बेचन सरकार अर्थात् जोगीको डर, रोगीको भर
देश यस्तो भयो कि केही दिनअघि कवि अर्जुन पराजुलीले लेखेका थिए, ‘अब मैले बोल्नैपर्ने भयो, डेरावालालाई भूमाफिया बनाइन थालियो ।’ जुनसुकै सत्ता आए पनि निरन्तर गद्य कविताबाट प्रहार गरिरहेका कवि पराजुलीका अक्षर युद्ध वर्तमान ‘बेचन सरकार (यसबारे अर्को अनुच्छेदमा भन्नेछु)’ पक्षधरलाई कर्णप्रिय, मधुर र सरस हुन सकेन । त्यसैले उनी सञ्चालक भएको कुनै एउटा विद्यालयको जग्गाको विषयलाई लिएर उनले पनि जग्गा हडपेर सुशासनको कुरा गरेको सुहाएन भनियो । समाचार कक्षमा छलफल पनि गरेको थिएँ, स्वयम् पराजुलीलाई पनि कलेजको जग्गाको बात छ रे है ! हो भने उनको पनि केही लेखौं । हामीले यसो भनेको केही घण्टापछि एउटा नाम चलेको अनलाइनले पराजुली २४ क्यारेटको भूमाफिया भनेर लेखी पो हाल्यो ! समाचार आयो पो त ! पछि कवि पराजुलीले कवितामै जवाफ दिएपछि त्यो प्रसिद्ध अनलाइनले थप सिद्धि प्राप्त गर्यो या त्यो समाचार मटियामेट पारेर पत्रकारिताको वकालत गरिरहेको छ, पछि लाग्न (अपडेट हुन) भ्याइएको छैन ।
अब बेचन सरकारबारे चर्चा गरौं । अघिल्लो सरकार (प्रचण्ड-देउवा)लाई परमादेशी सरकार भनेर एमालेजन जिस्काउँथे । एमाले छिन्नभिन्न हुँदा माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड मिलेपछि त्यसलाई ‘मार्चण्ड’ भन्थे । हरेक सरकारलाई नाम राख्न कोही कम छैनन् । हामी ५० को दशकको अन्त्यतिर कलेजमा पढ्दा मनोविज्ञान पढाउने सरलाई ‘हर्कलाल’ भन्दा गजबले उडाइएको अनुभूति गर्थ्यौं । खासमा उनले हर्लकको सिद्धान्त पढाउँथे, हामी उडाउँथ्यौं । त्यसैगरी पछि सरकारलाई प्रतिपक्षीले उडाउन थाल्यो । यसरी उडाउनेहरुको अहिले सरकार छ । यो सरकार बेचन सरकार हो । एउटाले भुटानी शरणार्थी बेच्ने, अर्कोले गिरीबन्धु चिया बगान बेच्ने । यो दुवैलाई मिलाउने चैँ बेचन झा । त्यसैले समाजवादी पण्डितहरु ‘बेचन सरकार’ भन्न रुचाउँछन् । यद्यपि अहिले रवि लामिछाने जीबी राईलाई र प्रचण्ड जनार्दन शर्मालाई लखेट्न व्यस्त भएकाले ‘बेचन सरकार’ले धेरै चर्चा पाउन सकेको छैन, तर रास्वपा एक्लै भए पनि बेचन सरकारसँग मुकाबिला गरिरहेको छ । माओवादीका कृष्णबहादुर महरालाई रोशनी काण्डबाट सफाइ मिलाए झैं दृश्यमा सहकारी ठगीबाट सभापति रवि लामिछानेलाई उन्मुक्ति दिन सबै लागेका छन् । भन्नेहरु त अदृश्य कुराहरु पनि बखान गर्छन् । बोल्नुपर्ने बेचन झा नबोलिदिएपछि अरु बोलेर अहिले बेचन सरकार कसरी कमजोर होस् ?
तर यो बेचन सरकार असार १७ गते जोखाना हेराएरै बनाइएको सरकार हो । स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसअघि असार १७ गते के होला भनेर भन्ने गरेका थिए । उनी त्यही मध्यराति प्रधानमन्त्री हुने कागज बन्यो । भुटानी शरणार्थी र गिरीबन्ध चिया बगान बेचबिखनको फाइल खोलेपछि सरकार ढलेको भन्ने रास्वपा सभापति एवम् त्यतिखेरका गृहमन्त्री रवि लामिछानेको वाणी पत्याउने हो भने यो सरकार बेचन झा पक्राउपछि ढलेको पक्का हो । बेचन झाबारे नेपाली सञ्चारमाध्यमले आवश्यकताभन्दा बढी स्तुति गरिसकेकाले अब सबैको मिलिजुलीको यो ‘बेचन सरकार’ बेचैन नहोस् भनेर बुढेसकालमा यसको टेकोका रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा सकिनसकी उभिने गरेका छन् । सोमबार टुँडिखेलमै दुई शीर्ष नेता उभिँदा प्रधानमन्त्रीविरुद्ध नाराबाजीसम्म भएको सुनिएपछि ‘बेचन सरकार’ बेचैनी पार्न सबै उद्यत छन् । अर्काको कार्यक्रम विथोल्ने भनेर प्रधानमन्त्रीले युवाको आक्रोशको मसालमा मट्टीतेल नै थपे । देउवा त कसैसँग नरम हुनै जान्दैनन् । त्यसैले आक्रोश अरु बढेको देखियो ।
अहिले तपाईं सामाजिक सञ्जालका टिकटक, रिलमा सबैभन्दा बढी यस्तै बाबाहरु पाउनु हुन्छ । यिनै बाबाले अनेक डर देखाउँछन् । विमान दुर्घटना, सवारी दुर्घटना, दोष देखिएकाले नहिँड्नू । दैनिक ९७ वटा सवारी दुर्घटना हुने र कम्तीमा ८ जना मर्ने देशमा नभन्दै केही न केही विपत्ति त आइलागेकै हुन्छ । के गर्ने, नगर्ने ? बाबाका रिल हेरेपछि डराउनुपर्ने अवस्था छ ।
नेपाली वैज्ञानिकमाथिको मजाक जस्तै बनाइएका प्रचण्ड यतिखेर त्यही वैज्ञानिकका आविस्कार जस्तै भएका छन् । झिंगाको खुट्टा काटेर ‘उड्’ भन्दा झिंगा उडेको र पछि पखेटा काटेर ‘उड्’ भन्दा नउडेपछि वैज्ञानिकले निष्कर्ष निकालेछन्, ‘झिंगाको कान पखेटामा हुन्छ ।’ हो, यसरी प्रचण्ड उड्न नसक्ने बनाइएको चैँ उनलाई अघि सारेर मधेशबाट आन्दोलन र संघीयताको मुद्दामा स्थापित भएका उपेन्द्र यादवको जसपा नेपाल फुटाएर हो । ‘सत्ता जोगाउन पार्टी फुटाइयो’ भनेको सुनेपछि प्रचण्डसँग उपेन्द्र रिसले चुरचुर भएका छन् । यता प्रचण्डलाई स्वर्ग जाने बाटोमै छाडेर एमाले आफूमात्र स्वर्ग गएपछि नयाँ र जान्ने भन्नेहरु पनि सहकारीको मुद्दाले प्रचण्डकै साथमा बस्न बाध्य भए । अहिले उनीहरुको बेचैन ‘कि मलाई डाम, नत्र मेरो प्रहार थाम’ भन्नेमा केन्द्रित छ । उपेन्द्र यादव त थला पारियो भने रवि लामिछानेलाई ‘थाल खाउँ कि भात’ बनाउन अहिलेको सरकारलाई कुनै आइतबार छैन, तर लामिछानेको प्रहार गगन थापालाई भइरहेकाले ‘बाख्रामाथि फालिएको तातोपानीमा पाडोले आइया’ भनिरहन नपर्ने बेचन सरकारको निष्कर्ष पनि हुनसक्छ ।
अब जोगीहरुतिर जाऔं । अहिले जोगीहरुको व्यापार जोडले फस्टाएको छ । होटलमा चिकेन चिल्ली ज्युनार गर्ने, विदेशमा भएका छोराछोरीले पठाएको डलरले भ्यालेन्टाइन मनाउने र हिन्दूवादी आन्दोलनमा ऐक्यबद्धता जनाउने जनमत नेपालमा ठूलो छ । उसो त देशमा क्रिसमसमा ३ दिन बिदा दिँदा यो जमात बोलेको थाहा छैन । पशुपतिमा आना होइन रोपनी नै क्रिश्चियन समुदायका संस्थाले लगिसक्दा पनि यिनीहरु खगेन्द्र लुइँटेलको ‘पशुपति प्रसाद’ हेरेर रमाउँछन्, त्यसमा पनि ‘भष्मे डन’को भूमिका अझ मन पर्न थालेको दशक भइसक्यो । दुईचार चम्चा वरपर राख्यो, अरुको काममा भाँजो हाल्यो, उसैसँग कमिसन खायो, लुट्यो । अनि कमल थापा र ज्ञानेन्द्र शाहीको भाषण शेयर गर्ने, फेसबुकमा हिन्दूका नाममा अकाउन्ट खोलेर उफ्रने हिन्दू जमात अब विस्तारै मञ्चमै प्रतिरोधको अवस्थामा आइपुगेको छ । बाबा विजय भण्डारी अर्थात् विजय कृष्णमूर्ति महाराजको पशुपति कोटी होम प्रकरणले अब प्रहरी पनि डराएर भाग्नुपर्ने अवस्था बन्यो भने उनको आलोचना गर्ने नागरिकको के हालत होला ? जबकि त्यहाँ पुगेका पत्रकारलाई कुटपिट गरेर पछि अभिनन्दन गर्नसमेत महाराजहरुका चेलाहरुले ‘समारोह’ नै गरे ।
उठाउनुपर्ने विषय स्वस्थानीमा भएको आक्रमणको हो । उठाउनुपर्ने विषय हिन्दू पुस्तकहरुमा पछिल्लो समय छापिन छाडेको ‘नेपाल खण्ड’ पृष्ठ हराएको विषय थियो । भारतबाट छापिएर आउने कैयौं महत्वपूर्ण धार्मिक पुस्तकहरुमा पछिल्लो समय ‘नेपाल खण्ड’को पृष्ठ, विषयवस्तु नै हराउन थालेको छ । नेपालमा मन्दिरभन्दा बढी चर्च बनेका विषयमा कोही बोल्दैनन्, तर पशुपति मन्दिरमा साउनमा पनि कोटी होम लगाउने नयाँ जोगीहरु अर्थात् हिन्दूका व्यापारीहरुको विरोधसम्म गर्न नसकिने अवस्था बनेको छ । बाह्र हाते फरियाले बेरेर बच्ची विवाह गरेर पठाउँदा पवित्र कन्यादान भएको मान्ने समाजको विकसित रुप साउनमा कोटी होममा जुट्न थाले, जुन महिनामा यस्तो पुण्यकार्य नै हुन सक्दैन भन्ने पण्डितहरुको अर्को ठूलो जमात छ, तर पशुपतिमा केही दिन पाण्डाल लिएर महिनासम्म भक्तजनको दान लुटेर ठूलो धर्मात्मा बन्नेहरुले संस्थागत गरिरहेको गुण्डागर्दीबारे बोल्दा बितेको साता कतै महाराजकी कान्छी महारानी, कतै महराजका सवारी चालकहरुसमेत पुगेर थर्काउने पुण्यकाम भइरहेको छिपेको छैन । बहुविवाह, विदेश पठाउने बहानामा ठगी, धनसम्पत्ति कब्जालगायतका उल्लेख्य काममा अचेल हिन्दू आवरणका पिताम्बरधारीहरुले सक्रियता देखाउन थालेका छन् । यस्तो सक्रियता कुनै बेला नेपालका नाम चलेका कलाकारले गर्थे । नेताहरु त गर्थे नै । पछि ठेकेदारहरुले गर्थे । अहिले यी सबै मिसमास भएर राजनीतिक खिचडी पाकिरहँदा जसले बढी गर्नसक्छ, उही ठूलो नेता, कलाकार र महाराज हुने दृश्यहरु सतहमा आएका छन् । अरु त अरु धर्मभीरुहरु नै धर्ममाथि भइरहेको यो बलात्कारविरुद्ध बोल्न डराउन थालेका छन् ।
जोगीको डरमा चलिरहेको देशलाई भर भने फेरि रोगीहरुको मात्रै छ । राजनीति यस्तो डरलाग्दो र विषाक्त अति चाँडै फैलने संक्रामक रोग बन्यो कि, जो-कोहीलाई अहिले यसले सताइरहेको छ । स्वयम् ज्ञानेन्द्र शाह, पारस शाह र हिमानी शाहलाई नलागेको रोगले देशका ठूलो जमातलाई योभन्दा बढी हिन्दू राज्यको रोगी बनाएको छ ।
एक जना जोगी (बाबा) भन्दै थिए- ‘अब मञ्च, पाण्डाल, मन्दिरमा मात्र सीमित भइयो भने बाबाहरु सकिन्छन् ।’ उनी थप्दै थिए, ‘टिकटक, युट्युब च्यानलमा पनि उपस्थिति देखाउन सकिएन भने बाबाहरुले नै बाबालाई एक्लो पारिदिने अवस्था छ ।’ अर्थात् सामाजिक सञ्जालमा लड्न सकिएन भने समाजमा टिक्न कठिन छ भन्ने उनको आसय थियो । हो पनि, अहिले तपाईं सामाजिक सञ्जालका टिकटक, रिलमा सबैभन्दा बढी यस्तै बाबाहरु पाउनु हुन्छ । यिनै बाबाले अनेक डर देखाउँछन् । विमान दुर्घटना, सवारी दुर्घटना, दोष देखिएकाले नहिँड्नू । दैनिक ९७ वटा सवारी दुर्घटना हुने र कम्तीमा ८ जना मर्ने देशमा नभन्दै केही न केही विपत्ति त आइलागेकै हुन्छ । के गर्ने, नगर्ने ? बाबाका रिल हेरेपछि डराउनुपर्ने अवस्था छ । नभन्दै मिलिरहेको पनि छ । स्वयम् प्रधानमन्त्री असार १७ गतेबारे के भनिएको छ भनेर धर्मको आडमा ढ्वाङ फुक्छन् । अनि यिनै बाबाले तर्साएका छन् । असोज २३ गतेसम्म विमान नचढ्नू । अझ कम्पनीकै नामसमेत भनिदिन्छु भनेर तर्साउने र डराउने बाबाहरुको धम्कीमा धन्न विमान चालक, सवारी चालकहरु काम गरिरहेका छन् । कुन डाँडामा पहिरो जान्छ, यता जोगीहरुले भनेको ठ्याक्कै मिल्यो भनेर फेरि केही मिडिया नै यिनै जोगी बेचेर स्वास्नी, छोराछोरी पालिरहेका छन् ।
जोगीको डरमा चलिरहेको देशलाई भर भने फेरि रोगीहरुको मात्रै छ । राजनीति यस्तो डरलाग्दो र विषाक्त अति चाँडै फैलने संक्रामक रोग बन्यो कि, जो-कोहीलाई अहिले यसले सताइरहेको छ । स्वयम् ज्ञानेन्द्र शाह, पारस शाह र हिमानी शाहलाई नलागेको रोगले देशका ठूलो जमातलाई योभन्दा बढी हिन्दू राज्यको रोगी बनाएको छ । ६० को दशकमा ५९ प्रतिशत निरपेक्ष गरिबीको रेखामुनि रहेका नेपाली अहिले १९ प्रतिशतको हाराहारीमा झरेको तथ्यांक बाहिर आएको छ । यस्तो प्रगतिका खाका हाम्रा नेताहरु चर्चा गर्दैनन् । अनि आक्रोशमा आएका युवालाई अरु चिडचिडापनमा हेर्न चाहन्छन् । नेताहरुको यो रोगले उनीहरुमात्रै रोगी भएका छैनन् । देश रोगी भएको छ । नेपाली यति फुर्सदिला भए कि, हजार त तुरुन्तै सडकमा उत्रिएर नाराबाजी गर्न तयार पारिएको फौज जस्तै आइहाल्छन् । सामाजिक सञ्जालमा ठूलो जमातको कब्जा छ । अनि विष्णु माझी हराएको, नहराएको चासो छैन, उनको गीत आयो भने प्रतिघण्टा एक लाख गीत हेर्न बस्छन् ।
प्रगतिका खाका हाम्रा नेताहरु चर्चा गर्दैनन् । अनि आक्रोशमा आएका युवालाई अरु चिडचिडापनमा हेर्न चाहन्छन् । नेताहरुको यो रोगले उनीहरुमात्रै रोगी भएका छैनन् । देश रोगी भएको छ । नेपाली यति फुर्सदिला भए कि, हजार त तुरुन्तै सडकमा उत्रिएर नाराबाजी गर्न तयार पारिएको फौज जस्तै आइहाल्छन् ।
अब माथिको तथ्यांक जोडौं । जब देशमा गरिबी नघटेको भए यसरी सारा काम छाडेर युट्युब हेर्न भ्याउने जमात कसरी तयार भयो ? २० वर्षअघि माओवादी पीडित भन्दै फर्जी समाचार लेखाएर विदेश जान पाएका अभागीहरुले अमेरिकालगायतका देशमा डलर र पाउण्डमा कमाइ गरेर केही नेपाली रुपैयाँ नेपालमा फाल्दा त्यसले माओवादीविरुद्ध, कांग्रेस–एमालेविरुद्ध ठूलो जमातलाई आकर्षित गरिरहेको छ । यही तथ्यांक मान्ने हो भने नेपालमा परिवर्तन होइन, भाँडभैलोभित्र सत्तामा पुग्ने अभ्यास भइरहेको छ । व्यवस्था यही मन पराइरहेका छन् सबै । किनभने यो भाँडभैलोमा कुनै पनि बेला जो-कोही बालेन्द्र शाह, हर्क साम्पाङ या रवि लामिछाने जसरी स्थापित हुन सक्छन् । पाइलट बाबाको मृत्युले कसैलाई छुन्न, तर विजय कृष्णमूर्ति महाराजको विरोध गर्दा सबै ‘ईसाईको इशारामा’ नाचेका भनेर उनीहरु नै देशमा ईसाईको प्रसार गरिरहेका छन् । नेताहरुको वैयक्तिक रोग अलग होलान्, तर सत्तामा पुगिरहन पर्ने, टिकिरहन पर्ने रोगका कारण देश धन्न जोगीसँग डराउँदै रोगीसँग भर गरेर बाँचिरहेको छ । तपाईं हामी पनि बाँचिरहेका छौं भनौं अहिलेसम्म ।
यो यथास्थितिमा हामी फेरि भारतसँग कुस्ती खेल्ने र चीनसँग डटिरहनेमात्र कहाँ कुरा गर्छौं र सामाजिक सञ्जालमा अफिस गएका बुढाको दौरासुरुवाल र जाँघे लगाएर उफ्रँदै अमेरिकाविरुद्ध बोल्छौं । अब जोगी र रोगीको पछि लाग्न छाडेर दैनिक १२ घण्टा काम गरेनौं भने देशभित्रै हामी शरणार्थी हुनेछौं, विस्तारै भुटानी नागरिक झैं देशमै कमजोर हुनेछौं । भुटानी शरणार्थी आएर झापा-मोरङमा बोर्डिङमा सस्तोमा पढाइदिँदा त्यहाँ शिक्षित बेरोजगार बढेका थिए । अहिले काठमाडौंमा रोहिंग्या आएर सस्तोमा काम गर्न थालेपछि नेपाली श्रमिक र मजदुरले काम पाउन छाडेका छन् । देशमा दल र धर्मका आडमा फस्टाइरहेको दलालका पछि लागेर हामी ३४ वर्षअघि भुटानका हिन्दू मतका नागरिककै हालतमा पुग्दैछौं । अनि विदेश बसेकाहरुलाई दलहरु मताधिकार दिँदैछन् । तिनैले पठाएको रेमिट्यान्सले देश चलेको छ । तिनैले राति फालेका फूलहरुले टिकटकमा कमाउनेहरु छँदैछन् । तिनैले पठाएको चन्दाले देशमा ३ दिन क्रिसमस उत्सव पनि चलिरहेको छ । हिन्दू आन्दोलन पनि चलिरहेको छ । समग्रमा चैँ हामी फेरि पनि जोगीसँग डराउने र रोगीसँग आशा गर्नेभन्दा माथि पुगेका छैनौं । अरु कति बेचैन झाहरु त पर्दामा आउनै बाँकी होलान् ।