पाल्पामा दुई शताब्दीदेखिको निरन्तर ऐतिहासिक भगवती रथयात्रा, राष्ट्रपति पनि पुगे – Nepal Press

पाल्पामा दुई शताब्दीदेखिको निरन्तर ऐतिहासिक भगवती रथयात्रा, राष्ट्रपति पनि पुगे

रुपन्देही । पाल्पा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन मनाइने रणउजीरेश्वरी भगवती रथयात्रामा अवलोकन गर्न  राष्ट्रपति रामचन्द्र पौडेल  सदरमुकाम तानसेन आइपुगेका छन् । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ ।

जात्रामा सहभागी हुन रक्षा मन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पाल्पा आएका छन्। तानसेनस्थित रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्रा हुने गरेको छ ।
नेपालले अङ्ग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसियालीमा हरेक वर्ष कृष्ण जन्माष्टमीको अर्को दिन धुमधामका साथ विजयोत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने चलन छ ।
विजयोत्सव एवं भगवती रथजात्रा राष्ट्रपति पौडेलले अवलोकन गर्ने कार्यक्रम रहेको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए

तत्कालीन पाल्पाका तैनाथवाला कर्णेल उजीरसिंह थापाले ब्रिटिस साम्राज्यको आक्रमणबाट नुवाकोट जीतगढीमा जोगाएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण नवमीमा रथयात्रा निकालिँदै आएको छ ।

२ सय ५ वर्षदेखि यो रथयात्रा निकालिँदै आएको छ । पाल्पा मात्रै नभएर नेपालकै शानका रुपमा रहेको यो रथयात्रा जितगढी किल्लामा नेपाली फौजले अंग्रेजको फौजलाई जितेको खुसीयाली र सम्झनामा निकालिने प्रचार प्रसार उपसमितिका संयोजक पदम न्यौपानेले बताए ।

विक्रम संम्वत् १८७१/७२ को नेपाल–अंग्रेज युद्धमा नेपाली फौज बिजयी भएको खुसीयालीमा तत्कालीन कर्णेल उजीर सिंह थापाले १८७६ देखि यो रथयत्रा निकाल्न सुरु गरेका थिए । भगवतीको रथययात्रा यस वर्ष पनि हर्षोल्लाहका साथ निकालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महर्जनले बताए ।

रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गर्दै तानसेन नगर परिक्रमा गराइने गरिन्छ । मन्दिर परिसरमै पञ्चबली दिएपछि जिल्ला प्रशासन, प्रहरी र नेपाली सेनाको व्यारेकमा बली दिई पुजाआजा गर्ने परम्परा छ ।

जात्रा मनाउन तानसेन र वरपरबाट आउने गर्छन् । साथै कृष्ण नवमीका दिन बिहानैदेखि भाकल अनुसारको कुखुरा, हाँस, बोका, राँगो बली दिने प्रचलन छ । श्रीकृष्ण जन्माष्टमीको दिन बेलुकी जाग्राम बस्ने प्रचलन छ । राती १२ बजे साइत हेरेर रथ निकालेर पुजा दिने गरिन्छ । तानसेन बजारमा जयजयकारको गुन्जनसहित भगवतीको रथलाई टोल, टोलमा घुमाउने पुरानो परम्परा हो ।

तानसेन बजारको मध्यभागमा रहेको रणउजीरेश्वरी भगवतीको मुर्ति रहेको रथलाई बाजागाजासहित नेपाली सेना, प्रहरी, सरकारी कर्मचारी, भजनमण्डल, नगरवासी सहभागी हुने गर्छन् । रथले नगरपरिक्रमा गर्दा घर–घरबाट पुजा दिइन्छ ।

उजिरसिंहका फौजले लगाएको अनुमान गरिएको कालो पोसाकमा केही सैनिकलाई सजाएर जात्रामा हिंडाउने गरिन्छ । तत्कालीन पाल्पा गौंडाका प्रसासक कर्णेल उजीरसिंह थापाले सुरु गरेको भगवतीको रथयात्राले अहिलेसम्म निरन्तरता पाएको छ । झण्डै ५० जना कुमाल जातिका जवानले मध्यान्ह भगवतीको प्रतिमुर्ती राखिएको रथलाई उठाएर नगर परिक्रमा गराउने प्रचलन छ ।

परम्पराअनुसार भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिँया नोलहरुलाई काँधमा बोकी जयजयकारको गुन्जन ध्वनी र बन्दुकको बढाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रमा गराइन्छ । रथयात्राको अवसरमा पाल्पाका सरकारी कार्यालयका कर्मचारी सरकारी पोशाकमा सजिने प्रचलन थियो ।

तर अहिले भने निकै कमी आइसकेको छ । धार्मिक संघसंस्थाका झाँकी, शिक्षक, विद्यार्थीसाथै तानसेनका टोल विकास संस्थाका सदस्यहरु जात्रामा सहभागी हुने गर्दछन् । इतिहासविद् निर्मल श्रेष्ठका अनुसार वुटवल क्षेत्रको अंग्रेजसँगको लडाईमा बिजयी भएपछि त्यही बर्षको भाद्रकृष्ण नवमीका दिन जात्रा चलाउने परम्परा उजीरसिंहले बसालेका हुन् ।

युद्धमा विजयी भएपछि भगवतीको शक्तिको महिमा बढेको हो । स्थानीयबासीका अनुसार राणाकालसम्म भगवतीजात्रा निकै भव्य रुपमा मनाउने गरिन्थ्यो । त्यसबेला भवानीदल, इन्द्रध्वज, बरख र सबुजगण दल गरी चार पल्टनका सेनाहरुले व्याण्डबाजा बजाएर रथसंग हिड्दा जात्राको रौनक नै बेग्लै हुने स्थानीय वयोवृद्धहरु बताउछन् । भगवतीको रथयात्राको सम्बन्ध सन् १८७१/७२ को नेपाल अंग्रेज युद्धसँग गाँसिएको छ ।

काजी अमरसिंह थापाको कार्यकाल सकिँदा निजका नाती नयनसिंहका छोरा कर्णेल उजीरसिंह थापा पाल्पाका तैनाथवाला भएर वसेका थिए । सोहीबेला अंग्रेजहरुले दुख दिने र नेपाललाई हडप्ने प्रयास गरेका थिए ।

अंग्रेजहरुले नेपाल आफ्नो हातमा पार्न चारैतिरवाट आफ्नो सेना अगाडि वढाएका वेला उजीरसिंह थापा लडाईमा सामेल हने मौका पाएका हुन् । थापाको लागि लडाई अग्निपरीक्षा थियो । त्यही वेला गिर्बाणयुद्ध विक्रम शाहदेवले उजीर सिंहलाई अंग्रेजसंग मुकाविला गर्नु भन्ने आदेश आएपछि उनी युद्धमा होमिएको इतिहास छ ।

उजीरसिंहले फौज तयार गरी बुटवलको जीतगढीमा लडाई लड्न जाने निधो गरे । जानुअघि उजीर सिंह थापाले शक्ति स्वरुप भगवती मन्दिरमा भाकल गरे । उनले शक्तिस्वरुपा माता भगवती दुश्मनको मुकाविला गर्न ‘हामी रणभुमि तर्फ प्रस्थान गर्दैछौ ।

रण—विजय हजुरको शक्ति र आर्शिवाद । रण विजय भएमा दिव्य मुर्तिलाई एक सुन्दर मुर्तिभित्र प्रतिष्थापन गरी वर्सेनी रथयात्रा गराउने छु’ भनी आफ्नो भाकल गरेर युद्धमा गएको डा. कर्णबहादुर बाँनियाले लेखेको पुस्तकका उल्लेख छ ।

अंग्रेजहरु उजीरसिंहको फौजसँग हारखाई फर्केको ईतिहास छ । जीतगढीको लडाइमा नेपाली फौजले जितेकै खुसीयालीमा १८७७ देखि भगवतीको रथयात्रा (सिन्दुरजात्रा) सुरु भएको हो ।

सन् १८७१-७३ को नेपाल-अंग्रेज युद्धपछि कर्णेल उजीरसिंह थापाले एक विशाल तीनतले प्यागोडा शैलीको मन्दिर वनाएका हुन् । मन्दिर वनाउन सन् १८७५/७६ मा सकिएको थियो । यसैवेलादेखि काठमाण्डौको जात्रावाट प्रभावित उजीर सिंहले भगवतीको रथयात्रा निकाल्न सुरु गरेका हुन् । त्यसै सालदेखि सरकारी मान्यता दिएर भगवतीको जात्रा सुरु भएको थियो ।

पहिले पहिले सरकारी खर्चमा जात्रा निकालिन्थ्यो । अहिले भने खर्च चलाउनसमेत मुश्किल हुने गरेको छ । पाल्पा र भक्तपुरमा गुठियार र जग्गा भए पनि त्यसको सही सदुपयोग हुन सकेको छैन । गरगहना पनि छन् तर खासै यसको सदुपयोग भएको छैन ।

भगवती जात्रा हेर्न ५० प्रतिशत भाडा छुट

भगवती जात्राका अवसरमा पाल्पाको तानसेन जानेआउने यात्रुलाई ५० प्रतिशत बसभाडा छुट हुने भएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले भगवती यात्रामा सहभागिताका लागि यात्रुलाई ५० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो ।

प्रा.लि.अध्यक्ष दधिराम खरेलका अनुसार भगवती जात्राको महत्वलाई मध्येनजर गर्दै गत वर्ष जस्तै यसवर्ष पनि बुटवल र पाल्पा तानसेनको बसपार्क काउन्टरबाट टिकट काट्ने यात्रुहरुलाई बसभाडामा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ ।

बुटवलको जितगढीमा भएको नेपाल अंग्रेज युद्धमा विजय प्राप्त गरेको उत्सवका रुपमा मनाईने पाल्पाको भगवती जात्राको ऐतिहासिक महत्व र गरिमालाई सम्मान गर्दै बस भाडा छुट दिने निर्णय गरिएको अध्यक्ष खरेलले बताएका छन् ।

पाल्पाको भगवती जात्रा समग्र नेपाल र नेपालीको गौरवको बिषय भएकोले आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनमा समेत टेवा पुराउने उद्देश्यले प्रा.लि.को तर्फबाट गरिएको सानो प्रयास स्वरुप भगवती जात्राको दिन बस भाडामा छुट दिने गरिएको प्रबन्ध संचालक रामचन्द्र भुसालले जानकारी गराए । सामाजिक उत्तरदायित्व बहन गर्ने शिलशिलामा धार्मिक तथा साँस्कृतिक पर्यटन क्षेत्रमा पनि थोरै भएपनि योगदान होस भन्ने उद्देश्यले समेत टिकटमा छुटको व्यवस्था गरिएको प्रबन्धक भुसालले बताएका छन् ।

उक्त छुट प्राप्त गर्नका लागि बुटवल र पाल्पा तानसेनको बसपार्कस्थित टिकट काउन्टरबाट टिकट काट्न अनिवार्य व्यवस्था गरिएको प्रा.लि.ले जनाएको छ । हरेक वर्ष भगवती जात्राका अवसरमा सो व्यवस्था गरिंदै आएको पश्चिम नेपाल बस व्यवसायी प्रा.लिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *