भक्तपुरमा पनि अब कर्पोरेट अस्पताल विस्तार, ह्याम्सले लियो नागरिक अस्पतालको स्वामित्व – Nepal Press

भक्तपुरमा पनि अब कर्पोरेट अस्पताल विस्तार, ह्याम्सले लियो नागरिक अस्पतालको स्वामित्व

भक्तपुर । काठमाडौंको मण्डिखाटारबाट उच्चस्तरको स्वास्थ्य सेवा दिइरहेको ह्याम्स अस्पतालले अब भक्तपुरकाे मध्यपुर थिमि गठ्ठाघरस्थित नागरिक अस्पतालको समेत व्यवस्थापन गर्ने भएको छ ।

एक सय शय्याका नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडको ४३ प्रतिशत शेयर स्वामित्व ह्याम्स हस्पिटलले लिएको हो । नागरिकको ४३ प्रतिशत शेयर किन्न ह्याम्स समूहले ९ करोड ९१ लाख रुपैयाँमा लगानी गरेको छ । भक्तपुरका जनतालाई गुणस्तरीय सेवा दिन आफूहरुले नागरिक अस्पतालको व्यवस्थापन स्वामित्व लिएको ह्याम्सका अध्यक्ष रामशरण भण्डारीले बताए ।

ह्याम्स अस्पतालका अध्यक्षसमेत रहेका नागरिकका नवनियुक्त अध्यक्ष आरएस भण्डारीले आफूहरुले भक्तपुरमा कर्पोरेट अस्पताल विकास गर्ने उद्देश्यका साथ नागरिकको ४३ प्रतिशत शेयर किनेको पुष्टि गरे । उनका अनुसार नागरिक अस्पतालको २२ लाख ७३ हजार कित्तामध्ये ९ लाख ९१ हजार कित्ता शेयर ह्याम्सले खरिद गरेको हो ।

ह्याम्स समूह भित्रिएसँगै नागरिकको अध्यक्षमा भण्डारीसहित ६ जना बोर्ड सदस्य ह्याम्स समूहका नै रहनेछन् । अब ह्याम्स समूह प्रवेशसँगै नागरिक अस्पताललाई कर्पोरेट अस्पतालका रुपमा विकास गर्ने गरी काम सुरु भइसकेको भण्डारीले जानकारी दिए ।

अस्पतालले २४ घण्टा एमडीजीपी विशेषज्ञलाई राखेर इमर्जेन्सी सेवा सुरु गरिसकेको छ । नागरिक अस्पताललाई ह्याम्सस्तरको कर्पोरेट अस्पतालका रुपमा विकास गर्ने उद्देश्यअनुसार अत्याधुनिक उपकरण र उपचार विधिसमेत भित्र्याइने भएको छ ।

अस्पतालको लागि नयाँ अत्याधुनिक भवन निर्माणसमेत गरिने भएको छ । भक्तपुरमा कर्पोरेट अस्पतालको अभावमा धेरै बिरामीले अस्पतालसम्म पुग्न नपाएर बाटैमा अकालमा ज्यान गुमाउनु परेको गुनासोसमेत आएकाले नागरिक अस्पताल जिम्मा लिएको उनको भनाइ छ ।

ह्याम्स समूह भित्रिएसँगै ७ वर्षअघि नागरिक अस्पतालमा भित्रिएको शैलेन्द्रमोहन झासहित ७ जनाको टीम बाहिरिएको छ । झासहित अरुण पाण्डे, सुरेश श्रेष्ठ, डा. श्वेता झा, नागेन्द्र झा, डा. शिवेन्द्र झासहितका ७ जनाले आफ्नो सम्पूर्ण शेयर बेचेका छन् । ह्याम्स समूहले थप ७ प्रतिशत शेयरसमेत लिएर व्यवस्थापन लिने तयारी छ ।

नागरिकसँग १०० शय्याको अस्पतालसँगै १२ रोपनी जग्गा र ३ तलाको नागरिक कलेज अफ हेल्थ साइन्स छ । नागरिक कलेज अफ हेल्थ साइन्सले बीएन, बीएस्सी नर्सिङ र एचएका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *