उपत्यकाका प्रहरी अधिकारी हेरफेर हुँदै- को कहाँ जाँदैछन् ?
काठमाडौं । नियमित कार्य अवधि पूरा नहुँदै उपत्यकास्थित प्रहरीका विभिन्न कार्यालय प्रमुखको सरुवा तयारी गरिएको छ ।
अघिल्लो सरकारले उपत्यका अपराध अनुसन्धानसहित काठमाडौं र ललितपुर प्रहरी प्रमुखलाई ८ महिनामै सरुवा गरेको थियो । अहिलेको सरकारले ४ महिनादेखि ती कार्यालय सम्हालिरहेका प्रमुखलाई हटाउने तयारी थालेको हो ।
प्रहरी कार्यविधिले कार्यालय प्रमुखको जिम्मेवारी दिइएका अधिकृतलाई एक वर्षको कार्य अवधि तोकेको छ । तर, उच्च राजनीतिक स्वार्थको द्वन्द्वका कारण उपत्यका प्रहरीका प्रमुख निर्धारित अवधिभन्दा अगावै सरुवा हुने गरेका छन् ।
गृह मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा एसएसपी र दोस्रो चरणमा डीआईजी सरुवाको गृहकार्य थालिएको छ । यी दुवै दर्जाको सरुवा गृह सचिव र मन्त्रीस्तरमा हुन्छ ।
स्रोतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा एसएसपी सोमेन्द्रसिंह राठौर, ललितपुरमा तारादेवी थापा र उपत्यका अपराध अनुसन्धान प्रमुखमा रमेश बस्नेतलाई जिम्मेवारी दिने तयारी छ ।
यसअघि काठमाडौंबाट भूपेन्द्र खत्री र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सोमेन्द्रसिंह राठौर ८ महिनामा हटाइएका थिए । ती कार्यालयमा क्रमशः वसन्त रजौरे र सानुराम भट्टराई सरुवा भएका थिए । ललितपुरमा पुस १३ को बालकुमारी घटनापछि त्यहाँका प्रहरी प्रमुख सिद्दीविक्रम शाह हटाइएपछि शेखर खनाल सरुवा भएका थिए । उनी ८ महिनामै हटाइने भएका हुन् ।
तीन महिनादेखि ट्राफिक रिक्त
उपत्यका ट्राफिक प्रहरी कार्यालय तीन महिनादेखि प्रमुखविहीन छ ।
त्यहाँ प्रमुख रहेका डीआईजी पोषराज पोखरेल जेठमा अवकाश भएपछि उक्त कार्यालय प्रमुख रिक्त रहेको हो । पोखरेल अवकाश भएपछि त्यहाँ निमित्त प्रमुखको जिम्मेवारी एसएसपी जीवनकुमार श्रेष्ठ (क) ले सम्हालिरहेका छन् । श्रेष्ठ भदौ १५ मा ३० वर्षे सेवा अवधिका कारण अवकाश हुँदै थिए । तर, उनीसहितका रिट निवेदकको मागबमोजिम सर्वोच्च अदालतले तत्काल अवकाश नगर्न आदेश दिएको छ ।
को कसका ?
सत्ता राजनीति प्रभावित हुने यी दरबन्दीमा राजनीतिक पहुँच नहुने अधिकृतले बिरलै अवसर पाउँछन् ।
काठमाडौं परिसर पठाइने भनिएका राठौर नाताले कांग्रेस नेता किशोरसिंह राठौरका पारिवारिक सदस्य हुन् । यद्यपि प्रहरीमा उनको पहिचान चुनौतीपूर्ण काम गर्ने अधिकृतका रूपमा स्थापित छ ।
ललितपुर पठाइने भनिएकी थापा अन्नपूर्ण ग्रुपका मालिक क्याप्टेन रामेश्वर थापाकी भाइ बुहारी हुन् । उनी वर्तमान सरकार निर्माणको सूत्रधार मानिन्छन् । उनकै घरमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक संवाद भएको थियो । उनका भाइ रमेश थापा पनि एसपी दर्जामा कार्यरत छन् । तारादेवी उनकै पत्नी हुन् ।
अपराध अनुसन्धानमा पठाइने भनिएका बस्नेतको पारिवारिक निकटता कांग्रेसको शेखर समूहसँग । मोरङमा उनका बाबुआमा नै कांग्रेस राजनीतिमा सक्रिय छन् ।