देशभर जग्गाको कित्ताकाट बन्द, राजस्वमा धक्का पुग्ने – Nepal Press

देशभर जग्गाको कित्ताकाट बन्द, राजस्वमा धक्का पुग्ने

काठमाडौं । देशभरका ६०३ स्थानीय तहमा अहिले जग्गाको कित्ताकाट बन्द भएको छ । स्थानीय तहको कमजोरीका कारण कित्ताकाट रोकिएको छ । ६०३ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदा राजस्व प्रभावित हुने भएको छ ।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले ७५३ स्थानीय तह मध्ये १५० वटा स्थानीय तहमा मात्रै जग्गाको कित्ताकाट भएको र बाँकी ६०३ स्थानीय तहमा जग्गाको कित्ताकाट बन्द रहेको बताए ।

उनले भने, ‘नेपाल राजपत्र भाग ३ खण्ड ९७३० सङ्ख्या २४ मिति २०८० /०४/३२ मा प्रकाशित भू –उपयोग (पहिलो संशोधन) नियमावली २०८० को नियम १२ उपनियम (ख) बमोजिम भू उपयोग क्षेत्र नक्सा तथा विवरण मध्ये कुनै एक भू उपयोग क्षेत्र नक्सा वा विवरण अद्यावधिक गर्न बाँकी रहेका स्थानीय तहको कित्ताकाट रोकिएको हो । १५० स्थानीय तह नक्सा अद्यावधिक गरेकोले कित्ताकाट रोकिएको छैन । सुरुमा २ वर्ष र त्यसपछि पुनः १ वर्ष समय थप्दा पनि काम नगरेका स्थानीय तहहरुको कित्ताकाट रोकिएको हो ।’

विभिन्न नापी कार्यालयहरुले स्थानीय तह र मालपोतसँग सहकार्य गरेर अद्यावधिक नभएका स्थानीय तहमा कित्ताकाट रोकिएको सूचना निकालिरहेका छन् ।

देशभरका विभिन्न नापी कार्यालयहरुले कित्ताकाट स्थगित भएको भनेर सूचना निकालिरहेका छन् ।

भदौ ५ गते नापी कार्यालय मोरङले केरावारी गाउँपालिका, सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, कानेपोखरी गाउँपालिका, उर्लाबारी नगरपालिका, मिक्लाजुङ्ग गाउँपालिका, लेटाङ नगरपालिका, रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिकामा कित्ताकाट स्थगित भएको भनेर सूचना निकालेको थियो ।

‘नेपाल राजपत्र भाग ३ खण्ड (७३) सङ्ख्या २४ मिति २०८० /०४/३२ मा प्रकाशित भू –उपयोग (पहिलो संशोधन) नियमावली २०८० को नियम १२ उपनियम ९४ख ० बमोजिम भू उपयोग क्षेत्र नक्सा तथा विवरण मध्ये कुनै एक भू उपयोग क्षेत्र नक्सा वा विवरण अद्यावधिक गर्न बाँकी रहेको भए तापनि वर्गीकरण भएको क्षेत्रमा यस नियमावलीको अधिनमा रही कित्ताकाट गर्न सकिने र उल्लेखित उपनियम प्रारम्भ भएको मितिले एक वर्ष भित्र त्यस्तो वर्गीकरण भएको क्षेत्रको भू उपयोग क्षेत्र नक्सा तथा विवरण अद्यावधिक गरिसक्नु पर्ने भनी उल्लेख भएकोमा मिति २०८१÷०४÷३२ गते सम्म यस कार्यालयको कार्यक्षेत्रमा पर्ने देहायका स्थानीय तहबाट कित्तागत विवरण÷वर्गीकरण नक्सा अद्यावधिक गरिसकेको जानकारी प्राप्त हुन नआएकोले अर्को सूचना नभएसम्मका लागि कित्ताकाट स्थगित गरिएको ब्यहोरा सबैको जानकारीका लागि अनुरोध छ,’ नापी कार्यालय मोरङले निकालेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर