अर्थमन्त्री पाैडेलले अटो व्यवसायीहरुलाई भने- अवैध व्यापार नगर्नू, अटो व्यवसायीलाई कसैले टेर्दैन – Nepal Press

अर्थमन्त्री पाैडेलले अटो व्यवसायीहरुलाई भने- अवैध व्यापार नगर्नू, अटो व्यवसायीलाई कसैले टेर्दैन

काठमाडौं । आजबाट सुरु नाडा अटो शोको उद्घाटनका प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्री विष्णु पाैडेलले नै अवैध व्यापार नगर्न व्यवसायीहरुलाई सचेत गराएका छन् ।

भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो उद्घाटन गर्दै उनले अटो व्यवसायीका कुरा सुन्दै सरकार सबै समस्यामा सहजीकरण गर्न तयार रहेको तर केही व्यवसायी अवैध व्यापारमा लागेको बताए ।

अर्थमन्त्री पौडेलले भने, ‘कुनै प्रकारको लिकेज नगर्नु होला । अवैध गतिविधिमा व्यवसायीले लाग्नु हुँदैन । शुद्ध र इमानदार व्यवसायका रुपमा तपाईंहरु अगाडि बढ्नुहोला । सरकार सहयोग गर्न तयार छ ।’

पछिल्लो समय केही विद्युतीय गाडी व्यवसायीले कर छलेर भित्र्याएको विषयमा अहिले अध्ययन अनुसन्धान भइरहेको छ । विदेशबाट नेपालमा विद्युतीय गाडी आयात गर्दा थोरै किलोवाट क्षमता देखाएर कर छली गरेको आशंकामा भन्सार विभाग र राजस्व अनुसन्धान विभागले छानबिन थालेका छन् । १० अर्ब रुपैयाँभन्दा बढीका विद्युतीय गाडी आयात भएका बेला ठूलो कर छली भएको आशङ्का छ ।

भन्सार विभागले केही समय पहिले विद्युतीय गाडी पास हुने भन्सार नाकालाई विद्युतीय गाडी आयातकर्ताले कम किलोवाट देखाएर गाडी आयात गरेको भए तत्कालै राजस्व उठाउन निर्देशन दिएको थियो । विभागले दुई वटा अध्ययन समिति पनि बनाइसकेको छ ।

विद्युतीय गाडी आयात गर्ने कम्पनीहरूले नेपालमा १०० किलोवाटभन्दा माथि क्षमता भएका गाडीको १ सयभन्दा कम क्षमता देखाएर आयात गरेका थिए । विश्वका अन्य देशमा १०० किलोवाटभन्दा धेरै क्षमता भएका र उही मोडलको गाडी नेपालमा भने १०० किलोवाटभन्दा थोरै क्षमता भनेर कर छली गरिएको हो ।

पहिले १५० किलोवाट भनेर आयात भएको एउटा कम्पनीको विद्युतीय गाडी पछिल्लो समय १०० किलोवाटभन्दा कम क्षमताको देखाएर आयात भइरहेको भन्सार विभागका कर्मचारीहरू नै बताउँछन् । भन्सार विभागका अनुसार १०० किलोवाटभन्दा कम र त्यसभन्दा बढी क्षमताको गाडीमा २५ प्रतिशतसम्म कर फरक पर्छ ।

यसरी गाडीको किलोवाट कम देखाएर आयात भएको भनिरहेको बेला अर्थमन्त्री पाैडेलले अवैध व्यापार नगर्नु भनेर व्यवसायीलाई सचेत गरे ।

नाडालाई राज्य र निजी क्षेत्रले नै गन्दैन !

नयाँ अध्यक्षको रुपमा करण चौधरी नाडामा आएपछि नाडाको भूमिका कमजोर हुँदै गएको छ । चुनाव नगरी सहमतिमा अध्यक्ष भएका चौधरीले पदाधिकारी र सदस्यहरुको कुरा नसुनी आफूखुसी काम गर्दै आएकाे आराेप लागेकाे छ । उनी अध्यक्ष भएको केही समयपछि नै पदाधिकारी र सदस्यहरुले विशेष साधारणसभा बोलाउने कि भनेर छलफलसमेत गरेका थिए ।

नाडाका एक सदस्यले भने, ‘करण चौधरी अध्यक्ष भएपछि संस्था कमजोर बनेको छ । अर्थ मन्त्रालयमा कुनै पत्र लिएर गयो भने पनि खासै कुनै मतलब नै हुँदैन । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घमा अटोको समस्या बोकेर जाँदा त्यहाँ पनि हाम्रो समस्या नसुन्ने जस्तो अवस्था बनेको छ ।’

नाडाका पूर्वअध्यक्ष ध्रुव थापाले आफ्नो कार्यकालमा जस्तो सहज नभएको बताए ।

उनले भने, ‘मैले सबै व्यवसायीको समस्या सुन्ने गरेको थिएँ । आएका समस्याहरुलाई समाधान गर्न लागिपर्ने गरेको थिएँ । अहिले पहिलेको भन्दा केही फरक रहेको भन्ने सुनेको छु, तर विशेष साधारणसभा नै बोलाउने कुराको छलफल भएको थाहा छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *