संसदीय समितिमा आजदेखि प्रस्तावित राजदूतविरूद्धका उजुरी उपर सुनुवाइ
काठमाडौं । आज संसदीय सुनुवाई समितिको बैठक बस्दै छ । बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुविरुद्ध परेको उजुरीमाथि सुनुवाई सुरु हुने छ । आज प्राप्त उजुरी तथा सूचनाहरू वितरण गर्ने कार्यसूची छ ।
यस्तै, प्रस्तावित राजदूतहरूले पेस गरेको कार्ययोजना समितिका सदस्यहरूलाई वितरण गर्ने, प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउन संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम कार्यतालिका तयार गर्ने कार्यक्रम छ ।
यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा स्तरोन्नतिले नेपाललाई पार्ने प्रभाव/असर, चुनौती प्राप्त हुने अवसर एवं यस सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारबाही र प्रगतिको अवस्था बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौँ वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ्ग गुठीको जग्गा जमिनको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आय आर्जन र भेटी व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ ।