर्ने विषयलाई वैधानिकता दिएको थियो । फेरि स्थायी समिति बैठकले त्यसलाई पुनर्विचार गर्न पर्ला नि’ उपनेता रावल भन्छन्, ‘विधि भन्दा बाहिर गएर इन्चार्ज ज्यूले हेड क्वाटर धाइरहनु भएको छ ।’
जनप्रतिनिधि रहेका अवस्थामा कार्यकारी पदमा नरहने पार्टीको स्पष्ट नीति हुँदा हुँदै पनि इन्चार्जले सुदूरपश्चिमका चार जिल्लाका इन्चार्जहरूलाई नहटाएको समेत उनले बताए ।
उनका अनुसार डोटीमा शिवसिंह ओली अछाममा झपट साउँद, दार्चुलामा लक्ष्मी बिक र डडेल्धुरामा जगत पार्की इन्चार्जको जिम्मेवारीबाट हटेका छैनन् । ओली, साउद र बिक सुदूरपश्चिम प्रदेश सभा सदस्य हुन् भने पार्की राष्ट्रियसभा सदस्य हुन् । उनीहरु सबै पार्टी उपाध्यक्ष श्रेष्ठ निकट हुन् । दार्चुला इन्चार्ज विक श्रेष्ठ निकट भएपनि सुदूरपश्चिममा भने उनी भट्ट हटाउनेदेखि इन्चार्जको सहमति विना सरकारमा समेत सहभागी भएकी थिइन् ।
इन्चार्जकै दबाबमा भट्टलाई संसदीय दलको नेता भन्दा माथिल्लो वरियतामा राख्ने निर्णय समेत गरिएको थियो । संसदीय दलमा दलको नेता नै सबै भन्दा माथिल्लो वरियतामा रहन्छ । तर, इन्चार्जकै उपस्थितिमा भएको बैठकमा संसदीय मान्यता विपरीत दलको बैठकमा दलको नेता भन्दा दलको सदस्यलाई माथिल्लो बरीयतामा राख्ने निर्णयले पनि इन्चार्जले बढी हस्तक्षेप गर्न थालेको बुझेका छन् ।
अहिले दलको नेता रहेका धामी वर्षमान निकट मानिन्छन् । उनी यसअघि प्रदेश अध्यक्षमा पराजित भएका थिए । प्रदेश सभामा भने उनको दोस्रो यात्रा हो । बहुमतबाट हटाइएका भट्ट भने तीन पटक कांग्रेस सभापति शेरबहादुर देउवासँग पराजित भएर माओवादी कांग्रेस गठबन्धन हुँदा देउवाकै सल्लाहमा मुख्यमन्त्री बन्ने आश्वासन सहित प्रदेश सभाका उम्मेदवार बनेका थिए । उनी मुख्यमन्त्री बन्न पाएनन् भने अहिले दलको नेता समेत रहेनन् ।