‘अमेरिका छिर्न’ हिँडेका १७६ नेपाली ब्राजिल विमानस्थलमा अलपत्र, दूतावासले दियो यस्तो सूचना – Nepal Press

‘अमेरिका छिर्न’ हिँडेका १७६ नेपाली ब्राजिल विमानस्थलमा अलपत्र, दूतावासले दियो यस्तो सूचना

काठमाडौं । ब्राजिलस्थित नेपाली दूतावासले हालै ब्राजिलको साउपाउलो विमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० जना विदेशी रोकिएको भन्ने समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । दूतावासले ट्रान्जिटमा रहेका १७६ जनै नेपाली नागरिक सकुशल रहेको बताएको छ ।

आवश्यकताअनुसार उनीहरुलाई मानवीय सहायता पुर्‍याउन तयारी अवस्थामा रहेको दूतावासले सूचित गरेको छ ।

ब्राजिललगायतका मुलुक हुँदै अवैध रुपमा संयुक्त राज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरुमा आउने प्रवृत्ति बढ्दो छ । संगठित रुपमा सञ्चालित मानव तस्करहरुको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरु यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको दूतावासले जनाएको छ । दूतावासका अनुसार कैयौं अकल्पनीय पीडा व्यहोर्नुका साथै ठूलो धनराशी खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ ।

यसैबीच ब्राजिल सरकारले तत्काल लागू हुनेगरी नेपाललगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ । अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सीधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ ।

ब्राजिलस्थित नेपाली दूतावासको सूचनामा भनिएको छ, ‘मानव तस्करहरुको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुनेसमेत सन्दर्भमा जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिइमात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर