पार्टीले हिसाब माग्दा आफ्नै बोलीमा फस्दै सांसद दाहाल, जनसेवा फाउण्डेशनमा भेटिएन ४५ लाख – Nepal Press

पार्टीले हिसाब माग्दा आफ्नै बोलीमा फस्दै सांसद दाहाल, जनसेवा फाउण्डेशनमा भेटिएन ४५ लाख

हेटौंडा । पछिल्लो समय आफ्नै पार्टीको कार्यालय भवन निर्माणमा उठेको रकम हिनामिना गरेको आरोप खेपेर कारवाहीको लागि जिल्लाबाट सिफारिस भएका माओवादी केन्द्रका सांसद राजन दाहालले जनसेवा फाउण्डेशनलाई ४५ लाख रुपैयाँ दिएको दावी समेत झुटो रहेको पाइएको छ ।

व्यक्तिको नाममा खाता खोलेर पार्टी कार्यालय भवन निर्माणका लागि उठाइएको रकमको हिसाब देखाउन र बाँकी रहेको रकम पार्टीको खातामा बुझाउन जिल्ला कमिटीले दाहाललाई निर्देशन दिएको छ । तर दाहालले भने सो रकम पार्टीलाई नदिने र जनसेवा फाउण्डेसनमार्फत गरीव,दुःखी र असहायलाई सघाउनेगरी सो संस्थाको खातामा जम्मा गरेको बताइरहेका छन् ।

दाहाल पत्नी दीपा बोहोरा दाहालको अध्यक्षतामा स्थापना भएको सो संस्थाका पछिल्ला सबै लेखा परीक्षण प्रतिवेदनमा भने ४५ लाख रुपैयाँको हिसाब देखिएको छैन । उठेको रकम पनि अपारदर्शी रहेको र ठूलो रकम दाहालले हिनामिना गरेको आशंकामा पार्टीले छानविन गरिरहेका बेला उनैले दावी गरेको रकम समेत संस्थाको आयव्यय विवरणमा नदेखिएपछि अनियमिताको आरोप पुष्टि भएको हो ।

आफूमामाथि पार्टीभित्रैबाट लागेको आरोपको सन्दर्भमा दाहाल अहिले विभिन्न मिडियामा पार्टी एकता हुँदा बसेको भाडा एमालेहरुले मागेपछि आफैंले आह्वान गरेर एमालेको जस्तै/जत्रै पार्टी कार्यालय भवन बनाउन स्वेच्छिक चन्दा माग गरेको बताइरहेका छन् । उनले भवन बनाएर बचेको रकम जनसेवा फाउण्डेशनमा राखेर जन सेवाका काममा लगाइन्छ भनिरहेका छन् ।

दाहालले जिल्लामा निर्मित कोभिड अस्पताल पनि आफैले फेसवुकमा आह्वान गर्दा ५ करोड जम्मा भएको भन्दै दिउँसै रात पार्नेगरी झुट बोलेको जिल्लाका नेताहरु बताउँछन् । नेपाल रेडक्रस जिल्ला सभापति समेत रहेका नेकपा एमाले पुर्व जिल्ला कमिटि सदस्य अशोक श्रेष्ठको नेतृत्वमा जिल्लाका पालिकाहरु र बागमती प्रदेश सरकार लगायत जिल्लाका सहयोगी दाताहरुको सहयोगमा बनेको कोभिड अस्पतालमा दाहालले एक रुपैया पनि सहयोग नगरेको व्यवस्थापन पक्षको भनाइ छ ।

माओवादीका एक जिल्ला पदाधिकारी भन्छन्–सांसद राजन दाहालले पार्टीभित्र आर्थिक अपचलन गरेको भनेर समस्यामा परेपछि झुट बोलेर आफ्नो गल्ती छोप्न बहसलाई विषयान्तर गर्दै हिँडेका छन् । उनले पार्टी कार्यालय भवन बनाउन जम्मा पारेको रकम न त जनसेवा फाउन्डेसनमा पारदर्शी हिसावले राखेका छन् न त त्यो फाउण्डेशनले जनसेवा नै गरेको छ ।

आफ्नो हात जगन्नाथ

नेकपा एकिकृत हुँदा सिन्धुली माओवादीको भागमा पर्‍यो र उनि जिल्लाका अध्यक्ष बने । महिनौदेखि भाडा तिर्न नसकेको आफ्नो पार्टीका एक कार्यकर्ताको घरमा रहेको अफिसबाट एमाले पार्टी कार्यालयमा सरेको थियो ।

एमालेले बनाएको  भवनमा एउटा पानी राख्ने डिस्पेन्सर र थोत्रो सोफा मात्र लिएर ठूलो पार्टीको अध्यक्ष हुन पुगेका दाहाल फेरि माओवादी पार्टी कार्यालय राख्न ती कार्यकर्ताको घर फर्किन सकेनन् । कार्यालय राख्ने ठाउँ नपाएपछि उनले छुट्टै कार्यालय वनाउने योजना वनाए ।

सिन्धुलीमाढी वजार पुछारमा १२ धुुर जग्गा ७२ लाखमा किने । जग्गा पार्टीकै नाममा किनिएको थियो । यहाँसम्म ठिक थियो । उनको दवदवाको समय थियो । उनले भनेपछि नहुनेले पनि खोजेर पैसा दिन बाध्य हुन्थ्यो । दुई तिहाईको सत्ता चलाएको पार्टीको जिल्ला अध्यक्ष भएका उनले त्यसकै बलमा रकम संकलन गर्न थाले । उनको प्रतिवादमा कोही बाेल्न सक्दैन थिए ।

जग्गा पार्टीको नाममा किन्दा हुने तर भवन बनाउने रकम संकलन भने आफ्ना दुई विश्वासपात्रको संयुक्त व्यक्तिगत खातामा गराउन थाले । धेरै माओवादीहरु त्यहि वेला झस्किएका थिए । तीनै मध्यका एक थिए उपमहासचिव एवं तत्कालिन सांसद हरिबोल गजुरेल । उनले पार्टीको नामको खाता नखोलिएपछि रकम जम्मा नै गरेनन् । अहिले दाहाल गजुरेलले भवन बनाउन र चुनावमा समेत सहयोग नगरेको भनेर चरित्रहत्या गर्न समेत पछि परेका छैनन् ।

याे पनि पढ्नुहाेस् ।

यस्तो छ सांसद दाहालको भ्रष्टाचारको अन्तर्कथा, पार्टीले हिसाब माग्दा प्रचण्डको घर बनाउन चन्दा दिएको दाबी

भवन बनाउँदा उठाउने पैसाको खाता किन उद्दव दाहाल र गणेश वहादुर दर्जीको व्यक्तिगत नाममा खोलियो ? त्यसको जवाफ खाता खोल्न निर्देशन दिने दाहाल वा खाताधारी दुबैसँग छैन । त्यसको सिधा जवाफ अहिले आम सर्वसाधारणले स्वत पाएका छन् रकम हिनामिना गर्ने योजना त्यहि बेला बनेको रहेछ ।

उनले ३ करोड ३५ लाख बराबरको श्रोत व्यक्तिको नाममा खाता खोलेर उठाउँदा राज्यका निकाय मौन बसेको पाइयो । १० लाख बराबरको रकम वैंकमा जम्मा गर्दा श्रोत चाहिन्छ तर बैंकले समेत खाजेको पाइएन । सांसद दाहाल बैंक खातामा जम्मा गरिएको ५० वर्षमा खोज्दा पनि पाईन्छ भन्दै नागरिकलाई ढाँटी रहेका छन् । चन्दा दाताको नाम पार्टी कार्यालयमा सिला लेखमा छ भनेर झुक्याई रहेका छन् ।

माओवादीका एक नेता भन्छन्–यहाँ आम्दानीमा समस्या होइन । सबैलाई थाहा छ तीन करोड ३५ लाख आम्दानी भयो जुन उनले भनेको शिलालेखमा छ । तर खै खर्चको हिसाव ? पार्टी भित्र उठेको र आम जनताले जान्न चाहेको मुल प्रश्न यो हो । यो पैसा उठाइएको आधार हेर्दा गैर कानुनी देखिन्छ र खाता संचालक कानुनको दायरामा ल्याउनुपर्ने  हुन्छ ।

दाहालको झुटो दावी

सांसद दाहालले स्थानीय भवन निर्माण गरेर वाँकी रहेको ४५ लाख रकम जनसेवा फाउण्डेशन नामक गैर सरकारी संस्था खोलेर राखिएका बताउने गरेका छन् । नेपाल प्रेसले संस्था दर्ता गर्ने निकाय जिल्ला प्रशासन कार्यालय सिन्धुली गएर रेकर्ड हेर्दा २०७९ वैशाख ९ गते दर्ता नं. ११६४ मा जनसेवा फाउण्डेशन दर्ता रहेको पाईयो ।

यो संस्थाको अध्यक्ष दिपा वोहोरा दाहाल दाहालकै श्रीमती सुनकोसी गाउँपालिका अध्यक्ष पदमा रहेकी छिन । उनी सार्वजनिक पदमा निर्वाचित हुँदा समेत यस्ता गैर सरकारी संस्थामा वस्न नपाईने प्रावधान मिचेर अध्यक्ष बनेको पाइएको छ ।

संस्थाको उपाध्याक्ष भने जिल्ला समन्वय समितीकी पुर्व प्रमुख सम्झना अधिरकारी, सचिव गणेश वहादुर दर्जी र कोषाध्यक्ष उद्दव दाहाल रहेका छन् । सचिव दर्जी र कोषाध्यक्ष दाहाल भने भवन निर्माणका व्यक्तिगत खाता संचालक पनि हुँन् । यो हेर्दा संस्था दर्ता नै भवन निर्माणको रकम गोलमाल पार्ने प्रयोजनकै लागि भएको प्रष्ट हुने पार्टी नेताहरुको ठम्याई छ ।

याे पनि पढ्नुहाेस् ।

सिन्धुलीमा महेश्वरविरुद्ध राजन दाहालको एम्बुस, सांसद पत्नीले मञ्चबाट पुष्पगुच्छा फालेपछि माओवादीमा भाँडभैलो

अब हेरौँ दाहालले भने जस्तो जन सेवा फाउण्डेशनमा जम्मा भएको रकम । संस्था दर्ता ऐन २०३४ वमोजिम दर्ता भएको संस्थाले हरेक वर्षको असार मसान्तमा नविकरणका लागि जिल्ला प्रशासनमा अनिवार्य लेखा परिक्षण प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ ।

हेर्नुस्  जनसेवा  फाउण्डेशनको आयव्यव विवरण

संस्थाले पहिलो लेखा परिक्षण प्रतिवेदन आर्थिक वर्ष २०७८/७९ मा वुझाएको छ । त्यो प्रतिवेदनमा आम्दानी शिर्षकमा सदस्यता शुल्क ५ हजार, सहयोग प्राप्त ५ हजार र विविध आम्दानी १ सय गरी जम्मा आम्दानी १० हजार १ सयको छ ।

संस्था दर्तामा ४ हजार ४ सय ५० सहित पाँचवटा शिर्षकमा ९ हजार ९ सय ८२ रुपैया खर्च भई १ सय १८ रुपैयाँ वाँकी रहेको देखिन्छ । ४५ लाख फाउन्डेसनमा छ भन्नेहरुले फाउन्डेसन खोलेको पहिलो आर्थिक वर्षको तीन महिनामा रकम फाउन्डेसनमा जम्मा नगर्दा लेखापरिक्षण शुल्क १ हजार समेत तिर्न नसकेको अडिट प्रतिवेदनले बताउँछ ।

संस्था खोलेको दोस्रो आर्थिक वर्ष २०७९/८०मा पनि सांसद दाहालले दावी गरेको ४५ लाखको हिसाब भेट्न सकिदैन । यो आर्थिक वर्षको प्रतिवेदनमा आम्दानी अन्तर्गत सापटी प्राप्त ६ लाख ३० हजार, सदस्यता शुल्क २ हजार र व्याज आम्दानी १ लाख ४ हजार ३ सय ८३ रुपैया सहित७ लाख ४० हजार १ सय ३१ रुपैँया ७८ पैसा देखिन्छ ।

खर्चतर्फ भने कार्यालय संचालन खर्च ३४ हजार ४ सय ५०, विविध खर्च १५ हजार ३ सय, मसलन्द खर्च १२ हजार ४ सय ४९ वैक कर कट्टी १५ हजार ६ सय ५७ रपैँया गरी जम्मा १ लाख ३ हजार ८ सय ५६ रुपैँया खर्च गरी ६ लाख ३६ हजार २ सय ७५ रुपैँया १९ पैसा वैँक मौज्दात रहेको देखिन्छ भने नगदमा कुनै पनि रकम वाँकी रहेको देखिन्न ।

यो रिपोर्टले पनि पार्टी कार्यालय निर्माणमा संकलित रकममध्यको दाहालले प्रष्टिकरणमा भनेजस्तो ४५ लाख रुपैया फाउन्डेसनमा आएको देखिदैन । सापटी भनेर ल्याईएको ६ लाख ५० हजार पार्टी कार्यालय भवनकै हो भन्ने मान्ने हो भने पनि ३९ लाखको हिसाब अझै गोलमाल नै छ ।

बचत रकम ६ लाख ३६ हजार २ सय ७५ रुपैँया १९ पैसा वाँकी रहेको खातामा व्याज भने १ लाख ४ हजार ३ सय ८३ रुपैँया जम्मा भएको उल्लेख छ । यति व्याज जम्मा हुन कम्तिमा १५ प्रतिशत भन्दा बढि दरको व्याज प्राप्त हुनुपर्छ । त्यति व्याज खाता खोलिएको प्रभु बैंक लिमिटेडको कुनै पनि खाताले दिन सक्ने अवस्था छैन ।

त्यो अवधिमा बैङ्कको अधिकतम मुद्दती व्याज पनि त्यति थिएन । फेरि रकम मुद्दति खातामा राखिएको थियो भने त्यसको हिसाव अडिट रिपोर्टमा किन देखाईएन त्यो पनि शंकास्पद नै छ ।

अहिले माओवादी पार्टीले आन्तरिक रुपमा हिसाव बुझाउन भनेकाले दाहालले पक्कै पनि अरुलाई नबुझाएपनि पार्टीलाई त त्यो हिसाव बुझाउलान् । तर पार्टी कार्यालय निर्माणबाट उव्रिएको रकम व्यवस्थापन र जनसेवा गर्ने भनेर खोलिएको संस्थामा दुई आर्थिक वर्ष सम्म रकम नराखिएकाले दाहालले त्यो रकम हिनामिना गरेको र सानो सानो अंशमा फाउन्डेनमा कागज मिलाएर खर्च देखाउदै सकिएको प्रतिवेदन तयार गर्ने उद्देश्यले अगाडि बडेको प्रष्ट हुने माओवादी नेताहरुको दावी छ ।

मौखिक रुपमा ४५ लाख जनसेवा फाउन्डेसनमा छ भन्दै हिँडेका दाहाल र उनका कार्यकर्ता/सर्मथकहरुले ४५ लाख कहिले राखियो भनेर हिसाब देखाउन सकेका छैनन् । पार्टीले यो विषय अब प्रदेश कमिटी हुँदै केन्द्रमा प्रवेश गराउँने भएको छ ।

 


प्रतिक्रिया

2 thoughts on “पार्टीले हिसाब माग्दा आफ्नै बोलीमा फस्दै सांसद दाहाल, जनसेवा फाउण्डेशनमा भेटिएन ४५ लाख

  1. माओवादी सबै नै भ्रष्ट , हत्यारा र लूटेरा हुन।

  2. सबैभन्दा खराब आचरणको ब्यक्ति हो राजन दाहाल जसले रामेछापमा एमाले महासचिव इश्वर पोखरेललाई ज्यानमार्ने सम्मको उद्योग गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर